
नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य ललिता कुमारी साहको नाममा रहेको गोदामबाट करिब तीन हजार किलो गाँजा बरामद भएको छ।
सप्तरीको राजविराज नगरपालिका वडा नं ९ (बिहारपुर मलेठ) स्थित पत्रकार साहको नाममा रहेको फलामको किल्ला बनाउने फ्याक्ट्रीको गोदामबाट विभिन्न किसिमका हार्डवेयर समान, म्याद गुर्जिएको डिलक्स ब्राण्डको स्यानिटरी प्याड, लता कपड़ाका साथै बिआर ०- जेबी ९७३५ नम्बरको भारतीय स्कर्पियो, बा.२१च ८६८७ र बा.१३च ७२८८ लेखिएको खाली नम्बर प्लेट र डब्लु बि १५५८ नम्बरको अल्टो कार समेत बरामद भएको हो।

फेला परेको स्कोर्पियोमा सिट रहेको छैन। राजविराज रुपनी सडक खण्डमा काम विशेषले जाँदै गरेका सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाल नेतृत्वको टोलीले उक्त गोदामबाट ट्रकमा लोड गर्दै गरेको बोराको समान शंकास्पद लागेपछि गाड़ी रोकी गोदाम नजिक पुगी सोध खोज गरेका थिए। शंका लागेपछि गोदामका मालिकलाई बोलाए पनि आउन नमानेपछि प्रहरी लगाएर गोदामको ताल्चा तोडी खानतलासी गर्दा करिव तीन हजार किलो भन्दा बढीको लागु औषध गाँजा बरामद भएको हो।

बरामद भएको गाँजा तौल गर्ने कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ। गोदाम र बरामद भएको समानबारे थप अनुसन्धान भइरहेकोले तत्कालै केही प्रतिक्रिया दिन सकिने सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो।
अहिले उक्त गोदाम र माल लोड गर्दै गरेको दुई वटा ट्रक लगायतका सामान प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ। १३९ कार्टुन स्याउ पनि बरामद गरेको छ। गोदाममा रहेको अन्य बोरा खोल्ने काम प्रहरीले अहिले पनि गरिरहेकोले थप विवरण अझै आउन बाँकी रहेको प्रहरीले जनाएको छ।







































































































