• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

राजनीतिज्ञ र पुँजीपतिको खतरनाक गठबन्धनले पत्रकारितामा चुनौती थपिरहेको छ’


नरेश ज्ञवाली
‘राजनीतिज्ञ र पुँजीपतिको खतरनाक गठबन्धनले पत्रकारितामा चुनौती थपिरहेको छ’

भारतको केन्द्रीय सत्ताको नेतृत्व भारतीय जनता पार्टी (भाजपा) ले गर्छ । भाजपाको वैचारिक नेतृत्व उसको मातृ संगठन राष्ट्रिय स्वंयसेवक संघ (आरएसएस) ले गर्छ । अढाइ एकड क्षेत्रफलमा फैलिएको अत्याधुनिक सुविधाम्पन्न आरएसएस मुख्यालय ‘केशवकुञ्ज’ दिल्लीको झन्डेवालानमा छ । र, त्यही झन्डेवालानमा भारतबाट प्रकाशित हुने त्यस्तो पत्रिकाको कार्यालय पनि छ, जसले प्रधानमन्त्री कार्यालय रैसिना हिलदेखि आरएसएस मुख्यालय केशवकुञ्ज र नागपुरलाई एकैपटक चुनौती दिने साहस राख्छ ।

सत्ताका प्रतिनिधिहरू सुविधासम्पन्न केशवकुञ्जमा छलफल गर्छन् तर सत्तामाथि सवाल उठाउने पत्रिका भने झन्डेवालानको तीनतले पुरानो भवनबाट प्रकाशित हुने गर्छ । पत्रिकाको नाम हो– ‘द क्याराभान : अ जर्नल अफ पोलिटिक्स एन्ड कल्चर’ । पत्रकारिताको भाषामा यसले ‘लङ–फर्म न्यारेटिभ जर्नालिजम’ गर्छ । अंग्रेजीमा प्रकाशित हुने क्याराभान म्यागजिन मासिक पत्रिका हो । यो भारतको त्यस्तो न्यून पत्रिकाहरूमा नामाङ्कित छ, जसले सत्तालाई निडर भई प्रश्न गर्छ । पत्रिकाका कार्यकारी सम्पादक हरतोष सिंह बललाई भारतमा धेरैले निडर पत्रकारका रूपमा चिन्छन् । पत्रिकाको सम्पादकीय नेतृत्व उनैले गरिरहेका छन् । आजको समयको पत्रकारिता र यसका चुनौतीबारे पत्रकार मात्रैले होइन, आम पाठकले पनि थाहा पाउनुपर्छ भन्ने ध्येयले उनीसँग लामो कुराकानी गरिएको छ । क्याराभानमा कार्यकारी सम्पादक हुनुअघि उनी यसै पत्रिकामा राजनीतिक सम्पादक थिए ।

क्याराभानको जिम्मेवारी सम्हाल्नु अघि हरतोष सिंह बल सन् २०१३ मा भारतबाटै प्रकाशित हुने ‘ओपन म्यागजिन’मा राजनीतिक सम्पादक थिए । तर, व्यवस्थापनले उनलाई राम्रो रकमसहित राजीनामा दिन प्रस्ताव राख्यो । कारण थियो— उनको आलोचनात्मक कलम । भारतको केन्द्रीय सत्तामा भाजपा आउने निश्चितप्रायः भइसकेको थियो र उनले त्यसै पार्टीको आलोचनामा लामा–लामा रिपोर्टिङ प्रकाशित गरेका थिए । त्यसो त उनले सत्ताधारी पार्टी कांग्रेसको आलोचनमा पनि रिपोर्टिङ प्रकाशित गरेका थिए तर पत्रिकाका मालिक सञ्जीव गोयनकाको मारमा परे उनी । गोयनकाका अनुसार हरतोषले लेखनीका माध्यमबाट राजनीतिक दुश्मन बढाउन थालेपछि उनलाई निष्कासित गर्नुको विकल्प रहेन । हरतोषले पत्रिकाको व्यवस्थापनले गरेको निर्णयविरुद्ध सम्झौता गर्नुको सट्टा संघर्ष गर्ने बाटो रोजे । त्यसपछि उनले लामो कानुनी लडाइँ लडे । सन् २०१३ को नोभेम्बरमा उनलाई बर्खास्त गरिएको पत्र दिइएको थियो र ठ्याक्कै त्यसको एक महिनाअघि अक्टोबरमा भारतबाट प्रकाशित हुने अंग्रेजी दैनिक ‘द हिन्दु’ का सम्पादक सिद्धार्थ बरदराजनलाई राजीनामा गर्न बाध्य पारिएको थियो । यो दुवै– बर्खास्तगीलाई राजनीति र कलमबिचको द्वन्द्वका रूपमा हेरियो ।

हरतोष क्याराभानका कार्यकारी सम्पादक हुनुका साथै अमेरिकाबाट प्रकाशित हुने ‘द न्युयोर्क टाइम्स’का स्तम्भकार हुन् । न्युयोर्क विश्वविद्यालयको ‘कुरेन्ट इन्टिच्युट अफ म्याथमेटिकल साइन्स’बाट एमएसको अध्ययन गरेका उनी ‘वाटर क्लोज ओभर अस : अ जर्नी अलङ द नर्मदा’ पुस्तकका लेखक हुन् । साथै गौरव सुरीसँगको सह–लेखनमा उनको ‘अ सर्टेन एम्बिग्युटी : अ मेथमेटिकल नोभेल’ पुस्तक प्रकाशित छ । यस पुस्तकले सन् २००७ मा एसोसिएसन अफ अमेरिकन पब्लिसर्स सम्मान पनि हासिल गरेको छ । उनै हरतोषसँग क्याराभान म्यागजिनको केन्द्रीय कार्यालय, झन्डेवालान पुगेर नरेश ज्ञवालीले गरेको कुराकानी ।

  • विश्वभर मूलधारका मिडियामा कर्पोरेट कम्पनीहरू हाबी हुन थालेसँगै स्थानीय पत्रकारिता फस्टाउँदै गएको छ । तथापि उनीहरूले आफ्नो अस्तित्व जोगाउन कठोर संघर्ष र सम्झौता गर्नुपरिरहेको छ । आजका दिन स्थानीय पत्रकारिताको महत्त्व के छ र त्यसलाई कसरी जोगाउन सकिन्छ ? 

