मधेश प्रदेशमा राजनीतिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेशका संसदीय दलका नेता जयनुल राइनले जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने उद्देश्यसहित नयाँ सरकार गठन प्रक्रियामा सक्रिय पहल सुरु हुने बताएका छन्।
सर्वोच्च अदालतले वर्तमान मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश दिएको समयसीमा आज साँझ सकिँदैछ। राइनका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिन सक्ने सम्भावना अत्यन्त न्यून भएकाले त्यसपछिनै नयाँ विकल्पका लागि दलहरू सक्रिय हुने छन्।

राइनले भने, “मुख्यमन्त्रीजी विश्वासको मत लिन सक्ने स्थिति देख्दिनँ। समयसीमा पूरा भएको क्षणदेखि नै हामी ७ दल मिलेर सरकार निर्माणको पहल थाल्नेछौँ।”
उनका अनुसार सात दलबीच जितेन्द्र सोनललाई संभावित मुख्यमन्त्रीका रूपमा समर्थन गर्ने प्रारम्भिक सहमति पहिले नै भइसकेको छ। तर नेपाली कांग्रेसले पनि सरकार नेतृत्वमा दाबी गरिरहेको हुँदा अन्तिम सहमतिको लागि दलहरूले बैठक बसेर निर्णय गर्ने तयारी रहेको राइनले बताए।
समयसीमा सकिएलगत्तै प्रदेश प्रमुखलाई भेटेर नयाँ सरकार गठनका लागि आह्वान गर्न माग गर्ने प्रक्रिया अघि बढाइने लोसपा नेताहरूले बताएका छन्।








































































































