काठमाडौँ । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि संघीय लोकतान्त्रिक मोर्चामा रहेका घटक दलहरूबिच उम्मेदवारी दर्ता प्रयोजनमा सिट बाँडफाँटको सकस देखिएको छ । मोर्चामा रहेका सात दलमध्ये चार दलबिच एकता भइसकेको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र बृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीबिच एकता भएर जनता समाजवादी पार्टी नेपाल बनेको छ ।
मोर्चामै रहेको राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबिच एउटै चुनाव चिह्नमा चुनाव लड्ने सहमति भइसकेको छ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले हालसम्म कुनै पार्टीसँग एकता वा सहकार्यको घोषणा गरेको छैन ।
अब मोर्चामा जसपा नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीमात्र छन् । चुनावमा यी दलहरूको बिचमा कुन निर्वाचन क्षेत्रमा कसले उम्मेदवारी दिने भन्ने टुङ्गो लाग्न सकेको छैन । नागरिक उन्मुक्ति पार्टीबाहेक यी सबै दलको आधार क्षेत्र मधेस प्रदेश नै हो । ती दलका अधिकांश शीर्ष नेता मधेस प्रदेशकै छन् ।
सबै नेताहरू चुनावको तयारीमा लागिसकेका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी उम्मेदवार बन्ने गरी तयारीमा जुटेका छन् । त्यसबाहेक रामकुमार शर्मा, कौशल कुमार सिंह, प्रमोद गुप्ता, डा. राजीव झा, केशव झा, राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, प्रदीप यादव, डा.विजय सिंह, उमेश यादव, परमेश्वर साह, वृषेशचन्द्र लाल, हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ला, मनिष मिश्र, शरतसिंह भण्डारी, डा.सुरेन्द्र यादव, हरिनारायण यादवलगायतका नेताहरू चुनाव लड्ने तयारीमा जुटिसकेका छन् ।
यीमध्ये अधिकांश नेता मधेस प्रदेशकै हुन् । सबैलाई व्यवस्थापन गर्न दल तथा मोर्चामा सकस देखिएको छ । मधेस प्रदेशमा प्रतिनिधि सभा अन्तर्गत ३२ वटा सिट छन् । यही ३२ सिटमा कुन नेता कहाँबाट उम्मेदवार बन्ने भन्ने टुङ्गो लगाउन सकस भएको छ ।
विगतको चुनावलाई हेर्दा हरेक ठाउँमा जसपा नेपाल र जनमत पार्टीबिच प्रतिस्पर्धा हुने देखिएको छ । अधिकांश ठाउँमा तालमेल गर्दा जसपा नेपाल र जनमत पार्टीबिच सहमति गर्नुपर्ने अवस्था आउन सक्छ । नागरिक उन्मुक्ति पार्टीको आधार क्षेत्र पश्चिम तराईमा हो । खासगरी कैलाली र बर्दियामा त्यो दलको पकड देखिन्छ ।
ती जिल्लामा नागरिक उन्मुक्ति पार्टी नेपालको दाबी छ । त्यसबाहेक कपिलवस्तु र नवलपरासी, बाँकेमा जसपा नेपालमो पकड छ । २०७९ को चुनावमा मधेसका आठ वटा जिल्लामा जसपा नेपाल, जनमत पार्टी र राष्ट्रिय मुक्ति पार्टीको जनाधार देखिएको थियो । कोशी प्रदेशमा मधेसी मोर्चामा रहेका कुनै पनि दलको पकड छैन ।
जनमत पार्टीका एक नेताले भने, ‘चुनावी तालमेल भन्न सजिलो छ, तर त्यसलाई मिलाउन निकै गाह्रो छ । यतिका पार्टीका छन् । हरेक क्षेत्रमा मोर्चाकै दुई वा सोभन्दा बढी दलबाट उम्मेदवारका आकांक्षी छन् । एक जनालाई टिकट दियो भने अर्को असन्तुष्ट हुन्छ । उम्मेदवारी नपाउनेले अन्य दलबाट टिकट लिएर चुनाव लड्न सक्छ र समस्या निम्तिन सक्छ ।’