‘स्थानीय पत्रकारिता’ शब्द प्रयोग गरेर तपाईंले जहाँ इंगित गर्न खोज्नुभएको छ, त्यसलाई म साना वा इन्डिपेन्डेन्ट (स्वतन्त्र) सञ्चारमाध्यम भनी सम्बोधन गर्न चाहन्छु । स्थानीय सञ्चारमाध्यम भन्दा त्यस्ता मिडिया संस्थानबारे बुझाइ बन्ला, जसले स्थानीय समाचार मात्रै प्रस्तुत गर्छन् तर तपाईंले समाचार त सबैखाले, सबैतिरको पस्कन सक्नुहुन्छ । खासमा मूलधारको ठुलो सञ्चार संस्था चलाउन धेरै अर्थतन्त्र खर्च हुन्छ । त्यो अर्थतन्त्र मूलतः कि ठुलो पुँजीपतिको निवेशबाट आउँछ वा कर्पोरेट हाउसबाट ।

मूलधारको मिडियाको हकमा कुरा गर्ने हो भने त्यो मिडिया हाउस सञ्चालन गर्नका लागि कि त मालिकसँग धेरै पैसा हुनुपर्‍यो, जुन उसले यहाँ खन्याओस् । उदाहरणका लागि भारतमा रिलायन्स इन्डस्ट्रियल लिमिटेड (मुकेश अम्बानी), अडानी ग्रुप (गौतम अडानी) जस्ता कर्पोरेट हाउसहरूले मिडियामा लगानी गरेका छन् । उनीहरूको मूल उद्योग प्राकृतिक ग्यास, पेट्रोलियम, ऊर्जा क्षेत्र हो । रिलायन्सले मात्रै भारतका ७२ वटा टेलिभिजन च्यानलमा र अडानी ग्रुपले एनडीटीभीमा नियन्त्रण कायम गर्छन् । यसै गरी मिडिया हाउसको अर्को आम्दानीको ठुलो हिस्सा सरकारी विज्ञापन हो ।

Ratopati Games

hartosh singh bal (1)

अब प्रश्न उठ्छ— कर्पोरेट हाउस र सरकारको स्वार्थलाई तपाईंले मिडियामार्फत पूर्ति नगर्ने हो भने के हुन्छ ? जुन कर्पोरेट हाउसहरूले मिडियामा लगानी गरेका छन्, उनीहरूको खास आम्दानीको क्षेत्रमा धक्का लाग्ने गरी तपाईंले रिपोर्टिङ गर्नुभयो भने के हुन्छ ? अर्थात् त्यो त गर्नै मिलेन । त्यसैले लगानीको यो खाले मोडलले मूलधारको मिडियालाई पत्रकारिताबाट च्युत गराइसकेको छ । भन्नुको अर्थ जतिबेला चाह्यो त्यति बेला सरकारले र कर्पोरेट हाउसले तपाईंलाई चुप गराउन सक्छन् । त्यही भएर भारतका अधिकांश मिडियामा काम गर्नेहरूले यी कसैसँग जोरी नखोजीकन उनीहरूसँग सम्झौता गर्ने नीति लिए ।

मूलधारका मिडियामा विज्ञापनको जुन मोडल अपनाइएको छ, त्यो पनि निकै तरल छ । भन्नुको अर्थ तपाईंको सञ्चारमाध्यममा विज्ञापन कहाँबाट आउँछ ? पहिलो, व्यापारिक संस्थाहरूबाट । दोस्रो, सरकारबाट । तर, तपाईं सरकारले गरेको निर्णयको विपक्षमा हुनुहुन्छ भने सरकारले आफूले दिने विज्ञापन रोक्छ नै, तपाईंलाई विज्ञापन दिइरहेका व्यापारिक संस्थाहरूले पनि विज्ञापन नदेओस् भनेर उनीहरूलाई हतोत्साहित पार्छ । सरकार र त्यसका विभिन्न संयन्त्रहरूले त्यस्तो वातावरण निर्माण गरिदिन्छन्, जसले गर्दा व्यापारिक संस्थाहरू पनि तपाईंलाई विज्ञापन दिन हच्किन्छन् ।

उदाहरणका लागि तपाईंले क्याराभान म्यागजिन हेर्नुस् न । हामीले गर्दै गरेको पत्रकारितालाई धेरैले सराहना गर्ने गर्छन् तर विज्ञापन दिन सबै डराउँछन् । कसैले विज्ञापन दियो भने पनि उनीहरूले सरकारको वक्रदृष्टिको सामना गर्नुपर्ने हुन्छ । भारतको हकमा कुरा गर्नुहुन्छ भने अवस्था कस्तो छ भने न त मूलधारका मिडियामा यहाँ पत्रकारिता बाँकी छ । न त तपाईंसँग आफ्नो खुट्टामा उभिएको स्वतन्त्र मिडिया छ । यस्तोमा स्वतन्त्र मिडिया तपाईंले के गरी चलाउनुहुन्छ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।

  • यो अवस्था विश्वभरकै हो वा भारतको मात्रै ?

उदारीकरणका बाबजुद भारतीय अर्थतन्त्रमा सरकारको ठुलो नियन्त्रण कायम छ । व्यापारिक घरानाहरू सरकारभन्दा भिन्दै उभिएर अघि बढ्न सक्ने अवस्था नै छैन । एकैछिनलाई मानिलिनुस्, तपाईं ‘पोर्ट’ किन्न चाहनुहुन्छ वा ठुलै उद्योग स्थापना गर्न चाहनुहुन्छ भने तपाईंले सरकारलाई दाहिना नपारी आफ्नो बिजनेस स्थापित गर्नै सक्नुहुन्न । भोलिका दिन तपाईंले सरकारको आलोचना गरिदिनुभयो भने सरकार तपाईंको पछि लाग्न सक्छ । तपाईंको घरमा, कार्यालयमा आयकर विभागको छापा पर्न सक्छ । सरकारका अन्य संयन्त्रले तपाईंलाई अनावश्यक दुःख दिन सक्छन् । अर्थात् यसको कुल योग तपाईंको व्यापार चौपट हुन सक्छ ।

