सन् २०२६ को टी–२० विश्वकप क्रिकेटका लागि एशिया तथा पूर्वी एशिया–प्यासिफिक छनोट प्रतियोगितामा नेपालले उत्कृष्ट सुरुआत गरेको छ। समूह चरणको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी सुरुआत गरेको हो।
ओमानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो।
नेपालका ओपनर कुशल भुर्तेलले सानदार प्रदर्शन गर्दै ५६ बलमा ३ छक्का र ३ चौकासहित ६६ रनको योगदान दिए। त्यसैगरी गुल्शन झाले ६ बलमा ३ छक्का प्रहार गर्दै २० रन जोडे। अन्य ब्याट्सम्यानहरूबाट पनि सानो तर उपयोगी योगदान प्राप्त भयो।
जवाफी रूपमा कुवेतको ब्याटिङ लाइन नेपालका बलरहरू अगाडि टिक्न सकेन। निर्धारित लक्ष्य पछ्याउने क्रममा कुवेत १८.१ ओभरमै सबै विकेट गुमाउँदै ८३ रनमा समेटियो।
नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै लगातार दबाब सिर्जना गरेका थिए। यो जितसँगै नेपालले छनोट यात्रामा उत्साहजनक सुरुआत गरेको छ। #NepalCricket #nepalcricketfan












































































