अहिले नेताहरूका लागि थुप्रै्र विकल्प रहेको ती नेताले बताए । ‘आफू रहँदै आएको दलबाट उम्मेदवार बन्न नपाए अर्को दलमा गएर भए पनि उम्मेदवार बन्ने सम्भावना छ,’ उनले भने, ‘चुनावी तालमेलमा मुख्य–मुख्य नेताहरूले चुनाव जिते पनि अधिकांश नेता असन्तुष्ट हुन्छन् । त्यही भएर एक्लाएक्लै चुनाव लड्नु पर्ने धारणा हाम्रो पार्टीले राख्दै आएको छ ।’
सिट बाँडफाँटको क्रममै मोर्चा नै भङ्ग हुने अवस्था आउन सक्ने पनि ती नेताले बताए ।
मोर्चाको सबैभन्दा ठुलो दल बनेको जसपा नेपालमै पनि उम्मेदवार चयनको विषय पेचिलो बनेको छ । भर्खरै चार वटा दल समाहित भएसँगै जसपा नेपालमा उम्मेदवारका आकांक्षीको लर्को लागेको छ । साविकका चार वटै दलबिच उम्मेदवारीका लागि हानथाप हुने र त्यसले समस्या बढाउन सक्ने सम्भावना देखिएको छ ।
जसपा नेपालका केन्द्रीय समन्वय समिति सदस्य जितेन्द्र सोनल भने पार्टी एकता भइसकेका कारण अब पुरानो दलको आधारमा नहेरिने बताउँछन् । ‘जहाँ जुन नेताले जित्ने सम्भावना हुन्छ, उसैलाई टिकट दिने गरी अघि बढ्छौँ,’ उनले भने । त्यसका लागि शीर्ष तहमा कुराकानी हुने उनको भनाइ छ ।
विगतका निर्वाचनमा दलले प्राप्त गरेको मत, उम्मेदवारको लोकप्रियतालाई आधार मानेर टिकट दिनुपर्ने बताउँदै उनले यी सब विषयमा शीर्ष तहमा छलफल गरी टुङ्गो लगाउने बताए ।
लोकतान्त्रिक मोर्चामा पनि मापदण्ड बनाएर सिट बाँडफाँट गर्ने कुरा भएको छ । ‘त्यसका लागि मोर्चाको सचिवालयले तयारी गर्दै होला,’ सोनलले भने, ‘मोर्चामा रहेका दलहरू मिलेर बढीभन्दा बढी सिट कसरी जित्न सकिन्छ भन्नेबारे प्रस्ट रणनीति बनाएर सिट बाँडफाँट हुन्छ ।’
जसपा नेपाल समन्वय समितिका सदस्य रामकुमार शर्माले जसपा नेपालमा टिकटका लागि कुनै समस्या नहुने बताए । चुनाव जित्ने सम्भावना जसको बढी हुन्छ, उसलाई नै टिकट दिने उनको भनाइ छ ।
कुनै क्षेत्रमा दुई वा दुईभन्दा बढी नेता प्रबल दाबेदार रहेको अवस्थामा ०८४ मा हुने प्रदेश सभा निर्वाचनमा व्यवस्थापन गर्ने गरीसमेत मिलाइने शर्माको भनाइ छ ।
संघीय लोकतान्त्रिक मोर्चामा मापदण्ड बनाएर सिट बाँडफाँट गरिने बताउँदै उनले मापदण्ड बनाउने काम भइरहेको जानकारी दिए ।
२०७९ को चुनावमा सप्तरी–१ मा जसपा नेपालबाट नवल किशोर सुडी निर्वाचित भएका थिए । उनी अहिले अशोक राई नेतृत्वको जसपामा छन् । उक्त क्षेत्रमा जनमत पार्टीका डा.जयकान्त राउत दोस्रो भएका थिए । त्यहाँ नागरिक उन्मुक्ति पार्टीका टीका चौधरीले १३७८ मत ल्याएका थिए ।
सप्तरी–२ जनमत पार्टीका अध्यक्ष सीके राउतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका थिए । पछि उपेन्द्र यादव बारा–२ मा उपचुनावबाट जितेका थिए । यसपाली दुवै दल मोर्चामा छन् । सो क्षेत्रमा उपेन्द्र यादव उम्मेदवार हुने कि सीके राउत हुने भन्नेबारे छलफल भइरहेको नेताहरू बताउँछन् । सो क्षेत्रमा लोसपाबाट जेपी ठाकुरले ७३४७ मतसहित तेस्रो स्थानमा रहेका थिए ।