न्युयोर्क टाइम्स, वासिङटन पोस्ट र बीबीसीले गाजामा भइरहेको अमानवीयताको विषयलाई कभर गरिरहेका छैनन् किनभने उनीहरूको सम्पादकीय निर्णयमा इजरायली लबी हाबी छ ।

अमेरिकाको हकमा हेर्ने हो भने सरकारको आलोचना गरेकै भरमा तपाईंले आफ्नो सटर बन्द गरेर घर जानुपर्दैन । मिडियाको हकमा कुरा गर्ने हो भने कर्पोरेट हाउसबाट हुने अप्ठेरो त्यहाँका मिडियाले पनि सामना नगरेका होइनन् । समस्या उनीहरूले पनि भोगिरहेका छन् । हाम्रै स्तरमा त होइन तर उनीहरूले पनि ठुलै स्तरमा चुनौतीको सामना गरिरहेका छन् । यति हुँदाहुँदै पनि त्यहाँ मूलधारका मिडियाले काम गरिरहेकै छन् । हाम्रो देशमा न्युयोर्क टाइम्स, वासिङटन पोस्ट, न्युयोर्करजस्ता कुनै मिडिया छैनन् ।

म तिनीहरूलाई सबै मानेमा स्वतन्त्र मिडिया भन्दिनँ । न्युयोर्क टाइम्स, वासिङटन पोस्ट र बीबीसीले गाजामा भइरहेको अमानवीयताको विषयलाई पनि कभर गरिरहेका छैनन् । किनभने उनीहरूको सम्पादकीय निर्णयमा इजरायली लबी हाबी छ । वासिङटन पोस्टले थोरै गर्ने प्रयास गरे पनि त्यो समेत पर्याप्त छैन भन्न हिचकिचाउनुपर्दैन तर भारतको भन्दा थोरै भए पनि त्यहाँको अवस्था राम्रो छ । त्यहाँको मूलधारको मिडिया सीएनएन हेर्नुस् त, कम्तीमा उनीहरूको हालत यहाँको ‘टाइम्स नाव’ र ‘रिपब्लिक न्युज’को जस्तो त छैन । त्यहाँको पब्लिक टेलिभिजन पीबीएस, नेसनल पब्लिक रेडियो, जहाँ राज्यको लगानी छ, त्यसले समेत अलिकति स्वतन्त्र काम गरिरहेको पाउनुहुन्छ । समग्रमा भन्दा यहाँको भन्दा धेरै राम्रो अवस्था छ ।

hartosh singh bal (4)

  • तपाईंले भन्न खोजेको स्वतन्त्र मिडिया र स्वतन्त्र पत्रकारिता कस्तो हो ?

जहाँसम्म स्वतन्त्र मिडियाको कुरा छ, मैले भन्न खोजेको के भने तपाईंले कसैको पनि प्रेसरमा काम गर्नु नपरोस् । कसैले अह्राएर तपाईंले काम गर्नु नपरोस् । न तपाईंले विज्ञापनदातालाई खुसी बनाउने प्रयास गर्नुपरोस्, न त सरकारलाई र कर्पोरेट हाउसलाई । तपाईंले गर्ने मात्रै पत्रकारिता हो । तपाईंको रुचि पत्रकारितामा छ भने तपाईंका निर्णय पनि पत्रकारिताकै दायरा र मानकभित्र रहेर गरिनु परोस् ।

जर्नालिस्टिक भ्यालुजमा रहेर तपाईंले काम गर्ने हो, न कि कसैलाई खुसी पार्नका लागि । एउटा त तपाईंमा ‘प्रोफेसनल जर्नालिस्टिक भ्यालुज’ हुनुपर्‍यो । तपाईंको रिपोर्टिङ सही हुनुपर्‍यो । तपाईंको फ्याक्ट चेकिङ सही हुनुपर्‍यो । लेख लेख्दै हुनुहुन्छ भने त्यसको तुक, तर्क, तथ्यांक सही हुनुपर्‍यो । तपाईंले रिपोर्टिङ गर्नुभएको छ वा कसैसँग कुराकानी गर्नुभएको छ भने त्यो सबै सम्पादकीय मूल्यमा रहेर गरिएको होस् । त्यो सम्पादन प्रक्रियाबाट निफनिएर प्रकाशित गर्नका लागि तयार भएको भएको होस् ।

मिडिया लोकतन्त्रको आधारस्तम्भ हो भन्दाभन्दै पनि संविधान निर्माणका बेला मिडियाको ढाँचा कस्तो हुनुपर्छ भनेर छलफल गर्न छुटाइयो । लोकतन्त्रलाई बलियो बनाउन कार्यपालिका, न्यायपालिकाबारे छलफल गरियो तर मिडियाबारे कुरै गरिएन ।

हाम्रो काम भनेको शक्तिमा रहेको व्यक्तिलाई निगरानी गर्ने हो । स्थानीय स्तरमा रहेर काम गर्दै गरेको राजनीतिज्ञ होस् वा केन्द्रीय स्तरमा । सानो व्यापारी होस् वा ठुलो व्यापारी, हाम्रो काम उसको निगरानी गर्नु हो, तर कैयौँ मानिस वा पत्रकारिता गर्दै गरेको व्यक्ति नै भन्ने गर्छन्— पत्रकार ‘न्युट्रल’ हुनुपर्छ । मलाई लाग्छ, न्युट्रल भन्नेजस्तो बेतुकको कुरा केही होइन । न्युट्रलका नाममा सरकार, कर्पोरेट हाउसले गर्दै गरेको राम्रो कामको प्रचार गर्नका लागि हाम्रो पत्रकारिताको मसी सुकाउनुको कुनै अर्थ छैन । त्यसका लागि सरकारका आफ्ना एजेन्सी छन् । त्यसका लागि सबै देशमा सरकारी नियन्त्रणका आफ्नै मिडिया छन् । उसले सरकारको राम्रो कामबारे प्रचार गरिहाल्छ नि !

