
जनकपरधाम, वैशाख ७ । लामो समयदेखि स्तरवृद्धिको माग गर्दै आन्दोलनमा रहेका मधेश प्रदेश अन्तर्गत स्वास्थ्यकर्मी कर्मचारीको समस्या समाधानका लागि स्थानीय (सेवा गठन तथा सञ्चालन) ऐन २०८१ माथिको संशोधन प्रक्रिया सुरु भएको छ ।
मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सो प्रदेश अन्तर्गतका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीको सरुवा, बढुवा लगायतका स्तरवृद्धि सम्वन्धी समस्या समाधानका लागि मधेश प्रदेश सरकारको स्थानीय सेवा गठन तथा संचालन ऐन–२०८१ को संशोधन प्रक्रिया औपचारिकरुपमा सुरुगरेको जनाएको छ ।
मधेश प्रदेशको मन्त्रिपरिषद्कोे कार्यालयवाट जारी सूचनामा उक्त स्थानीय ऐन २०८१ संशोधनका लागि पाँच सदस्यीय समिति गठन भएको जनाएको छ । संशोधन समिति प्रदेशका कानुन सचिवको संयोजकत्वमा गठन भएको हो । समितिले आन्दोलनरत सरोकारवालासँग प्रत्यक्ष छलफल गरेर सो ऐन संशोधन प्रक्रिया सुरु गर्ने जारी सूचनामा उल्लेख छ ।
सो संशोधनको कार्यबाट आन्दोलनमा रहेका मधेश प्रदेशअन्तर्गत चौथो तथा पाँचौँ तहका करिब एक हजार आठ सय स्वास्थ्यकर्मी कर्मचारीको वृत्ति विकासमा सहयोग पुग्ने छ । आन्दोलनरत स्वास्थ्यकर्मी कर्मचारीले पटकपटक आफ्नो सरुवा, बढुवा तथा स्तरवृद्धिलगायत वृत्ति विकासका लागि माग गरेपछि मधेश प्रदेश सरकारको ध्यानाकर्षण भएको कार्यालयका उपसचिव वासुदेव मल्लले बताए ।
मधेश प्रदेशका सिनियर अहेव तथा सिनियर अनमीहरुले आफ्नो वृत्ति विकासको माग गर्दै आएका आन्दोलनरत् स्वास्थ्यकर्मी सङ्र्घष समितिका कोषाध्यक्ष रुपेश साहले बताए ।







































































































