जनकपुर, फागुन १० – नेकपा (एमाले) धनुषा जिल्ला कमिटीको आयोजनामा जनकपुरधाममा वडा केन्द्रित पार्टी निर्माण अभियान अन्तर्गत विशेष कार्यक्रम सम्पन्न भएको छ। पार्टी सुदृढीकरणका लागि सञ्चालन गरिएको यो अभियानको समापन कार्यक्रममा विभिन्न नेताहरूले आफ्ना धारणा राखेका थिए।
कार्यक्रम नेकपा (एमाले) धनुषा जिल्ला अध्यक्ष राजकिशोरको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि नेकपा (एमाले) का केन्द्रीय सचिव रघुवीर महासेठले वर्तमान सरकार नेकपा (एमाले) र कांग्रेसको गठबन्धनमा रहेको बताउँदै मुलुकको समृद्धि र विकासका लागि एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले संगठनलाई बलियो बनाउन कार्यकर्ताहरूको भूमिका महत्त्वपूर्ण रहेको औंल्याउँदै अनुशासन र सक्रियतामा जोड दिनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले कार्यक्रममा उपस्थित कार्यकर्ताहरूलाई १० बुँदे निर्देशन दिएका थिए। उनले पार्टी सुदृढीकरणका लागि अनुशासन, सक्रियता र जनतासँग निरन्तर सम्पर्क आवश्यक रहेको बताए। पार्टीको संगठन विस्तार तथा बलियो बनाउन कार्यकर्ताहरूलाई सक्रियरूपमा सहभागी हुन आग्रह गरे।
त्यस्तै, मधेस प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठले ‘मिसन चौरासी’ सफल पार्न सबै कार्यकर्ताले आफ्नो स्तरबाट सक्रिय भूमिका खेल्नुपर्ने बताउँदै पार्टी संगठनलाई बलियो बनाउन एकताबद्ध प्रयासको खाँचो औंल्याउनुभयो। उहाँले पार्टी संगठनलाई व्यवस्थित, अनुशासित र परिणाममुखी बनाउन विशेष योजना आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा धनुषा जिल्ला इन्चार्ज जुलीकुमारी महतोले चैत महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने निर्देशन दिँदै सबै कमिटीहरूलाई तयारीमा जुट्न आह्वान गरिन्। उनले पार्टी संगठनको सुदृढीकरणका लागि समर्पित भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताइन्।
कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारी, जिल्ला तथा वडा तहका कार्यकर्ता सहित स्थानीय नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूबीच संगठन विस्तार, चुनावी रणनीति र जनसम्बन्धलाई कसरी मजबुत बनाउने भन्ने विषयमा विस्तृत छलफल भएको थियो।
वडा केन्द्रित पार्टी निर्माण अभियानले संगठनलाई जनस्तरमा बलियो बनाउन सहयोग पुर्याउने नेताहरूको धारणा थियो। कार्यक्रममा नेताहरूले युवा तथा नयाँ कार्यकर्ताहरूलाई पार्टीप्रति आकर्षित गर्न सक्ने योजना ल्याउनुपर्नेमा जोड दिए। जनताको भावना बुझेर उनीहरूलाई पार्टीसँग जोड्ने रणनीति बनाउन आवश्यक रहेको नेताहरूले बताए।
यस अभियान अन्तर्गत धनुषा जिल्लाका विभिन्न वडाहरूमा जनचेतना कार्यक्रम, कार्यकर्ता प्रशिक्षण तथा संगठन विस्तार अभियान सञ्चालन गरिएको थियो। स्थानीय स्तरमा पार्टीलाई अझ मजबुत बनाउन सक्ने उपायहरूबारे पनि छलफल भएको थियो। अभियानको समापनसँगै पार्टीले आगामी गतिविधिहरूलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।








































































