हाम्रो काम सरकारले नागरिकको पक्षमा काम गरेको छ कि छैन ? सकेको छैन भने कमजोरी कहाँ भइरहेको छ ? सरकारले गर्ने निर्णय नागरिकको पक्षमा छन् कि छैनन् भन्नेमा केन्द्रित हुनुपर्छ । हाम्रो काम निगरानी गर्नु हो । लोकतन्त्रको एउटा आधार स्तम्भ सञ्चारमाध्यम हुन भनेर मान्ने हो भने सञ्चारमाध्यम लोकतन्त्रको चेक एन्ड ब्यालेन्स हो । त्यो नै तपाईंको पत्रकारिताको वास्तविक धरातल हुनुपर्छ ।

यसका साथै पत्रकार र सञ्चार–माध्यमका आफ्ना केही मान्यता र अडान हुन सक्छन् । जस्तै : वैचारिक अडान । उदाहरणका लागि भारतको राजनीतिमा भाजपा र नरेन्द्र मोदी शक्तिमा आइपुगेका छन् । उनीहरूको वैचारिकीदेखि नै हामीलाई नफरत छ । उनीहरू सुरुदेखि नै निश्चित समुदाय र व्यक्तिका खिलाफ समाजमा विषाक्त विचार फैलाइरहेका छन् । उनीहरू हिन्दुत्वको विचारधारा अघि बढाउन ‘स्लोमोफोबिया’ फैलाउने गर्छन् । यसै कारण भारतीय समाज झन्–झन् असहिष्णु बन्दै गइरहेको छ । त्यसको आलोचना गर्नु हामी आफ्नो कर्तव्य ठान्छौँ । भाजपाको विरोध गर्छौं भन्नुको अर्थ कांग्रेस शक्तिमा आयो भने उसको आलोचना गर्दैनौँ भन्ने होइन । हामीले कांग्रेसको पनि निगरानी गर्नुपर्ने हुन्छ, यही त हाम्रो काम हो ।

यही काम गर्दा हामीले विज्ञापन पाउँदैनौँ भने यस मोडलमा समस्या पर्नु स्वाभाविक हो ।

  • स्वतन्त्र मिडिया सञ्चालन गर्ने मोडल कस्तो हुन सक्छ ? केही विचार गर्नुभएको छ ? 

यही नै आजको प्रधान प्रश्न हो । त्यसका लागि हामी केही हदसम्म पाठक/दर्शक/स्रोतामाथि निर्भर हुनैपर्छ । कसैले पनि हाम्रो पत्रकारिता मन पराइरहेका छैनन् । पढ्न, हेर्न चाहँदैनन् र हामीलाई आर्थिक सहयोग गर्दैनन् भने त्यस्तो परिस्थितिमा पत्रकारिता फस्टाउन सक्दैन । यसको अर्को पाटो पनि छ, जसबारे हामीले कहिल्यै छलफल गरेनौँ । सन् ४० को दशक जतिबेला भारतको संविधान निर्माणका लागि छलफल चल्दै थियो, त्यति नै बेला महत्त्वपूर्ण विषयमा छलफल गर्न छुटायौँ हामीले ।

हाम्रो काम शक्तिमा रहेको व्यक्तिलाई निगरानी गर्ने हो । स्थानीय होस् वा केन्द्रीय राजनीतिज्ञ, सानो होस् वा ठुलो व्यापारी, हाम्रो काम उसको निगरानी गर्नु हो तर पत्रकारिता गर्दै गरेका व्यक्ति नै भन्छन्— पत्रकार ‘न्युट्रल’ हुनुपर्छ । न्युट्रल भन्नेजस्तो बेतुकको कुरा केही होइन । सञ्चार माध्यम लोकतन्त्रका आधारस्तम्भ हुन भने यस विषयमा सञ्चार क्षेत्रले मात्रै चिन्तन गरेर पुग्दैन ।

मिडिया लोकतन्त्रको आधारस्तम्भ हो भन्दाभन्दै पनि संविधान निर्माणका बेला हाम्रो लोकतन्त्रमा मिडिया र मिडियाको ढाँचा कस्तो हुन्छ भनेर छलफल गर्न छुटाइयो । लोकतन्त्रलाई बलियो बनाउन कार्यपालिका, न्यायपालिकाबारे पर्याप्त छलफल गरियो तर मिडियाबारे कुरै गरिएन । प्रभावकारी मिडिया संस्थानबिना संवैधानिक लोकतन्त्र चल्नै सक्दैन । त्यही भएर यसबारे कुरा नगरी हुँदैन । त्यसैले मलाई लाग्छ, मिडिया र यसको ढाँचाबारे संविधानमै स्पष्ट उल्लेख गरिनुपर्छ । तपाईंहरूले भर्खरै नयाँ संविधान निर्माण गर्नुभएको छ, मलाई के विश्वास छ भने तपाईंहरूले यस विषयमा पक्कै गम्भीर छलफल गर्नुभयो होला ।

भारतको हकमा कुरा गर्ने हो भने अंग्रेजकै पालामा पुँजीपतिहरूको लगानीमा जति अखबार खोलियो आज पनि तिनै चलिरहेका छन् । त्यहाँदेखि अहिलेसम्म यसको ढाँचा फेर्नका लागि कुनै प्रयत्न गरिएन, जब कि यो महत्त्वपूर्ण छ भन्ने पनि तपाईंलाई थाहा छ । मैले यसलाई भारतको गम्भीर चुक भन्ने गरेको छु । त्यसैले देशमा थोरै मात्र पनि लोकतान्त्रिक र गम्भीर सरकार आयो भने हामीले यस विषयमा विचार गर्नुपर्नेछ । सञ्चारमाध्यम लोकतन्त्रका आधारस्तम्भ हुन भने यस विषयमा सञ्चार क्षेत्रले मात्रै चिन्तन गरेर पुग्दैन ।

hartosh singh bal (7)

  • सञ्चारमाध्यम र पत्रकारिता एउटै हो वा यसलाई भिन्न–भिन्न रूपमा बुझ्नुपर्छ ? 

