महोत्तरी ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी महोत्तरी जिल्लामा २५८ मतदानस्थल र ५३६ मतदान केन्द्र निर्धारण गरीएको छ । जिल्ला निर्वाचन कार्यालय महोत्तरीका अनुसार यसपटक जिल्लामा मतदाताको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ ।
२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीमा कुल तीन लाख ५७ हजार ३० मतदाता रहेका थिए । पछिल्लो समय ७४ हजार २५२ मतदाता थपिएसँगै अहिले जिल्लाको कुल मतदाता संख्या चार लाख ३१ हजार २८२ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार निर्वाचनमा सहभागी हुन पाउने मतदातामध्ये दुई लाख ३५ हजार १८३ जना पुरुष, एक लाख ९२ हजार ९७ जना महिला र अन्य दुई जना रहेका छन् । सबै मतदाताले आगामी फागुनमा २१ तेकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउनेछन् ।
महोत्तरी जिल्लामा चारवटा निर्वाचन क्षेत्र रहेका छन् । ती चारै निर्वाचन क्षेत्रमा मतदानस्थल र मतदान केन्द्रको व्यवस्थापन गरिएको जिल्ला निर्वाचन कार्यालय महोत्तरीकी प्रमुख रंजिता झाले जानकारी दिइन् ।
निर्वाचन क्षेत्र नम्बर १ मा ५६ हजार २२२ पुरुष, ४९ हजार ७२२ महिला र अन्य दुई गरी कुल एक लाख पाँच हजार ६४६ मतदाता रहेका छन् । उनीहरूका लागि ५९ मतदानस्थल र १२० मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
यस्तै, निर्वाचन क्षेत्र नम्बर २ मा ५८ हजार ८६१ पुरुष र ४८ हजार ७३३ महिला गरी कुल एक लाख सात हजार ५९४ मतदाता रहेका छन् । यस क्षेत्रमा ६२ मतदानस्थल र १३३ मतदान केन्द्र निर्धारण गरिएको छ ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ मा ५९ हजार ९५० पुरुष र ५० हजार ८८६ महिला गरी कुल एक लाख १० हजार ४३६ मतदाता रहेका छन् । यहाँ ७७ मतदानस्थल र १४२ मतदान केन्द्र राखिएको छ ।
त्यसैगरी, निर्वाचन क्षेत्र नम्बर ४ मा ६० हजार १५० पुरुष र ४७ हजार ७५६ महिला गरी कुल एक लाख सात हजार ६०६ मतदाता रहेका छन् । उनीहरूका लागि ६० मतदानस्थल र १३१ मतदान केन्द्रको व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख झाले बताइन् ।
सुरक्षाका दृष्टिले महोत्तरीका १६३ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ भने ८९ मतदानस्थल संवेदनशील र ६ मतदानस्थल सामान्य सुरक्षा अवस्थाको सूचीमा समावेश गरिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाइने निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन नजिकिँदै जाँदा मतदाता शिक्षा, सुरक्षा व्यवस्थापन तथा प्रशासनिक तयारीलाई थप तीव्र पारिएको जिल्ला निर्वाचन कार्यालयको भनाइ छ ।








































































































