काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आफ्नो केन्द्रीय महाधिवेशन आगामी २०८२ चैत्र ६–७ गते गर्ने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा भदौ ८ र ९ गते बसेको शीर्ष नेताहरूको विस्तारित बैठकले तोकिएको समयमा महाधिवेशन गर्ने निर्णय गरेको सो पार्टीका अध्यक्ष महन्थ ठाकुरद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघि साउनमसान्तभित्र महाधिवशेन गरिसक्नुपर्ने निर्णय पार्टीले गरेको थियो । तर तयारी नपुगेको भन्दै तोकिएको समयमा महाधिवेशन भएन । यो तेस्रो पटक महाधिवेशनको मिति तय भएको हो ।
यसपटक तोकिएको समयमा महाधिवेशन हुने सो पार्टीका महासचिव डा.सुरेन्द्र झाले बताए । विगतमा तयारी नपुगेको कारण मिति सारिएको हो, भदौं ८ र ९ गतेको बैठकले तय गरेको मितिमा नै महाधिवशेन हुने उनले बताए ।
‘प्राविधिक तथा नीतिगत तयारीहरू भइसकेका छन्, केही स्थानीय, जिल्ला तथा प्रदेशहरूमा अधिवेशन बाँकी छन्, त्यसैले मिति सारिएको हो,’ झाले भने, ‘आठ महिना बाँकी छ, यो अवधिमा सबै ठाउँको महाधिवेशन सम्पन्न गरेर तोकिएको समयमा महाधिवेशन गराउँछौँ ।’
यसअघि वैशाख र साउनमा दुई पटक पार्टीको महाधिवेशन गर्ने भनी मिति तय गरिएको थियो, तर तयारी नपुगेको भन्दै सार्ने काम मात्र भइरहेको छ । पछिल्लो पटक तोकिएको समयमा भने महाधिवेशन हुनेमा पार्टीका नेताहरू विश्वस्त देखिएका छन् ।
लोसपा नेपालको पहिलो महाधिवेशन हुन लाग्दै छ । जसपा नेपालबाट अलग भएर महन्थ ठाकुरले यो पार्टी गठन गरेका हुन् । पार्टी गठनको चार वर्ष पूरा भइसक्यो । पाँच वर्षभित्र महाधिवशेन गर्ने पार्टीको विधानमा उल्लेख छ । महाधिवशेन गराउन अवधि एक वर्ष अझै बाँकी छ ।
लोसपाले २०८१ जेठ ५ गतेदेखि सदस्यता वितरण अभियान धनुषाबाट सुरु गरेको थियो । तर एक वर्ष भइसक्दा पनि त्यसको विवरण हालसम्म पार्टी कार्यालयमा आइपुगेको छैन । पाँच लाख सदस्यता वितरण गर्ने लक्ष्य राखेको लोसपा नेपालले सदस्यता वितरणलाई अझै निरन्तरता दिइरहेको छ । साथै सदस्यता वितरण, स्थानीय र जिल्ला अधिवेशन पनि सँगसँगै भइरहेको पार्टीका नेताहरू बताउँछन् ।
निर्देशिका पनि तयार
लोसपा नेपालले महाधिवेशनका लागि निर्देशिका भने तयार पारिसकेको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलको संयोजकत्वमा सो निर्देशिका तयार पारिएको हो । तयार गरिएको निर्देशका अध्यक्ष ठाकुरलाई २०८१ पुसमै हस्तान्तरण गरिएको थियो ।
वडा तहदेखि माथिल्लो तहसम्मको अधिवेशन कसरी गराउने, चुनाव कसरी गराउने, महाधिवेशन प्रतिनिधि कसरी चयन गर्नेजस्ता कुरा निर्देशिकामा उल्लेख छ । तलदेखि माथिसम्म ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ भने अन्य समाजिक संरचना, जातजाती, समुदायलाई उसको जनसँख्या तथा भूगोलमा उपस्थितिको आधारमा समावेश गराउने व्यवस्था गरिएको छ ।
सो निर्देशिकाअनुसार महाधिवेशनका लागि पाँच सदस्यीय निर्वाचन समिति गठन गर्नेछ । त्यस्तै प्रदेश अधिवेशनका लागि केन्द्रीय समितिले पाँच सदस्यीय, जिल्ला अधिवेशनका लागि प्रदेश समितिले तीन सदस्यीय निर्वाचन समिति गठन गर्ने भनिएको छ । प्रदेश समिति नरहेको ठाउँमा केन्द्रीय समितिले सो समिति गठन गर्ने भनेको छ । निर्वाचन क्षेत्रीय अधिवेशन तथा पालिका अधिवेशनका लागि तीन–तीन सदस्यीय निर्वाचन समिति गठन गर्ने भनिएको छ ।
निर्वाचन क्षेत्रमा सक्रिय रहेका भ्रातृ संगठनले अधिवेशनका लाग पाँच जना, जिल्लामा रहेकाले पनि पाँच जना प्रतिनिधि चयन गर्ने प्रावधान निर्देशिकामा छ । त्यस्तै प्रदेश अधिवेशनका लागि प्रदेशमा सक्रिय रहेका मातृ संगठनले सात जना प्रतिनिनिधि चयन गर्न सक्ने भनिएको छ । त्यसैगरी केन्द्रमा सक्रिय भ्रातृ संगठनले केन्द्रीय महाधिवेशनका लागि सात जना प्रतिनिधि चयन गर्ने प्रावधान राखिएको छ ।
सरेको सर्यै महाधिवशेन ?
