२८ माघ, पोखरा । एक जना भारतीय नागरिकले बहुमूल्य गरगहना अवैध रुपमा लिएर हिँडेको सुराक कास्कीका २ जना घुमुवा प्रहरीले पाउँछन् । निगरानी गर्दै जाँदा शंकास्पद नै देखिएपछि घुमुवा प्रहरीले ती भारतीय नागरिकलाई समाउँछन् र खानतलासी गर्छन् ।
भारतीय नागरिकको साथबाट हिराजस्तै देखिने ६ थान धातु फेला पर्छ । घुमुवा प्रहरीले त्यो हिरा राख्छन् र भारतीय नागरिकलाई छाडिदिन्छन् । त्यो धातु कहाँ लगियो र अब कसरी कारबाही प्रक्रिया अगाडि बढ्छ भन्ने अन्योलबीच एक दिन बित्छ । आफूबाट हिरा लगिएको २ दिनपछि ती भारतीय नागरिकले प्रदेश प्रहरी कार्यालय गण्डकीमा उजुरी गर्छन् र भन्छन्, ‘प्रहरी हुँ भन्दै मसँग भएको हिरा २ जनाले लिएर गए ।
सूचना प्राप्त हुनासाथ प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयसँग यस विषयमा सोधिखोजी गर्यो । तर जिल्लाले घटनाबारे अनविज्ञता देखायो । ‘हामीलाई खबर आउनेबित्तिकै जिल्लामा बुझ्यौं, सोधिखोजी गर्यौं,’ प्रदेश प्रहरी प्रमुख भोलाबहादुर रावलले भने, ‘यो घटना नै शंकास्पद लागेपछि थप कारबाही प्रक्रिया अगाडि बढायौं ।’
प्रदेश प्रहरीमा उजुरी गर्ने भारतीय नागरिक प्रशान्त सिंहलाई प्रहरीले पक्राउ गर्यो र उनीसँग हिरा लिने प्रहरीसँग पनि सोधपुछ गर्यो । घुमुवा प्रहरीले सिंहबाट ६ वटा हिरा लिएको तर कमाण्ड सम्हाल्ने अधिकारीलाई जानकारी नै नदिई गुपचुप राखेको पत्ता लाग्यो ।
पोखरामा केही दिन अगाडि घटेको घटना हो यो ।
भारतीयबाट हिरा लिएर उपल्लो निकायमा रिपोर्टिङ नगरेको खुलेको भोलिपल्टै प्रहरीले सहायक हवल्दार धनप्रसाद थापा र जवान दलबहादुर खड्कालाई निलम्बन गर्यो भने पक्राउ परेका भारतीय नागरिक र प्राप्त हिरा राजस्व अनुसन्धान कार्यालय काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ ।






































































































