पुरुषाेतम यादव,औरही, । मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजना अन्तर्गत औरही नगरपालिका, महोत्तरीमा प्रोटेबल ग्रामीण अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण गरिएको छ।
One Heart Worldwide को आर्थिक सहयोग तथा रतौली युवा क्लबको प्राविधिक सहयोगमा सञ्चालित यस परियोजनामार्फत ग्रामीण क्षेत्रमा बसोबास गर्ने गर्भवती महिलाहरूलाई निशुल्क अल्ट्रासाउण्ड सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ। परियोजनाले गर्भावस्थामै सम्भावित जोखिम पहिचान गरी समयमै उपचारमा पहुँच पुर्याउने उद्देश्य लिएको छ।
औरही नगरपालिकाको आधारभूत नगर अस्पतालमा आयोजित एक समारोहबीच रतौली युवा क्लबका अध्यक्ष मो. साकिर खानले औरही नगरपालिकाका नगर प्रमुख प्रदीप कुमार खड्कालाई उक्त प्रोटेबल अल्ट्रासाउण्ड मेसिन औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो।
कार्यक्रममा नगर उपप्रमुख रेणु झा, वडा अध्यक्ष सुशील कुमार साह, वडा सचिव संजीव कुमार साह, स्वास्थ्य शाखा प्रमुख रबिन्द्र कुमार यादव, स्वास्थ्य कार्यालयकी प.हे.न. सृजना कुमारी यादव, कार्यपालिका सदस्य सनिचरी देवी, नगर अस्पताल प्रमुख रामचन्द्र यादव तथा अस्पतालका सम्पूर्ण नर्सिङ कर्मचारीहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी कार्यक्रममा रतौली युवा क्लबका कार्यकारी निर्देशक वैधनाथ चौधरी, क्लबका कर्मचारीहरू तथा One Heart Worldwide का प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।
स्थानीय तहमा अत्यावश्यक स्वास्थ्य उपकरण उपलब्ध भएपछि ग्रामीण भेगका गर्भवती महिलाहरूले ठूलो राहत पाउने विश्वास व्यक्त गरिएको छ।








































































