महन्थ ठाकुर तमलोपा, राजपा, जसपा हुँदै अहिले लोसपाका अध्यक्ष छन् । तमलोपा हुँदै विभिन्न दलसँग एकीकरण गर्दै भत्काउँदै लोसपासम्म पुगेका महन्थ ठाकुरले चैतमा जसरी पनि महाधिवेशन गराउने कम्मर कसेका छन् ।
त्यसका लागि उनले पार्टीका सबै तहका नेताहरूलाई निर्देशन पनि दिइसकेका छन् । ०६५ देखि हालसम्म संसद्मा मात्र होइन, सरकारमा पनि सम्मानजनक उपस्थिति देखाउँदै आएको तत्कालीन तमलोपा अर्थात् लोसपाका अध्यक्ष ठाकुरले हालसम्म एक पटक मात्र महाधिवेशन गराएका छन् ।
२०७१ मा नवलपरासीमा तत्कालीन तमलोपाको पहिलो महाधिवेशन भएको थियो । त्यसयता तमलोपा विभिन्न स्वरुपमा गए पनि हालसम्म महाधिवशेन भएको छैन । विगतमा विभिन्न दलसँग एकीकरण, समायोजनका कारण तोकिएको समयमा महाधिवेशन हुन नसकेको सो पार्टीका नेताहरू स्विकार गर्छन् ।
नेपाली कांग्रेसबाट विद्रोह गरेर मधेस आन्दोलन चलिरहेकै वेला ठाकुरले ०६४ वैशाख १० गते तमलोपा गठन गरेका थिए । ठाकुरले विभिन्न पार्टीसँग एकता गर्दै, विधान फेर्दै आइरहेका छन् । १८ वर्षदेखि उनी पार्टीको नेतृत्वमा छन् ।
२०७१ मा तत्कालीन तमलोपाको महाधिवेशन नवलपरासीमा भएको थियो । महाधिवेशनपछि ०७२ मा मधेश आन्दोलन सुरु भएको थियो, मधेश आन्दोलनपछि २०७४ मा विभिन्न पार्टी मिलेर राजपा बनेको थियो । त्यसपछि ०७७ मा समाजवादी पार्टीसँग एकीकरण गरेर जसपा नेपाल बनेको थियो । ०७८ मा विभाजन भएर लोसपा बन्यो । र दुई पटक महाधिवेशनको मिति सरिसकेको छ । तेस्रो पटक मिति तय गरिएको छ । तोकिएको मितिमा महाधिवेशन हुने सबैले विश्वास गरेका छन् ।
लोसपाको थप निर्णय
लोसपा नेपालको शीर्ष नेताको विस्तारित बैठकले तराई–मधेशका जिल्लामा बाढी, डुबान र खडेरीका कारण किसानहरू गम्भीर संकटमा परेको भन्दै तत्काल राहतको व्यवस्था गर्न बैठकले माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘तराई मधेशका जल्लाहरू खडेरीले गर्दा किसानहरू पूर्णतया नराम्रोसँग प्रभावित भएको हुनाले किसानहरूको लागि क्षतिपूर्तीको प्याकेज घोषणा गर्न संघीय तथा प्रादेशिक सरकारसँग जोरदार माग गर्ने निर्णय गरियो ।’
बैठकले मधेशका विभिन्न जिल्लामा खानेपानीको हाहाकार हुनुको साथै र चापाकल, इनार र पोखरीहरू सुकेको अवस्थामा भएकाले आम नागरिकलाई खानेपानीको सहज व्यवस्थापन गर्न तिनै तहको सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको अध्यक्ष ठाकुरले उल्लेख गरेका छन् ।
लोसपाले तत्कालीन सरकारले खानेपानी व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ ।
त्यस्तै, तराई–मधेशका जिल्लामा चुरे संरक्षणको विषयलाई दीर्घकालीन दृष्टिले लिनुपर्ने, भूमिगत जलस्रोत संरक्षणका लागि तत्काल कार्यान्वयन हुने योजनाहरू बनाउनुपर्नेमा पनि बैठकले जोड दिएको छ । लोसपाले स्थानीयवासीको सहभागितामा चुरे संरक्षण र जलस्रोत व्यवस्थापनका कार्यक्रम सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् ।
यसैगरी बैठकले तराई–मधेशमा बढ्दो चोरी, डकैती, हत्या र आपराधिक घटनाबारे गम्भीर ध्यानाकर्षण गराउँदै संघीय सरकारले कानुनी राज्यको प्रत्याभूति दिलाउन, आम नागरिकलाई जीवनधनको सुरक्षा प्रदान गर्न माग गरेको छ ।











































































