सप्तरी–३ मा कांग्रेसका दिनेश यादव निर्वाचित हुँदा एमाले दोस्रो र जनमत पार्टी तेस्रो दल बनेको थियो । जसपा नेपालले एमालेलाई समर्थन गरेको थियो । लोसपा चौथो स्थानमा थियो । यो क्षेत्रमा जनमत पार्टीले दावी गरिरहेको छ ।
सप्तरी–४ मा कांग्रेसले चुनाव जितेको थियो भने जसपा नेपाल दोस्रो, जनमत पार्टी तेस्रो र नागरिक उन्मुक्ति पार्टी छैठौँ स्थानमा सीमित रहेको थियो । मत अनुसार सो क्षेत्रमा जसपा नेपाल र जनमत पार्टी दुवैको दाबी छ । यहाँ पनि जसपा नेपाल र जनमत पार्टीबिच तालमेल हुने बताइन्छ ।
सिरहा–१ मा जसपा नेपालको समर्थनमा एमाले चुनाव जितेको थियो भने जनमत तेस्रो पार्टी बनेको थियो । अन्य मधेस केन्द्रित दलको यहाँ खासै प्रभाव देखिएको छैन । यहाँ पनि जसपा नेपाल र जनमत पार्टीको दाबी हुने देखिएको छ ।
सिरहा–२ मा जसपा नेपालका राजकिशोर यादव निर्वाचित भएका थिए । यहाँ जनमत पार्टी तेस्रो भएको थियो । यो क्षेत्रमा पनि मोर्चाभित्र जसपा नेपाल र जनमत पार्टीबिच तालमेल गर्नुपर्ने अवस्था छ । राष्ट्रिय मुक्ति पार्टीले पनि यो क्षेत्रमा जबर्जस्त दाबी गरेको छ ।
सिरहा–३ मा एमालेका लिलानाथ श्रेष्ठ जसपा नेपालको सहयोगमा निर्वाचित भएका थिए । यहाँ पनि जनमत पार्टी तेस्रो दल बनेको थियो । अन्य मधेस केन्द्रित दलको खासै प्रभाव यो क्षेत्रमा देखिएको छैन । यहाँ पनि जसपा नेपाल र जनमत पार्टीबिच नै उम्मेदवारीका लागि प्रतिस्पर्धा हुने देखिएको छ ।
सिरहा–४ मा एमालेको सहयोगबाट जसपा नेपालका विरेन्द्र महतो निर्वाचित भएका थिए भने जनमत पार्टी दोस्रो भएको थियो । यहाँ पनि जनमत पार्टी र जसपा नेपालको जबर्जस्त दाबी रहने छ । विरेन्द्र महतो अशोक राई नेतृत्वको जसपामा छन् । यसपटक जसपा नेपालले राजकिशोर यादवलाई यहाँबाट चुनाव उठाउने तयारी गरेको छ ।
धनुषा–१ मा एमालेको सहयोगमा जसपा नेपालका दीपक कार्की निर्वाचित भएका थिए । यहाँ पनि जनमत पार्टी तेस्रो भएको थियो । नेपाल सद्भावना पार्टी १०औँ स्थानमा थियो, जो अहिले मोर्चामा छैन । धनुषा–२ जसपा नेपाल चौथो स्थानमा थियो भने जनमत पार्टी पाँचौँ, जनता प्रगतिशील पार्टी छैठौँ स्थानमा थियो ।
धनुषा–३ मा एमालेका जुली महतो जसपा नेपालको सहयोगमा निर्वाचित भएकी थिइन् । यहाँ लोसपा नेपालको राम्रो प्रभाव देखिएको थियो । लोसपा नेपाल अहिले जसपा नेपालमा सामेल भइसकेको छ ।
धनुषा–४ मा एमालेका उम्मेदवार निर्वाचित हुँदा जसपा नेपाल तेस्रो भएको थियो । जसपा नेपालमै गइसकेको जनता प्रगतिशील पार्टी ११औँ नम्बरमा थियो ।
महोत्तरी–१ मा जसपा नेपालको सहयोगमा एमालेले चुनाव जित्दा जनमत पार्टीले चौथो स्थानमा थियो । महोत्तरी–२मा लोसपाबाट शरतसिंह भण्डारी निर्वाचित भएका थिए । यहाँ तमलोपा दोस्रो भएको थियो । यहाँ शरतसिंह भण्डारी र डा.विजय सिंहको बिच उम्मेदवारीका लागि प्रतिस्पर्धा हुने देखिएको छ । दुवै जना जसपा नेपालका नेता हुन् ।
