
रामगाेपालपुर,सरकारी कागजात कीर्ते गरी भारतीय नागरिककाे नेपाली नागरिकता बनाएको आरोपमा प्रहरीले इलाका प्रशासन कार्यालयका सहयोगीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ
महोत्तरीको इलाका प्रशासन कार्यालय रामगोपालपुरमा कार्यरत कार्यालय सहयोगीले सरकारी कागजातको दुरुपयोग गरी भारतीय नागरिकलाई नागरिकता दिलाएको आशंकामा अनुसन्धान भइरहेकाे हाे ।
कार्यालयको कागजात, सरकारी छाप, किर्ते दस्तखत र होलोग्रामको दुरुपयोग गरी भारतीय नागरिकलाई नेपाली नागरिकता बनाएको आरोपमा प्रहरीले कार्यालय सहयोगी कृष्ण मण्डललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हाे ।
विशेष सूचनाको आधारमा इलाका प्रशासन रामगोपालपुरका कार्यालय सहयोगी मण्डललाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी महोतरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले बताए
जिल्ला प्रशासन महोत्तरीबाट आएको जानकारी अनुसार कार्यालय सहयोगी मण्डललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए । मण्डल पक्राउ परेपछि अर्का कार्यालय सहयोगी फरार भएका छन्
इलाका प्रशासन रामगोपालपुरबाट २०७६ मा वितरण भएको नागरिकतामा त्रुटि देखिएपछि अनुसन्धान अगाडी बढाइएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ईन्द्रदेव यादवले बताए । ‘गृह मन्त्रालयबाट २०८२ असोज ३० गते अनुसन्धान अगाडी बढाउन जानकारी आएको हो,’ प्रजिअ यादवले भने,‘म महोत्तरी आउनु अगावै यो विषयमा अनुसन्धान सुरु भएको थियो । म आएपछि नागरिकता वितरणमा त्रुटि भेटिएपछि कार्यालय सहयोगीलाई पक्राउ गरी अनुसन्धान अगाडी भइरहेकाे छ ।’ अनुसन्धान टुंगिएपछि मात्रै विस्तृत विवरण खुल्ने उनले बताए ।
अनुसन्धानमा संलग्न कर्मचारीहरुका अनुसार इलाका प्रशासनबाट कीर्ते गरी नागरिकता बनाएका भारतीयहरु नेपाली राहदानी लिएर विदेशमा छन् । नागरिकता बनाउँदा इलाका प्रशासनका कर्मचारीले मोटो रकम संकलन गरेको बुझिएको ती कर्मचारीले सुनाए ।कान्तिपु







































































































