मुख्यमन्त्रीका लागि दाबी पेस गरेका दुवै पक्ष प्रदेश प्रमुख कार्यालय पुगेपछि तनाव बढेको हो ।
दुवै पक्षबीच हुन सक्ने सम्भावित घटनालाई मध्यनजर राखेर प्रदेश प्रमुखको कार्यालय परिसरमा ठूलो संख्यामा नेपाली सेना परिचालन गरिएको छ ।
बुधबार बिहान सुरुमा लोसपाका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री नियुक्त गर्न जनमतसहित ६ दलले प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष ५७ सांसदको दाबी पेस गरेका थिए ।
त्यस लगत्तै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न नेकपा एमाले र जनमतका सांसदहरूको हस्ताक्षर सहित ५८ सांसदकको दाबी पेस गरेका थिए । मधेशमा जनमतका १३ सांसद छन् ।
तर आजै निवर्तमान मुख्यमन्त्री सतिशकुमारसिंह र पूर्व वनमन्त्री त्रिभुवन साह निर्वाचन कार्यालय पुगेर जनस्वराज पार्टीमा सनाखत गरेका छन् ।
सिंह र साह नयाँ जनस्वपामा सनाखत गर्न जनकपुरस्थित निर्वाचन कार्यालय जाने क्रममा जनमतका नेता तथा कार्यकर्ताहरूले अवरोध गरेपछि झडप समेत भएको थियो ।
जनमतले आज प्रदेश प्रमुख कार्यालयमा एउटा पत्र बुझाउँदै आफूहरूको समर्थन सोनाललाई रहेको बताएको थियो । त्यस विषयमा प्रदेश प्रमुख कार्यालयले पनि जानकारी गराएको छ ।
मुख्यमन्त्रीको नियुक्तिको विषयलाई लिएर अहिले प्रदेश प्रमुख कार्यालयमा दुवै पक्षबीच छलफल जारी रहेको प्रदेश प्रमुख कार्यालयका निमित सचिव शत्रुधन यादवले जानकारी दिए।












































































