तपाईंले ठिक प्रश्न सोध्नुभयो । मिडिया हाउस र पत्रकारिता दुई भिन्न विषय हुन् । मिडिया भन्ने बित्तिकै पत्रकारिता र पत्रकारिता भन्नेबित्तिकै मिडिया भनी बुझ्न मिल्दैन । जबकि त्यसको भेदबारे हामीलाई धेरै ख्याल हुँदैन । मिडिया भनेको ‘सुपर स्ट्रक्चर’ हो । उदाहरणका लागि कसैले अस्पतालको चेन चलाउन सक्छ । अस्पतालको चेन कसरी चल्छ ? त्यसको आर्थिक व्यवस्थापन कसरी गरिन्छ ? प्रशासनलाई चुस्त–दुरुस्त राख्न के गर्नुपर्छ ? त्यहाँ काम गर्ने कर्मचारीको व्यवस्थापन कसरी गर्ने ? आदि एउटा पाटो हो ।

त्यहाँ डाक्टर, नर्सहरूले पनि काम गरिरहेका हुन्छन् । डाक्टरहरूको काम बिरामीको उपचार कसरी गर्ने ? वैज्ञानिक अनुसन्धानमा आफ्ना अस्पतालका डाक्टरको भूमिका के हुने ? उपचार विधिलाई कसरी प्रभावकारी बनाउने आदि विषयको चिन्तन गर्ने काम डाक्टरहरूको हो । ठ्याक्कै त्यसै गरी मिडिया उद्योग र पत्रकारितालाई मिसमास गरेर हेर्नु हुँदैन ।

पत्रकारिताले तपाईंको आफ्नै मालिकको भ्रष्टाचार, अमानवीयताबारे बोल्न सक्छ तर मिडिया उद्योगमा जागिर खाइरहेको छु, त्यसैले मालिकबारे लेख्नु हुँदैन भन्न मिल्दैन । त्यसो भन्ने हो भने तपाईंले पत्रकारिता गरिरहनुभएको छैन ।

तपाईंको पत्रकारिताले तपाईंको आफ्नै मालिकको भ्रष्टाचार, अमानवीयताबारे बोल्न सक्छ, तर मिडिया उद्योगमा जागिर खाइरहेको छु, त्यसैले आफ्नो मालिकबारे लेख्नु हुँदैन भन्न मिल्दैन । त्यसो भन्ने हो भने तपाईंले पत्रकारिता गरिरहनुभएको छैन । त्यसैले म मिडिया उद्योग र पत्रकारिता एउटै विषय हो भनेर सोच्दिनँ । र, म काम पनि त्यसरी गर्दिनँ । मिडिया हाउसलाई बलियो बनाउने नाममा पैसा जुटाउने, तलब खुवाउने र त्यसको स्थायित्वका लागि गर्ने काम मेरो काम होइन, मेरो काम पत्रकारिता गर्ने हो, जुनसुकै मूल्यमा पत्रकारिता । मिडिया हाउस त्यस्तो पत्रकारितालाई सम्भव तुल्याउने संस्था हो ।

अस्पतालकै उदाहरण हेर्नुस् न, लगानीकर्ताले अस्पतालबाट धेरै पैसा कमाएको हुन सक्छ, डुबेको पनि हुन सक्छ । यद्यपि अस्पताल चल्ने डाक्टर र नर्सका कारण हो । अस्पतालबाट डाक्टर र नर्स भन्ने ढिक्कालाई निकालिदिनुस्, जति नै राम्रो अस्पताल बनाए पनि त्यहाँ उपचार गराउन को आउँछ ? कोही आउँदैन ।

त्यस्तै मिडिया हाउसबाट पत्रकारलाई निकालिदिनुस्, तपाईंको मिडिया हाउसको के काम ? मिडियामा लगानी गर्ने समूह एउटा हुन सक्छ तर काम गर्ने त मूलतः पत्रकारले हो । अस्पतालमा डाक्टरका मूल्य–मान्यता भएजस्तै हाम्रा पनि आफ्नै मूल्य–मान्यता हुन्छन् । त्यसैले लोकतन्त्रलाई बलियो बनाउने हो भने मिडियाको ढाँचा र आर्थिक प्रणालीबारे सोच्नैपर्छ ।

आजका दिन सरकारी अस्पतालका डाक्टर जति स्वतन्त्र छन्, पत्रकार त्यति पनि स्वतन्त्र ढंगले काम गर्न सकिरहेका छैनन् । कम्तीमा डाक्टरहरू कसरी सर्जरी गर्ने भनेर त स्वतन्त्र छन् । हामीलाई कस्तो समाचार लेख्ने भनेर दबाब छ । हामीलाई त सरकार र कर्पोरेट कम्पनीका मालिकले पत्रकारिता गर्न सिकाउँछन् । एउटा पत्रकारले स्वतन्त्रतापूर्वक आफ्नो काम गर्न पाउँदैन भने त्यस्ता मिडिया हाउसको कुनै अर्थ छैन । त्यसैले हामीलाई पत्रकारिता गर्न मिल्ने त्यस्तो ठाउँ चाहिएको छ, जहाँ सरकार, कर्पोरेट हाउस र विज्ञापनदाता कसैको दबाब नहोस् । तपाईंले पैसा कहाँबाट ल्याउने हो, ल्याउनुस् तर धक फुकाएर पत्रकारिता गर्न पाउनुपर्‍यो ।

यसका लागि आजका दिनमा सबैभन्दा राम्रो विकल्प हो— सब्स्क्राइब बेस इन्डिपेन्डेन्ट जर्नालिजम् । हामी आफ्ना पाठक/दर्शकमा निर्भर हुनैपर्छ । यसो भयो भने सरकार रिसाउँछ कि भनेर सोच्नुपर्दैन, तर यसबाट ठुलो सञ्चारमाध्यम चलाउन सजिलो छैन । अथवा भन्नुस् त्यो स्तरको पत्रकारिता गर्नै सम्भव छैन । हाम्रै उदाहरण हेर्नुस् न— हामी देशैभरि घुमेर प्रत्येक साना–ठुला विषयमाथि पत्रकारिता गर्न चाहन्छौँ, तर सम्भव भइरहेको छैन । हाम्रो म्यागजिनमा जम्मा ३०–३५ जना काम गर्छौं ।

