गोपाल झा, महोत्तरी, भदौ ४ गते –
जसपा नेपालका नेता कार्यकर्ताहरूले गौर घटनासम्बन्धी सर्वोच्च अदालतको पछिल्लो परमादेशको विरोधमा ग्रामीण क्षेत्रसम्म प्रदर्शन चर्काएका छन् । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा बुधवार साँझ मशाल जुलुससहित कोणसभा सम्पन्न भएका छन् ।
सम्सी बजारमा आयोजित मशाल जुलुस जसपा गाउँ कमिटीका अध्यक्ष कैलाश यादवको नेतृत्वमा र केन्द्रीय सदस्य दिपक झा ‘गुड्डु’को अगुवाइमा सम्पन्न भएको हो । प्रदर्शनमा सम्सी गाउँपालिकाका स्थानीय नेता, कार्यकर्ता र सर्वसाधारणको उल्लेखनीय सहभागिता देखिएको थियो ।
प्रदर्शनकारीहरूका अनुसार, गौर घटनाका नाममा जसपा अध्यक्ष उपेन्द्र यादवलाई राजनीतिक पूर्वाग्रहका आधारमा फसाउने प्रयास भइरहेको छ । उनीहरूले सरकार र सर्वोच्च अदालतको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै चेतावनी दिएका छन् कि यदि वर्तमान सत्ताले मधेश विरोधी रवैया नसुधारे, नयाँ मधेश विद्रोहको सुरुवात हुन सक्ने चेतावनी दिएका छन् । केन्द्रीय सदस्य दिपक झा गुडुले भने, उपेन्द्र यादवमाथि मुद्दा लगाइएर मधेश आन्दोलनको भावना दबाउन खोजिएको आरोप लगाएको छ । कार्यक्रममा वक्ताको रुपमा केन्द्रीय सदस्य दिपक झा गुडु,जसपा नेपालको सम्सी गापा अध्यक्ष कैलाश यादव,सम्सि गाउँपालिकाकी उपाध्यक्ष अनिता यादव लगायतका आफ्नो मन्तवय राखेका थिए ।
यसैबीच, बलवा नगरपालिकाको पडौल बजारमा समेत नगर समितिका अध्यक्ष धिरेन्द्र कुमार यादवको नेतृत्वमा मशाल जुलुस र कोणसभा सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित नेताहरूले “नश्लिय र भूमाफिया प्रवृत्ति“ बोकेको सरकारका विरुद्ध आन्दोलन जारी रहने बताएका छन् । उनीहरूको आरोप छ कि भूमि सम्बन्धी अध्यादेशमा जसपाले समर्थन नदिएको झोकमा उपेन्द्र यादवलाई लक्षित गरिँदैछ ।
गौर घटना विसं २०६३ साल चैतमा घटेको थियो, जसमा तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीबीच भएको झडपमा दर्जनौं मानिसको मृत्यु भएको थियो । घटनाको मुख्य स्थल गौरको राइस मिल परिसरमा दुवै समूहले एउटै समयमा कार्यक्रम राखेका थिए। समय र स्थानको मिलनले तनाव चुलिँदै झडपमा परिणत भएको थियो ।
झडपको १९ वर्षपछि सर्वोच्च अदालतले हालै घटनासम्बन्धी पुनः अनुसन्धानको आदेश (परमादेश) जारी गरेपछि पुनः विवाद चर्किएको छ । जसपा नेताहरूको दाबी छ कि अदालतको निर्णय स्वतन्त्र नभइ राजनीतिक उद्देश्यले प्रेरित छ । जसपा नेता–कार्यकर्ताहरूले वर्तमान केपी ओली नेतृत्वको सरकारमाथि गम्भीर आरोप लगाउँदै भूमि सम्बन्धी अध्यादेशमा समर्थन नदिएको, र संविधान संशोधनका लागि दिएको समर्थनको बदला स्वरूप यादवलाई फसाउन खोजिएको हो ।
मशाल जुलुस र कोणसभाहरूको माध्यमबाट जसपाले विरोधको श्रृंखला ग्रामीण तहसम्म विस्तार गर्न थालेको छ । यद्यपि पार्टी केन्द्रबाट आन्दोलनका विषयमा औपचारिक निर्णय नभए पनि स्थानीय तहका नेता कार्यकर्ताहरू स्वतःस्फूर्त ढंगले सडकमा उत्रिएको देखिएको छ ।
गौर घटनाको अनुसन्धानका नाममा जारी भएको परमादेशले मधेश राजनीतिमा नयाँ तरंग ल्याएको छ । जसपा नेपालका नेता तथा कार्यकर्ताहरू यसलाई ‘राजनीतिक षड्यन्त्र’का रूपमा चित्रित गर्दै आन्दोलनको चेतावनी दिइरहेका छन ।











































































