महोत्तरी–३ बाट लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका थिए भने जसपा नेपालका हरिनारायण यादव दोस्रो भएका थिए । अहिले जसपा नेपाल–लोसपा एक भएका छन् । जनमत पार्टी सो क्षेत्रमा पाँचौँ स्थानमा थियो भने तमलोपा छैटौँ स्थानमा थियो । तमलोपा पनि जसपा नेपालमा समाहित भइसकेको छ । त्यहाँ पनि जसपा नेपाल र जनमत पार्टीबिच सिट बाँडफाँट गर्नुपर्ने अवस्था छ । महन्थ ठाकुर यसपटक राष्ट्रिय सभामा उम्मेदवार भएका छन् ।
महोत्तरी–४ मा कांग्रेसका महेन्द्र यादव निर्वाचित हुँदा जसपा नेपाल दोस्रो, जनमत पार्टी तेस्रो, जनता प्रगतिशील पार्टी चौथो भएको थियो । त्यसमध्ये जनता प्रगतिशील पार्टी अहिले जसपा नेपालमा समाहित भइसकेको छ ।
सर्लाही–१ मा लोसपाका रामप्रकाश चौधरीले चुनाव जितेका थिए भने जसपा नेपाल तेस्रो र जनमत पार्टी चौथो भएको थियो । जसपा नेपालबाट चुनाव लडेका प्रमोद साह अहिले सो पार्टी छाडेर नेकपामा गइसकेका छन् । लोसपा र जसपाको एकता भइसकेको छ भने जसपाले स्वभाविक रूपमा त्यहाँ दाबी गर्ने बताइएको छ ।
सर्लाही–२ मा हाल नेकपामा रहेका महिन्द्रराय यादवले चुनाव जितेका थिए भने दोस्रो मत लोसपाबाट चुनाव लडेका राजेन्द्र महतोले ल्याएका थिए । राजेन्द्र महतो हाल आफ्नै नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी गठन गरेका छन् । राष्ट्रिय मुक्ति पार्टी अहिले मोर्चामा सामेल छ । सर्लाही–२ मा राजेन्द्र महतोको दाबी छ । सो क्षेत्रमा विगतको चुनावमा जनमत पार्टी चौथो स्थानमा थियो ।
सर्लाही–३ मा मधेसवादी दलहरू कमजोर देखिएका छन् । जसपा नेपालको सहयोगमा एमालेबाट हरि उप्रेती निर्वाचित हुँदा जनमत पार्टी तेस्रो भएको थियो । मोर्चामा रहेका अन्य दलहरूको त्यहाँ उपस्थिति नै छैन ।
सर्लांही–४ मा पनि मधेसवादी दलको अवस्था नाजुक छ । विगतको चुनावमा अमरेश सिंह स्वतन्त्र उम्मेदवारका रूपमा यहाँबाट निर्वाचित भएका थिए । यहाँ कांग्रेस दोस्रो भएको थियो भने स्वतन्त्र उम्मेदवार मधुवालाकुमारी यादव तेस्रो भएकी थिइन् । उनी हाल नेकपामा छिन् । यहाँ जसपा नेपाल चौथो पोजिसनमा थियो । जसपा नेपालबाट चुनाव लडेका राकेश मिश्र जनमत पार्टीमा गइसकेका छन् । उनी जनमत पार्टीबाट उम्मेदवारको आकांक्षी छन् । जसपा नेपालका मनिष मिश्र पनि उम्मेदवार बन्ने तयारीमा छन् । यहाँ मोर्चामा सिट बाँडफाँट हुँदा जसपा नेपाल र जनमत पार्टीबिच तालमेल गर्नुपर्ने देखिएको छ । त्यो क्षेत्रमा जनमत पार्टी विगतको चुनावमा छैटौँ स्थानमा थियो भने जनता प्रगतिशील पार्टी दशौँ स्थानमा थियो ।
रौतहट–१ मा नेकपा एकीकृत समाजवादीबाट माधवकुमार नेपाल निर्वाचित हुँदा जसपा नेपालको पनि समर्थन रहेको एमाले दोस्रो भएको थियो । जनमत पार्टी यहाँ तेस्रो भएको थियो । अन्य मधेसवादी दलको त्यो क्षेत्रमा उपस्थिति छैन ।