  • सन् २०२३ मा ब्रिटिस पत्रिका ‘द गार्डियन’ले एउटा विशेष अनुसन्धान गरेको छ । ‘कटन क्यापिटल : अ स्पेसल इन्भेस्टिगेसन २०२३’ नाम दिइएको अनुसन्धानमा उसले दास प्रथाबारे अनुसन्धान थालेको थियो । तर, अनुसन्धानमा आफ्नै पत्रिकाका संस्थापक मालिक जोन एडवार्ड टेलर दास खरिद–बिक्री गर्ने व्यापारी भएको पत्ता लागेपछि गार्डियन पत्रिका सञ्चालन गर्ने ‘द स्कट ट्रस्ट’ र गार्डियन आफैँले पाठकसँग माफी मागे । टेलरले सन् १८२१ मा आफूसहित अन्य ११ जनाको लगानीमा ‘मेनचेस्टर गार्डियन’ पत्रिका सञ्चालन गरेका थिए । पछि सन् १९५९ मा त्यही पत्रिकाको नाम ‘द गार्डियन’ राखियो । भन्नुको अर्थ— हाम्रो काम निगरानी राख्नु हो, त्यसैले हामीहरू सबैको धोती–टोपीको नापो लिएर रिपोर्टिङ गरिरहेका हुन्छौँ, तर हामी जुन संस्थामा काम गर्छौं, जहाँबाट हाम्रो खल्तीमा पैसा झर्छ, त्यो संस्थामा पैसा कहाँबाट आइरहेको छ भनेर आजका दिन विश्वव्यापी रूपमै रिपोर्टिङ गरिँदैन । पारदर्शिताको कुरा गर्दा हामीले आफ्नै संस्थाको आर्थिक पारदर्शिताबारे रिपोर्टिङ गर्नुपथ्र्यो वा पर्दैनथ्यो ?

किन नपर्नु नि । बिल्कुलै, त्यस्तो रिपोर्टिङ गरिनुपर्छ, तर यसका पनि आफ्नै सीमा होलान् । न्युयोर्क टाइम्स र वासिङटन पोस्टको एडिटोरियल बोर्डले आफ्नै सम्पादक र व्यवस्थापनको निर्णयमाथि पटक–पटक सवाल खडा गरेको छ । र, त्यसबारे रिपोर्टिङ पनि पर्याप्त भएका छन् । तर, न्युयोर्क टाइम्स र वासिङटन पोस्टले आफ्नै मालिकको आर्थिक स्रोतमाथि प्रश्न उठाएको र त्यसमाथि रिपोर्टिङ गरेको मलाई थाहा छैन । तपाईंले निकै गम्भीर सवाल खडा गर्नुभयो, मलाई लाग्छ मिडियामाथि र त्यसको लगानीमाथि रिपोर्टिङ हुनैपर्छ ।

आजका दिन सरकारी अस्पतालका डाक्टरहरू जति पनि स्वतन्त्र भएर काम गर्न सकेका छैनन् पत्रकार । कम्तीमा डाक्टरहरू सर्जरी कसरी गर्ने भन्न त स्वतन्त्र छन् । हामीलाई कस्तो समाचार लेख्ने भनेर सरकार र कर्पोरेट कम्पनीका मालिकले सिकाउँछन् ।

तत्कालका लागि कम्तीमा आफ्नै मालिकको लगानीमाथि रिपोर्टिङ गर्न सक्नुहुन्न भने न्युयोर्क टाइम्सको आर्थिक स्रोतबारे वासिङटन पोस्टमा र वासिङटन पोस्टको आर्थिक स्रोतबारे न्युयोर्क टाइम्समा त रिपोर्टिङ गर्न सकिन्छ । यसैलाई हामीले आफ्ना मिडिया मालिकको सन्दर्भमा राखेर हेर्न मिल्यो । क्याराभान म्यागजिनको हकमा हामीले वर्षभरि प्रकाशित गर्ने १२ अंकमा डिसेम्बरको अंकलाई मिडियामाथिकै छलफलमा केन्द्रित गरेका हुन्छौँ । मिडिया उद्योगको अवस्था, त्यसको लगानी, मिडिया मालिक, पत्रकारिताको अभ्यास गर्दै गरेका महत्त्वपूर्ण संस्था, सम्पादकमाथि हामीले पटक–पटक स्टोरी गरेका छौँ । त्यसमा हामीले पत्रकारिताको आजको गति, दिशा र अवस्थाका बारे पनि चर्चा गर्ने गरेका छौँ ।

मैले अघि पनि भनेँ, मिडिया लोकतन्त्रको एउटा आधारस्तम्भ हो भने त्यसबारे त्यति नै छलफल गरिनुपर्छ, जति हामी न्यायालयबारे गर्छौं । जहाँसम्म तपाईंको प्रश्न छ— हामीले आफ्नै मालिकको आर्थिक स्रोतको मुहानबारे रिपोर्टिङ गर्ने, त्यो दिन पनि आउने नै छ । किनभने मिडिया मालिक र सम्पादकीय नेतृत्व फरक विषय हुन् । मलाई लाग्छ, कसैले मसँग आएर हाम्राबारे सोध्छ भने म बोल्न तयार छु । क्याराभान पनि कुनै ‘प्रफेक्ट अर्गनाइजेसन’ होइन । यहाँ पनि कमी–कमजोरी छन् । हामी समस्या समाधानमा लागिरहेकै छौँ तर पनि सोचे अनुरूप हुन सकेको छैन । त्यसैले यसबारे रिपोर्टिङ हुनैपर्छ ।

  • तपाईंको नजरमा मूलधारको मिडिया र स्वतन्त्र मिडियाबिच भिन्नता के हो ? 

भारतको सन्दर्भमा— यहाँ दुई खाले मिडिया संस्थाहरू छन् । पहिलो— मेनस्ट्रिम । दोस्रो– इन्डिपेन्डेन्ट । र, दुवैमा जम्मा एक ठाउँमा मात्रै पत्रकारिता भइरहेको छ । त्यो हो— इन्डिपेन्डेन्ट मिडियाहरूमा । यसको आधारभूत भिन्नता भनेकै एउटामा पत्रकारिता भइरहेको छ, अर्कोमा पत्रकारिता नै भइरहेको छैन । मूलधारका मिडियामा जसलाई सम्पादक बनाइएको छ, म उनीहरूलाई पत्रकार नै मान्दिनँ । उनीहरू त म्यानेजमेन्टले नियुक्त गरेका कर्मचारी हुन् । उनीहरूलाई त्यहाँ व्यवस्थापनको काम गर्न राखिएको हो, पत्रकारिता गर्नका लागि होइन ।

उनीहरूलाई मालिकको, म्यानेजमेन्टको स्वार्थ पूर्ति गर्नका लागि राखिएको हो । उनीहरूलाई सरकार र विज्ञापनदाता खुसी पार्न राखिएको हो । सरकारलाई कसरी रिझाइराख्ने, उनीहरूसँग कति निकटको सम्बन्ध स्थापित गर्ने र त्यो कामलाई कति निपूर्णतासाथ गर्ने भनेर उनीहरूलाई सम्पादकको कुर्सीमा राखिएको हो । त्यसैले उनीहरू पत्रकारिताबाहेक सबै कुरा जान्दछन् । तपाईं आफैँ भन्नुस् न पत्रिकाका लागि विज्ञापन जोहो गरिदिने पनि सम्पादक हुन्छ ?

