
२१ असोज, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेसका नेताहरूसँग संवाद गरेका छन् ।
कांग्रेस सभापति देउवाको सचिवालयले पनि लोसपा अध्यक्ष ठाकुरसँग कुराकानी भएको बताएको छ ।
लोसपाका अर्का नेताका अनुसार अध्यक्ष ठाकुरले भेटवार्तालाई तीव्रता दिएका छन् ।
दशैं अगाडि अध्यक्ष ठाकुर आफैँ मधेश प्रदेश गएर छलफल गरेका थिए । पार्टीभित्र र अन्तरपार्टी छलफल समेत गरेर उनी काठमाडौं फर्किएपछि उनले केन्द्रका नेताहरूसँग संवाद थालेका हुन् ।
नेपाली कांग्रेसले यही ८ असोजमा मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यससँगै मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेका जनमत पार्टीका नेता सतिशकुमार सिंह अल्पमतमा परेका छन् ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि त्यसको ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेश सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । अब बन्ने गठबन्धनबाट सरकारको नेतृत्व लिने प्रयासमा लोसपा लागेको हो ।
१०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ जना सांसद आवश्यक पर्छ । कांग्रेस (२२) एमाले (२५) मिल्दा ४७ मत पुग्छ ।
बाँकी दलहरू जनता समाजवादी पार्टी नेपालका १९ जना, जनमत पार्टीका १३ जना छन् । लोसपा र माओवादी केन्द्रका ९/९ जना छन् । नेकपा एकीकृत समाजवादीका ७ जना छन् । नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक/एक जना छन् ।








































































