रौतहट–२ मा किरण साह स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएकोमा उनी अहिले एमालेमा छन् । त्यहाँ जसपा नेपाल तेस्रो र जनमत पार्टी चौथो भएको थियो ।
रौतहट–३ मा प्रभु साह स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए । अहिले उनले आफ्नै नेतृत्वमा आम जनता पार्टी बनाएका छन् । त्यो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी चौथो र जनमत पार्टी छैटौँ स्थानमा थियो । रौतहट–४ मा लोकतान्त्रिक मोर्चामा रहेका दलहरूको उपस्थिति छैन ।
बारा–१ मा पनि मोर्चाको उपस्थिति न्यून छ । यहाँ एमालेले चुनाव जितेको थियो भने जनमत पार्टी छैटौँ स्थानमा सीमित थियो ।
बारा–२ मा जसपा नेपालमा रामसहाय यादव निर्वाचित हुँदा जनमत पार्टी दोस्रो भएको थियो । यादव उपराष्ट्रपति बनेपछि यो क्षेत्रमा उपनिर्वाचन हुँदा जसपा नेपालका उपेन्द्र यादव निर्वाचित भएका थिए ।
बारा–३ मा एमालेका ज्वालाकुमारी साह निर्वाचित भएकी थिइन् भने जसपा नेपालका रामबाबु यादव दोस्रो भएका थिए । यहाँ लोसपा नेपाल तेस्रो र जनमत पार्टी पाँचौँ भएको थियो भने नागरिक उन्मुक्ति पार्टी १५औँ स्थानमा थियो ।
बारा–४ मा पनि लोकतान्त्रिक मोर्चामा रहेका दलहरूको अवस्था नाजुक छ । विगतको चुनावमा यहाँ जनमत पार्टी छैटौँ स्थानमा थियो भने जनता प्रगतिशील पार्टी ११औँ स्थानमा थियो ।
पर्सा–१ बाट जसपा नेपालमा प्रदीप यादव निर्वाचित भएका थिए । यद्यपि पछि उनी अशोक राईको जसपा नेपालमा सामेल भए । अहिले उनी पुनः जसपा नेपालमा फर्केका छन्, तर जिल्लाले सिफारिस गरेको उम्मेदवारको सूचीमा उनको नाम छैन । जिल्लाले जसपा नेपालका नेता तथा पूर्वमुख्यमन्त्री लालबाबु राउत, पार्टीका मधेस प्रदेश अध्यक्ष बालकिशोर यादव र जिल्ला अध्यक्ष रामनरेशप्रसाद यादवको नाम सिफारिस गरेको छ । लोसपाका लक्ष्मणलाल कर्ण यो क्षेत्रबाट अघिल्लो चुनावमा चौथो स्थानमा थिए । यो क्षेत्रबाट कर्ण पनि उम्मेदवारका आकांक्षी छन् ।
पर्सा–२ बाट कांग्रेसका अजय चौरसिया निर्वाचित हुँदा जसपा नेपाल दोस्रो भएको थियो । पर्सा–३ मा लोकतान्त्रिक मोर्चामा आवद्ध दलहरूको उपस्थिति न्यून छ । पर्सा–४ मा जनमत पार्टी चौथो स्थानमा थियो अन्य मधेसवादी दल प्रतिस्पर्धामै देखिएका थिएनन् । यहाँ उम्मेदवारीका लागि जसपा नेपालको दाबी छ ।
लुम्बिनी प्रदेशको रुपन्देही–१ मा एमालेका उम्मेदवार निर्वाचित हुँदा नागरिक उन्मुक्ति पार्टी चौथो, जनमत पार्टी पाँचौँ स्थानमा थियो । सो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले दाबी गरेका छन् । रेशम चौधरी आफैँ उम्मेदवार बन्ने भएमा मोर्चाले उनलाई समर्थन गर्ने देखिएको छ । रुपन्देही–२ मा लोकतान्त्रिक मोर्चामा आवद्ध दलको उपस्थिति छैन ।
रुपन्देही–३ मा नागरिक उन्मुक्ति पार्टी चौथो स्थानमा थियो भने जनमत पार्टी पाँचौँ स्थानमा थियो । यो क्षेत्रमा अन्य मधेसवादी दलको प्रभाव देखिएको थिएन ।