टाइम्स अफ इन्डियाका मालिकले भन्थे— हाम्रो काम पत्रकारिता गर्नु होइन, विज्ञापन छाप्नु हो । हामीले त विज्ञापन छाप्न सजिलो होस् भनेर समाचार छापेका हौँ । मूलधारको मिडियाको वास्तविकता यही हो ।

खासमा उनीहरूलाई पत्रकारितासँग कुनै लिनुदिनु छैन । कैयौँले कहिल्यै पत्रकारिता नै गरेका छैनन् । रिपोर्टिङ र डेक्सको अनुभव उनीहरूसँग हुने कुरै भएन । उनीहरूलाई व्यवस्थापन र विज्ञापनको समझ छ, तर पत्रकारिताको रत्तिभर समझ छैन । त्यसैले उनीहरूलाई पत्रकार भन्नु उनीहरूमाथि अन्याय गर्नुसरह हो । म अन्याय गर्ने पक्षमा छैन ।

यहाँ टाइम्स अफ इन्डियाका मालिकको भनाइ निकै सान्दर्भिक हुन आउँछ । उनी भन्छन्— ‘हाम्रो काम पत्रकारिता गर्नु होइन, हाम्रो काम विज्ञापन छाप्नु हो । हामीले त विज्ञापन छाप्न सजिलो होस् भनेर समाचार छापेका हौँ ।’ मूलधारको मिडियाको यही वास्तविकता हो । हिजोआज उनीहरू विज्ञापन मात्रै छाप्दैनन्, सरकारलाई खुसी पार्न अनेक यत्न पनि गरिरहेका हुन्छन् । हामीले त्यसैलाई पत्रकारिता ठान्ने भुल गर्नु हुँदैन । मूलधारका मिडिया र स्वतन्त्र मिडियामा यही भिन्नता छ ।

  • म सम्पादकीय टोलीमा बसेर काम गर्छु भने म मालिक र व्यवस्थापनप्रति भन्दा सम्पादकप्रति उत्तरदायी हुन्छु । मैले सिकेको पत्रकारिताको आधारभूत समझ यही हो । सम्पादक पनि आफ्नो सम्पादकीय टोलीप्रति जिम्मेवार हुनुपर्ने होइन र ? तर, हामीले गरेको अभ्यासमा यसको ठिक विपरीत देखिन्छ । म तपाईंलाई एउटा उदाहरण दिएर यसबारे सोध्न चाहन्छु । नेपालमा हामीले अत्यन्त सम्मान गरेका सम्पादकले एक दिन सम्पादकीयमै आफ्ना मालिकको बचाउ गरेर सम्पादकीय लेखे । त्यसपछि मैले यो पत्रकारिता भएन भन्ने मत राखेँ । उनले भने— ‘नरेश धारालाई जोगाएपछि न त्यहाँबाट पानी आउँछ ।’ म हतप्रभ भएँ । कतै मैले पो गलत बुझिराखेको छु कि यसलाई कसरी हेर्ने ?

तपाईंले जुन सम्पादकको उदाहरण दिनुभयो र उहाँले जे भन्नुभयो, म त्यसमा बिल्कुलै सहमत छैन । मेरो बुझाइले के भन्छ भने, जुन धाराबाट तपाईंले पानी खाँदै हुनुहुन्छ यदि त्यो धारा नै विषाक्त छ भने त्यस धारालाई बन्द गर्न तपाईंले प्रयास गर्नुपर्छ । आखिर जीवन र पत्रकारिता भनेको स्वच्छ पानीकै खोज त हो । सम्पादकले कम्तीमा यत्ति मूल्य त बोक्नैपर्छ । मैले आफ्नो पत्रकारिताको जीवनमा लामो समय रिपोर्टिङ गरेको छु । डेक्समा बसेर काम गरेको छु । म्यानेजमेन्ट र सम्पादकसँगै कुरा नमिलेर एक–दुई ठाउँमा जागिर पनि छाडेको छु । केही ठाउँमा मुद्दा लडेको छु ।

मलाई लाग्छ, पत्रकारले पत्रकारिताको मूल्य र मानकलाई बिल्कुलै लत्याउन मिल्दैन । मालिक र सरकारको चिन्ता गर्ने काम हाम्रो होइन । हाम्रो काम पत्रकारिता र सम्पादकीय नीतिमा खरो उत्रनु हो । आफ्नो रिपोर्टिङ, लेख र अनुसन्धानलाई तथ्यपरक र चोटिलो बनाउनु हो । हाम्रो काम पत्रकारिताको वजन बढाउनु हो, त्यसलाई त्याज्य बनाउनु होइन । एउटा सम्पादक र पत्रकारको काम सही र गलतबिच छनोट गरेर एउटाको पक्षमा उभिने होइन, ऊ जहिलै सहीकै पक्षमा उभिनुपर्छ ।

  • न्यु मिडियाका रूपमा सामाजिक सञ्जालको वर्चस्व व्याप्त हुन थालेसँगै पत्रकारिताको भूमिका कमजोर भयो, किनभने ‘नागरिक पत्रकारिता’को युग आयो भनिँदै छ, तपाईंले यसलाई कसरी हेर्नुभएको छ ?

