१३ फागुन, काठमाडौं । कुनै समय रेडियो नेपालबाट विज्ञापन बज्थ्यो, ‘तपाईंले चूडामणि गौतमको ग्रामर पढ्नुभयो त ?’ हुन पनि गौतमको ग्रामर यति लोकप्रिय थियो कि एसएलसीको तयारीमा रहेका विद्यार्थीको हातहातमा हुन्थ्यो ।
सरल र बुझ्न सजिलो भएकोले उनका किताब विद्यार्थीको रोजाइमा थियो । उनले लेखेको ग्रामर पढेर एसएलसी उत्तीर्ण भएका विद्यार्थी अहिले पनि छन् । गौतम ‘ग्रामर गुरु’का रुपमा समेत परिचित थिए ।
उनै ‘ग्रामर गुरु’ सोमबार ८१ वर्ष (विसं २०००-२०८१) को उमेरमा अस्ताए ।
‘गौतमको ग्रामर किताब अत्यधिक ब्रिकी भएको थियो । रेडियोमा विज्ञापन नै बज्थ्यो । २०३० सालपछि उहाँको किताब अत्यधिक चल्यो । उहाँका ग्रामर विद्यार्थीका लागि बुझ्न सरल थियो,’ त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका पूर्वप्रमख खगेन्द्रप्रसाद लुईँटेल गौतमलाई सम्झन्छन्, ‘उहाँ भाषामा लामो साधना गरेको व्यक्ति हुनुहुन्थ्यो ।
अंग्रेजी भाषालाई पृष्ठभूमि बनाएका गौतम पछिल्लो समय नेपाली भाषा जोगाउने अभियानमा क्रियाशील थिए । उनले २०७९ भदौ ११ गते ‘बृहत्तर नेपाली शब्दकोश’ विमोचन गरेका थिए । त्यसअघि ‘विवादित वर्णविन्यासको नेपाली शब्दकोश’ पनि सार्वजनिक गरेका थिए ।
पूर्वी पहाडको दुर्गम जिल्ला तेह्रथुमको अठराईमा जन्मिएका गौतमले बाल्यकाल दुःखमा बित्यो । गौतमका भान्जा प्राडा रमेशप्रसाद भट्टराईका अनुसार उनका ८ दाजुभाइको जन्मनेबित्तिकै मृत्यु भएको थियो । त्यसपछि एक छोरी र चूडामणि जन्मिए । सानै उमेरमा गौतमले बुबालाई पनि गुमाएका थिए । परिवारको मियो नै नभएपछि उनको बाल्यकाल दुःखमा बितेको थियो ।
‘२००६–००७ सालतिर गौतमका बुबाको सम्पत्ति लुटियो । लुटेराले खाने थाल लुटेर लगे । बुबा बितेपछि उहाँले बाल्यकालदेखि नै डेरामा दुःख गरेर पढ्नु भएको थियो,’ भान्जा भट्टराईले भने ।
गौतमको अभिभावकको जिम्मेवारी प्राडा रमेश (भान्जा)का बुबा श्रीप्रसाद भट्टराईले लिएका थिए । ‘मेरो बुबा जागिरे हुनुहुन्थ्यो । मामालाई बुबाले नै सहयोग गर्नुभएको हो,’ भट्टराईले भने ।
बाल्यकालदेखि नै गौतमको साहित्यमा झुकाव थियो । गौतमको १६ वर्षकै उमेरमा विवाह भयो । ‘उहाँ विवाह मण्डपमै कविता भन्नुहुन्थ्यो । सानै उमेरमा कविता संग्रह लेख्नुभएको थियो । गीत पनि गाउनुहुन्थ्यो । उहाँमा बहुप्रतिभा थियो,’ भट्टराईले भने ।
तेह्रथुमकै स्कुलबाट एसएलसी उत्तीर्ण गरेका थिए गौतमले । ‘त्यो समयमा गाउँबाट नै एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण हुनुभएको थियो,’ भट्टराईले भने ।
उनले आफ्नो आत्म संस्मरणमा विवाहबारे पनि लेखेका छन् । रोचक किस्सा उनको संस्मरणमा छ । ‘१६–१७ वर्षको उमेर बिहे भयो । म किशोर केटो । घरमा बच्चा जन्मियो भनेपछि लाज लाग्यो,’ गौतमले आत्म संस्मरणमा लेखेका छन् ।
विद्यालयमा कथा-कविता लेख्ने र सुनाउने गर्थे गौतम । एसएलसीपछि आईएस्सी पढ्न विराटनगर आएका थिए । स्नातक तहको अध्ययनपछि गौतमले विद्यालयमा केही समय पढाए पनि । २०३६ सालदेखि भने उनले व्याकरण लेख्न थालेका थिए । ‘काठमाडौं आएपछि शब्दकोष लेख्नुभयो । भाषा जोगाउन लाग्नुभयो,’ भट्टराईले भने ।
जीवनको अन्तिम प्रहरमा उनी कथासंग्रह सार्वजनिक गर्ने योजनामा थिए । उनको कथासंग्रह तयार भएर प्रेसमा समेत गइसकेको छ । तर कथासंग्रह सार्वजनिक गर्ने योजना भने अधुरो नै रह्यो । ‘उहाँको कथा संग्रह प्रेसमा गएको थियो । फागुनमा सार्वजनिक गर्ने योजना थियो,’ भट्टराईले भने ।
कलेजोको समस्या रहेका गौतमले सोमबार मेडिसिटी अस्पतालको शैय्यामा अन्तिम सास फेरे । ‘कलेजोमा समस्या थियो । उपचारको क्रममा निधन भयो,’ भट्टराईले भने ।
गौतमको निधनले भाषा तथा साहित्यमा ठूलो क्षति पुगेको छ । ‘शब्दकोषमा भएको गल्ती सच्याउनुहुन्थ्यो । भाषा विज्ञ र भाषाको अभियन्ता हुनुहुन्थ्यो । नेपाली तथा अंग्रेजी भाषा-साहित्यका लागि ठूलो नोक्सानी भएको छ,’ गौतमका नाति घनेन्द्र ओझाले भने ।
काठमाडौं डिल्लीबजारमा बस्दै आएका गौतमको एक छोरी र एक छोरा छन् । गौतमको सोमबार नै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।








































































