रुपन्देही–४ बाट लोसपाका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्ला निर्वाचित हुँदा जनमत तेस्रो र जसपा नेपाल चौथो स्थानमा सीमित भएका थिए । यहाँ नागरिक उन्मुक्ति पार्टी छैटौँ स्थानमा थियो ।
कपिलवस्तु–१ मा एमालेले चुनाव जितेको थियो भने जनमत पार्टी तेस्रो, नागरिक उन्मुक्ति पार्टी चौथो, लोसपा एघारौँ र जनता प्रगतिशील पार्टी १२औँ स्थानमा थियो ।
अघिल्लो चुनावमा कपिलवस्तु–२ मा मधेसवादी दलमध्ये लोसपा नेपालको मात्र उम्मेदवारी परेको थियो । अकवाल अहमद लोसपाबाट चौथो स्थानमा सीमित भएका थिए । अकवार अहमद हाल एमालेमा गइसकेका छन् । कपिलस्तु–३ मा एमालेले चुनाव जितेको थियो । त्यहाँ मोर्चाका जनता प्रगतिशील पार्टी चौथो स्थानमा र जनमत पार्टी पाँचौँ स्थानमा थियो । जनता प्रगतिशील पार्टी जसपा नेपालमा समाहित भइसकेको छ । सो क्षेत्रमा अहिले जसपा नेपालले दाबी छ । ईश्वर दयाल मिश्र यहाँ उम्मेदवार बन्न इच्छुक छन् तर जनमत पार्टीले पनि दाबी गर्दै आएको छ ।
दाङ–१ मा नेकपा एकीकृत समाजवादी निर्वाचित हुँदा मोर्चामा रहेका नागरिक उन्मुक्ति पार्टी चौथो, लोसपा १०औँ स्थानमा थियो । दाङ–२ मा नागरिक उन्मुक्ति पार्टी सातौँ स्थानमा थियो । दाङ–३ मा नागरिक उन्मुक्ति पार्टी छैटौँ र जसपा नेपाल आठौँ स्थानमा थियो ।
बाँके–१ मा एमालेले चुनाव जितेको थियो भने नागरिक उन्मुक्ति पार्टी तेस्रो र जसपा नेपाल पाँचौँ स्थानमा थियो । लोसपा आठौँ स्थानमा थियो । यो क्षेत्रमा अहिले नागरिक उन्मुक्तिको दाबी छ ।
बाँके–२ मा राप्रपा निर्वाचित हुँदा जसपा नेपालका इस्तियाक राई दोस्रो स्थानमा रहे । उनी अहिले अशोक राई नेतृत्वको जसपामा छन् । यो क्षेत्रमा लोसपा आठौँ र जनमत पार्टी नवौँ स्थानमा थियो । बाँके–३ मा कांग्रेस निर्वाचित हुँदा जसपा नेपाल चौथो, जनमत पार्टी पाँचौँ र लोसपा सातौँ स्थानमा थियो ।
बर्दिया–१ मा कांग्रेस निर्वाचित हुँदा नागरिक उन्मुक्ति पार्टी तेस्रो, जनमत पार्टी पाँचौँ र जसपा नेपाल सातौँ स्थानमा थियो । बर्दिया–२ मा लालवीर चौधरी स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भए । चौधरी अहिले नागरिक उन्मुक्ति पार्टी नेपालमा छन् । लोसपा नेपाल यहाँ छैटौँ स्थानमा थियो । यो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी नेपालले दाबी गरेको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ मा कांग्रेसका विनोद चौधरीले चुनाव जितेका थिए भने जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी दोस्रो भएका थिए । त्रिपाठी अहिले जसपा नेपालमा छन् । यहाँ जनमत पार्टी चौथो, नागरिक उन्मुक्ति पार्टी छैटौँ स्थानमा थिए । यो क्षेत्रमा मोर्चाले त्रिपाठीलाई टिकट दिने सम्भावना रहेको बताइएको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–२मा जनमत पार्टी पाँचौँ र नागरिक उन्मुक्ति पार्टी छैटौँ स्थानमा थियो । कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ निर्वाचित भएकी थिइन् । यहाँ अन्य मधेसवादी दलको उपस्थिति थिएन । कैलाली–२ बाट नागरिक उन्मुक्ति पार्टीकै अरुण चौधरी निर्वाचित भएका थिए । त्यहाँ लोसपा नवौँ स्थानमा रहँदा अन्य मधेसवादी दलको उपस्थिति देखिएको थिएन ।
कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भएका थिए । सो क्षेत्रमा अन्य मधेसवादी दलको कुनै उपस्थिति थिएन । कैलाली–४ मा कांग्रेस निर्वाचित हुँदा नागरिक उन्मुक्ति पार्टी तेस्रो स्थानमा थियो । जनता प्रगतिशील पार्टी १०औँ स्थानमा थियो ।
कैलालीको चार वटै क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी नेपालले मोर्चाबाट उम्मेदवारीमा दाबी गरिरहेको छ, तर ०७९ को निर्वाचनमा प्रभाव देखाएको नागरिक उन्मुक्ति विभाजन भएर अहिले केही नेता नेकपामा गएका छन् भने केही नेता राष्ट्रिय स्वतन्त्र पार्टीमा गएका छन् । त्यही भएर नागरिक उन्मुक्ति पार्टीको पकड घटेकाले मोर्चाका अरु दलले दाबी गर्ने तयारी गरेका छन् ।
कञ्चनपुर–१ मा एमाले निर्वाचित हुँदा नागरिक उन्मुक्ति पार्टी तेस्रो र लोसपा नेपाल आठौँ स्थानमा थिए । क्षेत्र नम्बर २ मा लोसपा सातौँ, क्षेत्र नम्बर ३ मा जनमत पार्टी नवौँ स्थानमा थियो ।
झापा–१ मा मधेसवादी दलको अवस्था नाजुक छ । ०७९ को चुनावमा सो क्षेत्रमा जसपा नेपाल छैटौँ र लोसपा आठौँ स्थानमा थियो । झापा– २ मा लोसपा आठौँ, क्षेत्र नम्बर ३ मा जसपा नेपाल छैटौँ र जनमत पार्टी नवौँ स्थानमा थियो । क्षेत्र नम्बर ४ मा जनमत पार्टी नवौँ स्थानमा थियो भने जसपा नेपाल दशौँ स्थानमा थियो । झापा–५ मा अहिले रास्वपाबाट बालेन शाहले उम्मेदवारी दिने चर्चा छ । त्यहाँ गत चुनावमा एमालेका अध्यक्ष केपी ओली निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा यहाँ मोर्चाका घटक जनमत पार्टी चौथो र जसपा नेपाल सातौँ स्थानमा थिए ।
मोरङ–१, २, ३, मा मधेसवादी दलको कुनै उपस्थिति देखिएको छैन । मोरङ–४ मा लोसपा नवौँ स्थानमा थियो । मोरङ–५ मा जसपा नेपालले तेस्रो स्थान ल्याएको थियो भने जनमत पार्टी पाँचौँ स्थानमा थियो । मोरङ– ६ मा जनमत पार्टी पाँचौँ स्थानमा थियो भने नागरिक उन्मुक्ति पार्टी सातौँ स्थानमा थियो ।
सुनसरी–१ बाट जसपा नेपालका अशोक राई निर्वाचित भएका थिए । अहिले उनी सो पार्टीबाट उनी अलग भएर आफ्नै नेतृत्वमा जसपा गठन गरेका छन् । सुनसरी–२ जनमत पार्टी पाँचौँ, नागरिक उन्मुक्ति पार्टी छैटौँ स्थानमा थियो । अन्य मधेसवादी दलको उपस्थिति सो क्षेत्रमा देखिएको थिएन । सुनसरी–३ मा मोर्चाको घटक लोसपा आठौँ स्थानमा रहँदा मधेसवादी अन्य दलको प्रभाव देखिएको थिएन । सुनसरी–४ मा जनमत पार्टी छैटौँ, लोसपा नेपाल सातौँ र नागरिक उन्मुक्ति आठौँ स्थानमा थियो ।







































































































