बंगलादेशमा अल्पसंख्यकमाथि भइरहेको हिंसा निन्दनीय : मुख्यमन्त्री यादव


जनकपुरधाम, पुस ७ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले बंगलादेशमा हिन्दु तथा अन्य अल्पसंख्यक समुदायमाथि भइरहेको हिंसा, उत्पीडन र जबरजस्ती सम्पत्ति कब्जाका घटना निन्दनीय रहेको भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन ।

मुख्यमन्त्री यादवले भीडद्वारा गरिने हत्या (मॉब लिंचिङ), मौलिक अधिकारको निरन्तर उल्लंघन तथा अल्पसंख्यक समुदायलाई लक्षित आक्रमणले कानुनी शासनको गम्भीर कमजोरी मात्र नभई मानवता, न्याय र सभ्य समाजका आधारमाथि नै गहिरो चोट पुर्‍याइरहेको बताए ।

उनले हालै बंगलादेशस्थित भारतीय दूतावासमाथि भएको आक्रमणलाई उल्लेख गर्दै अन्तरिम सरकारको असफलता स्पष्ट रूपमा देखिएको टिप्पणी गरे । यस्तो अराजक र अस्थिर अवस्था बंगलादेशको आन्तरिक मामिलामा मात्र सीमित नरही सम्पूर्ण क्षेत्रीय शान्ति, स्थिरता र विकासका लागि गम्भीर चुनौती बनेको उनको कथन छ ।

राज्यको पहिलो र प्रमुख जिम्मेवारी आफ्ना नागरिकको जीवन, अधिकार र सुरक्षाको सुनिश्चितता भएको बताउँदै उनले अन्तरिम शासनको असफलताबाट उत्पन्न अराजकता र असुरक्षालाई अन्त्य गर्न राजनीतिक दल, अन्तर्राष्ट्रिय समुदाय तथा सम्बन्धित निकायहरूले संयुक्त रूपमा सक्रिय र पारदर्शी पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन ।

लोकतान्त्रिक मूल्य, मानव अधिकार र न्यायको सम्मानबिनाको शान्ति दिगो नहुने उल्लेख गर्दै मुख्यमन्त्री यादवले लोकतन्त्रको बलमा मात्र दीर्घकालीन विकास र क्षेत्रीय स्थिरता सम्भव हुने स्पष्ट पारे ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

Next Post