गोपाल झा, महोत्तरी, भदौ ४ गते
संघीय लोकतान्त्रिक मोर्चाले गौर घटनाको विषयमा सर्वोच्च अदालतले दिएको परमादेशबारे ध्यानाकर्षण गराउँदै एकपक्षीय र राजनीतिक प्रतिशोधी मानसिकताबाट हुने कुनै पनि कारबाहीको कडा प्रतिकार गर्ने चेतावनी दिएको छ ।
जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीको अध्यक्षतामा काठमाडौं थापागाउँस्थित पार्टी कार्यालयमा बसेको बैठकले सफा नियतका साथ गरिने अनुसन्धानमा आपत्ति नहुने भएपनि एकपक्षीय, राजनीतिक प्रतिशोधी, पूर्वाग्रही र विभेदी मानसिकताले गरिने कुनै पनि कारबाहीको सशक्त प्रतिकार गर्ने निर्णय स्पष्ट पारेको छ ।
परमादेशको पूर्ण पाठ प्राप्त नभएको भए पनि सफा नियत, तटस्थता र कानूनी आधारमा सबैलाई समेटेर निष्पक्ष अनुसन्धान हुने हो भने त्यसप्रति आपत्ति नरहेको मोर्चाले जनाएको छ । तर, तथ्यलाई तोडमोड गरी एकपक्षीय प्रचार गर्ने, व्यक्ति केन्द्रित दुष्प्रचार गर्ने जस्ता गतिविधिले राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको भन्दै मोर्चाले त्यसको विरोध गरेको छ ।
गौर घटनापछि तत्कालीन सरकारले गठन गरेका ललितपुर पुनरावेदन अदालतका न्यायाधीश हरिप्रसाद घिमिरेको नेतृत्वमा बनेको छानबिन आयोग र तत्कालीन सर्वोच्च न्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा बनेको छानबिन आयोगको प्रतिवेदन अझै सार्वजनिक नभएको मोर्चाले स्मरण समेत गराएको छ । साथै, राष्ट्रिय मानव अधिकार आयोगले तीन वर्षअघि प्रकाशित प्रतिवेदनमा घटनाको कारण, जिम्मेवार निकायको हेलचक्राइ, नियोजित उक्साहट र हिंसाको सुरुवात कसले गरेको भन्ने विषयमा प्रष्ट उल्लेख भएको भन्दै यिनै आधारमा अनुसन्धान हुनुपर्नेमा जोड दिएको छ ।
यसैगरि बैठकले रूपन्देही–३ को उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई उम्मेदवार बनाउने जिम्मेवारी दिएको छ । प्रचार–प्रसार र संगठन परिचालनका लागि मोर्चाको सचिवालयलाई विशेष जिम्मेवारी दिइएको छ ।
बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, महासचिव रामकुमार शर्मा र मनिष सुमन, रामुपा नेपालका राजेन्द्र महतो, रामनरेश राय, केशव झा र अनिल महासेठ, लोसपा नेपालका सर्वेन्द्रनाथ शुक्ल, ज्ञानेन्द्र झा, अजय झा र मोहम्मद इस्लाम सहभागी थिए ।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट रेशम लाल चौधरी, जनता प्रगतिशील पार्टी नेपालबाट प्रशान्त ठाकुर र उपेन्द्र उपाध्याय, तथा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)बाट वृषेश चन्द्र लालको उपस्थिति रहेको थियो ।










































































































