धनवीर महतो । महोत्तरी
कारागार प्रशासन महोत्तरीले कैदीवन्दीलाई बन्दीगृहमा आउन अपील गरेका छन् । कारागार कार्यालय महोत्तरी जलेश्वरले कुनै पनि वाहनामा बनदीगृहबाट वाहिरिएका कैदीबन्दीलाई अवको २४ घण्टाभित्र स्वेच्छाले कारागारमा आउनका लागि आग्रह गरेका छन् ।
आफुखुशी फर्किए उनीहरुलाई कारागारमा विना शर्तमा राखिने कारागार निमित प्रशासक रविनचन्द्र ठाकुरले जनाएको छ । यस समयअवधिभित्र कारागारमा नफर्किनेहरुको हकमा कानुन बमोजिम सजायको व्यवस्था गरिने कारागार प्रशासक ठाकुरले जनाएको छ ।
जेन जी को आन्दोलनको मौका छोपी त्यहाँ रहेका ५७६ जना कैदीबन्दीहरु फरार भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिएका छन् । दिउँसोदेखि बाक्लो संख्यामा वाहिरबाट आएका व्यक्तिहरुको उपस्थितीे अनियन्त्रण हुँदा कैदी वाहिर आउन सफल भएको प्रमु्ख जिल्ला अधिकारी रिसालले बताए ।
उनले भने, घटना मंगलवार साँझ करिब ७ बजे भए्को हो । करिब ५०० भन्दा बढी लाठीसहितका प्रदर्शनकारीहरूले भित्रका कैदीहरूसँग हातेमालो गरेका थिए । कैदीहरूले भान्सामा प्रयोग हुने दाउराको सहायताले पर्खाल भत्काएर फरार भएका थिए ।
त्यहाँ रहेका ५७७ जना कैदीमध्ये ५७६ जना फरार भएका थिए । बाँकी रहेको १ जनालाई जिल्ला प्रशासन कार्यालय महोत्तरीमा राखिएको छ ।









































































































