१४ कात्तिक, । रूसले युक्रेनविरुद्धको युद्धमा घातक क्रुज मिसाइल प्रयोग गरेको खुलेको छ ।
रूसले पछिल्ला महिनाहरूमा युक्रेनविरुद्धको युद्धमा घातक ९एम७२९ मिसाइल प्रयोग गरेको युक्रेनी अधिकारीहरूले बताएका हुन् ।
यही घातक ९एम७२९ मिसाइलको गोप्य विकास गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा रूससँगको परमाणु नियन्त्रण सन्धि तोडेका थिए ।
युक्रेनका परराष्ट्रमन्त्री आन्द्रि सिबिहाले भने, ‘रूसले आईएनफ सन्धिअनुसार प्रतिबन्धित ९एम७२९ क्षेप्यास्त्र पछिल्ला महिनाहरूमा युक्रेनविरुद्ध प्रयोग गरेको छ ।
उनका अनुसार, रूसले अगस्तदेखि हालसम्म युक्रेनविरुद्ध २३ पटक यो मिसाइल प्रहार गरेको छ । अर्का वरिष्ठ युक्रेनी अधिकारीले सन् २०२२ मा पनि ९एम७२९ का दुई प्रक्षेपण दर्ज भएको बताएका समाचार संस्था रोयटर्सले जनाएको छ ।
युक्रेनी सैनिक स्रोतका अनुसार, अक्टोबर ५ मा प्रहार गरिएको एउटा ९एम७२९ मिसाइल एक २०० किलोमिटर उडेर युक्रेनमा खसेको थियो ।
९एम७२९ मिसाइलकै कारण सन् २०१९ मा अमेरिका मध्यम दूरीका परमाणु शक्ति (अस्त्र) सम्बन्धी सन्धि (आईएनएफ)बाट बाहिरिएको थियो
उक्त सन्धिले ५०० देखि पाँज हजार ५०० किलोमिटर दायराका भू–आधारित मिसाइलको विकासमा निषेध गरेको थियो ।
अमेरिकाले रूसले विकास गरेको मिसाइलले ५०० किलोमिटरको सीमा पार गर्न सक्ने भन्दै सन्धि उल्लङ्घन भएको आरोप लगाएको थियो, तर रूसले त्यो अस्वीकार गरेको थियो ।
अमेरिकास्थित सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडिजको मिसाइल थ्रेट वेबसाइटका अनुसार ९एम७२९ क्षेप्यास्त्रले दुई हजार ५०० किलोमिटर दूरीसम्म मार हान्न सक्छ । यसमा परमाणु वा परम्परागत दुवै प्रकारका वारहेड राख्न सकिन्छ ।
युक्रेनका परराष्ट्रमन्त्री सिबिहाले आईएनएफले प्रतिबन्ध लगाएको मिसाइल प्रयोग गरेर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पको कूटनीतिक अपमान गरेको बताएका छन् ।
उनी भन्छन्, ‘कीभ ट्रम्पका शान्ति प्रस्तावहरूको समर्थनमा छ र रूसमाथि अधिकतम दबाब सिर्जना गर्नुपर्ने आवश्यकता छ, जसका लागि युक्रेनको आक्रमण क्षमता बढाउनु जरुरी छ ।’
युक्रेनले अमेरिकालाई घातक टमहक मिसाइल उपलब्ध गराउन आग्रह गरेको छ, जुन आईएनएफ सन्धि अनुसार प्रतिबन्धित छैन ।
टमहक मिसाइल समुद्री प्रक्षेपणका लागि मात्र विकसित गरिएको हो । तर, रूसले भने अमेरिकाले युक्रेनलाई टमहक मिसाइल दिए त्यो कदम उक्साहटपूर्ण हुने चेतावनी दिएको छ ।
९एम७२९ को प्रयोगले रूसको लामो दूरीका हतियार भण्डारलाई अझ विस्तार गरेको सैन्य विश्लेषकहरू बताउँछन् ।
युरोपतर्फ दबाब सिर्जना गर्ने रणनीतिक सन्देश दिन पनि रूसले युक्रेनविरुद्ध ती मिसाइल प्रयोग गरेको उनीहरूको टिप्पणी छ ।
प्यासेफिक फोरमका वरिष्ठ अनुसन्धानकर्ता विलियम अल्बर्कको दाबी अनुसार पुटिनले युक्रेनसम्बन्धी वार्तालाई दबाबमा पार्न यस्तो कदम चालिरहेका छन् । ९एम७२९ क्षेप्यास्त्र त युरोपेली देशलाई लक्षित गर्दै विकास गरिएको उनीहरूको दाबी छ ।
रूसले गत साताको परीक्षणमा आणविक ऊर्जाबाट चल्ने ‘बुरेभेस्निक’ क्रुज मिसाइल र ‘पोसेडन’ नामक आणविक टर्पेडो परीक्षण गरेको दाबी गरेको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले भने रूसले ९एम७२९ प्रयोग गरेकोबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । तर, राष्ट्रपति ट्रम्पले बिहीबार अमेरिकन सेनालाई पुन: परमाणु परीक्षण सुरु गर्न आदेश दिएको बताएका थिए ।
अमेरिका सन्धिबाट बाहिरिएपछि रूसले मध्यम–दूरीका मिसाइल तैनाथ नगर्ने मोरेटोरियम घोषणा गरेको थियो । तर, पश्चिमी देशहरूले भने रूसले पहिले नै केही ९एम७२९ मिसाइल तैनाथ गरिसकेको दाबी गरेका छन् ।










































































































