लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल (जसपा नेपालसँग एकताको समझदारी भए पनि औपचारिक रूपमा पार्टी मर्ज भएको छैन तर जसपा नेपालकाे तर्फबाट महन्थ ठाकुर राष्ट्रिय सभामा उम्मेदवार बन्ने भएका छ।
शुक्रबार संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा उक्त कुरा औपचारिक रूपमा बाहिरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
‘राष्ट्रिय सभाको चुनावमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच २/२ सीटमा सहकार्य भएको छ भनेर महन्थ ठाकुरले आज बसेको बैठकमा जानकारी गराउनुभएको थियो,’ मोर्चाको बैठकमा सहभागी एक नेताले भने,’ कांग्रेसले २ सीट लिने र जसपालाई २ सीट दिने भनेर समझदारी कायम भएको छ ।’
यसअघि मंगलबार बसेको मोर्चाको बैठकमै लोसपाका नेता मुकेश झाले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रिय सभाको उम्मेदवारको रूपमा प्रस्ताव गर्दा सर्वेन्द्र नाथ शुक्लले समर्थन गरेका थिए ।
लोसपाका महासचिव मनिष मिश्रले पनि अध्यक्ष ठाकुरको नाम राष्ट्रिय सभाका लागि प्रस्ताव गरिएको स्वीकार गरे ।
‘उहाँको पक्षमा राष्ट्रिय सभाको लागि माहोल बनेको छ । कुन पार्टीसँग सहकार्य गर्ने भन्ने कुरा अहिले तय भइसकेको छैन ।
मोर्चाको मतले मात्र नपुग्ने हुनाले अन्य कुन-कुन दल सँग सहकार्य गर्ने भन्ने विषयमा औपचारिक निर्णय नभएको उनले खुलाए ।
त्यसैगरी, प्रतिनिधिसभामा मोर्चाबीच तालमेल गरेर जाने भएपनि कुन-कुन सिटमा कसरी तालमेल गर्ने भन्ने कुराका लागि मोर्चामा आबद्ध हरेक दलबाट २/२ जनाको कार्यदल बनेको उनले खुलाए ।
उक्त कार्यदलले गृहकार्य गरेर पेश गरेपछि अध्यक्षको तहमा त्यस विषयमा निर्णय लिइने उनले खुलाए ।

ठाकुर कांग्रेसको समर्थनमा महोत्तरी-३ बाट प्रतिनिधि सभा चुनाव जित्दै आएका थिए । यसपटक कांग्रेसले आफ्नै उम्मेदवार उठाउने तयारी गरेको छ ।
आजको बैठकमा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले राष्ट्रिय सभामा के कसो भएको हो ? भन्ने जिज्ञासा राखेपछि लोसपा अध्यक्ष ठाकुरले उक्त जवाफ दिएका हुन् ।
कांग्रेसलाई किन दिने ? भनेर जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले प्रश्न सोधे पनि त्यसको जवाफ नआएको अर्का एक नेताले बताए ।
लोसपाको पार्टी कार्यालय बबरमहलमा बसेको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालबाट पनि राष्ट्रिय सभादेखि प्रतिनिधि सभा चुनावसम्मै सहकार्यका लागि प्रस्ताव आएको जानकारी दिएका थिए ।
‘राष्ट्रिय सभामा हामी कांग्रेससँग सहकार्य गर्ने गरी अघि बढिरहेका छौं,’ यादवको भनाई उद्धृत गर्दै ती नेताले भने, ‘तर, नेकपाबाट माधव नेपालजीले पनि सहकार्यका लागि प्रस्ताव गर्नुभएको छ । हामीले मोर्चामा छलफल गरेर भन्छौं भनेर जवाफ दिएका छौं भन्ने जानकारी उपेन्द्रजीले गराउनुभयो ।’
राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुँदैछ ।
मोर्चाको आजको बैठकमा प्रतिनिधिसभामा कुन–कुन क्षेत्रमा सहकार्य गर्ने भन्ने कुरा टुंग्याउने गरी कार्यदलले तयारी गर्ने र आगामी बैठकमा प्रस्तुत गरेर निर्णय गर्नेबारे छलफल भएको ती नेताले बताए







































































