तपाईंलाई अनौँठो लाग्ला तर मानिसले जे भन्दै छन्, मलाई त्यसमा कुनै विश्वास छैन । तपाईंले सामाजिक सञ्जालबाट आफ्नो रिपोर्टिङ फैलाउन सक्नुहुन्छ, तर सामाजिक सञ्जालबाटै पत्रकारिता गर्न सम्भव छैन । भन्नुको अर्थ— सामाजिक सञ्जालबाट तपाईंले सूचना लिन सक्नुहुन्छ । जस्तै : कुनै दुर्घटनाबारे तपाईंले थाहा पाउनुहुन्छ । प्रधानमन्त्रीले केही भन्नुयो भन्ने थाहा पाउनुहुन्छ, तर त्यो पत्रकारिता होइन । पत्रकारिता एउटा व्यक्तिले गर्ने काम होइन । पत्रकारिता संस्थागत अभ्यास हो ।

क्याराभानकै कुरा गरौँ न, यहाँ छापिएको सामग्रीमाथि तपाईंलाई किन विश्वास लाग्छ ? किनभने कुनै पनि सामग्री, यहाँ छापिनुपूर्व त्यो विविध प्रक्रियाबाट गुज्रिएर छापिन्छ । कुनै पनि लेखनी छाप्नुअगावै त्यस मुद्दामा छलफल हुन्छ । त्यसपछि विधिपूर्वक त्यसको रिपोर्टिङ गरिन्छ । रिपोर्टिङको प्रक्रिया सकिएपछि त्यसको फ्याक्ट चेक हुन्छ । त्यसको सम्पादन गरिन्छ । त्यसपछि बल्ल छापिन्छ । यति हुँदाहुँदै पनि त्यसको सान्दर्भिकता सकिएमा त्यो सामग्री छापिँदैन । के यी सबै विधि सामाजिक सञ्जालमा तपाईंले लेखेर प्रकाशित गर्नुपूर्व अपनाउनुहुन्छ ? जुन काम मूलधारको मिडियाले गर्नुपर्ने थियो, उसले त्यो नगरिदिनाले आम पाठक/दर्शकलाई उसले गर्ने र आफूले गर्ने काममा भिन्नता देखिन छाड्यो । त्यसैले उसले सिटिजन जर्नालिजम भन्न थाल्यो ।

hartosh singh bal (3)

तर, तपाईंले सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गर्दैमा वा कुनै नयाँ कुराको खुलासा गर्दैमा पत्रकारिताको सान्दर्भिकता सकिँदैन । हो, के हुन सक्छ भने— कुनै पनि मिडियाले पस्कन नसकेको तर तपाईंलाई महत्त्वपूर्ण लागेको कुनै काम तपाईंले त्यसमार्फत सार्वजनिक गर्न सक्नुहुन्छ, तर त्यसलाई पत्रकारिता भनिँदैन । हामीले प्रकाशित गरेको सामग्रीमा कसैले न्यायालयमा मुद्दा हाल्यो भने पनि हामी त्यसको प्रतिरक्षा गर्न सक्छौँ । त्यसको प्रक्रिया के–के अपनाइएको थियो भनेर भन्न सक्छौँ । किनभने पत्रकारिता फ्याक्टमा अडिएर गरिएको हुन्छ ।

  • आजका दिन पत्रकारितामाथि सबैभन्दा ठुलो चुनौती कोबाट छ ?

विश्वका विभिन्न मुलुकमा आ–आफ्नै परिस्थिति र परिवेश अनुसार चुनौतीका मानक तय होलान् । त्यसैले विश्वभर यसैबाट चुनौती छ भन्दा नमिल्ला । जस्तै : चीनका चुनौती भिन्न होलान् । अमेरिका र भारतका चुनौती भिन्न होलान्् । मेक्सिको र इटालीमा पत्रकारिताका चुनौती भिन्न होलान् । यति भन्दै गर्दा विश्वभरको पत्रकारिताका साझा चुनौती के हुन् भनेर खुट्याउन सकिएला ।

पश्चिमा लोकतान्त्रिक प्रक्रियाको अभ्यास गरिरहेका मुलुकको कुरा गर्ने हो भने पुँजी र सरकारबिचको गठबन्धनबाट बनेको अनैतिक खाले गठजोडबाट पत्रकारिताले सबैभन्दा ठुलो चुनौती बेहोरिरहेको छ । पुँजीपतिको मुनाफा कहाँबाट आइरहेको छ भनेर रिपोर्टिङ गर्न, एउटा पुँजीपति रातारात अर्बपति र अर्बपति खर्बपति कसरी बन्यो भनेर रिपोर्टिङ गर्न, पुँजीपति र सरकारमा आसीन व्यक्ति तथा पार्टीबिचको सम्बन्ध के हो भनेर खोतल्न सबैभन्दा ठुलो चुनौती बन्न पुगेको छ ।

म राडिया टेप प्रकरणको स्टोरीमा मसिनो गरी सहभागी थिए । त्यहाँबाट जस्तो दृश्य सार्वजनिक भयो, त्यही परिस्थिति आज मोदी–अडानी–रिलायन्सका सन्दर्भमा प्रदर्शन भइराखेको छ । राजनीतिज्ञ–पुँजीपतिबिचको गठबन्धन निकै खतरनाक हुन्छ । उनीहरू साझा स्वार्थका लागि काम गर्न थाल्दा उनीहरूमाथि सवाल उठाउनु चुनौतीपूर्ण हुन जान्छ । तपाईंले उनीहरूमाथि सवाल उठाएसँगै तपाईंमाथि विभिन्न प्रेसर आउन थाल्छन् । तर, पत्रकारिता त्यति प्रेसरले रोकिनु हुँदैन । उनीहरूमाथि सवाल उठाउने काम रोकिनु हुँदैन । पत्रकारिताको साख जोगाउनकै लागि भए पनि केही उम्दा पत्रकारहरूले यो काम गरिरहेकै छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

२५ कार्तिक २०८१, आईतवार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

२५ कार्तिक २०८१, आईतवार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

२५ कार्तिक २०८१, आईतवार
महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न

२५ कार्तिक २०८१, आईतवार
Next Post
मधेशी जनताले अझै धेरै अधिकार पाउन बाँकी छन् : उपेन्द्र यादव।

मधेशी जनताले अझै धेरै अधिकार पाउन बाँकी छन् : उपेन्द्र यादव।

रामगोपालपुर नगरपालिकाकाे उप निर्वाचनमा जसपा नेपालको लहर, वडा अध्यक्षकाे उमेदवारसंगै जसपा नेपालका नेताहरु घरदैलोमा

रामगोपालपुर नगरपालिकाकाे उप निर्वाचनमा जसपा नेपालको लहर, वडा अध्यक्षकाे उमेदवारसंगै जसपा नेपालका नेताहरु घरदैलोमा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh