
१० कात्तिक, काठमाडौं । मंसिर मध्यदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अहिले फ्रेन्चाइज टोलीहरु धमाधम विदेशी खेलाडी अनुबन्ध गरिरहेका छन् ।
टेष्ट राष्ट्रदेखि एसोसिएट राष्ट्रका उत्कृष्ट क्रिकेटर अनुबन्ध गर्ने होडबाजी चलिरहेको छ । न्युजिल्याण्डका अलराउण्डर जिम्मी निसमदेखि दक्षिण अफ्रिकन बलर मर्चेन्ट डे ल्याङ सम्मका टेष्टका खेलाडी एनपीएल खेल्न आउने भएका छन् ।
यस्तै एसोसिएट क्रिकेटका उत्कृष्ट खेलाडी नामिबियाका कप्तान जेरार्ड एरासमस, डच अलराउण्डर बास डे लिडे अनि डच युवा ओपनर माइकल लेभिट पनि एनपीएलका लागि अनुबन्ध भइसकेका छन् ।
एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् र हरेक टोलीले ४ विदेशी खेलाडी राख्नेछन् । त्यसैले यस पटक धेरै विदेशी खेलाडी आउने पक्का छ ।
विदेशी खेलाडी मात्र होइन यस पटक एनपीएलका लागि प्रशिक्षकहरु पनि अधिकांश विदेशकै अनुबन्ध भएका छन् ।
नेपाली राष्ट्रिय टिमकै दुई पूर्व विदेशी प्रशिक्षक उमेश पटवाल र पुबुदु दासानायके पनि एनपीएलमा फ्रेन्चाइज टिमको प्रशिक्षक छन् ।
यस्तै नेपालकै राष्ट्रिय टिमका पूर्वप्रशिक्षक जगत टमाटाले पनि एनपीएलमा क्लब सम्हाल्नेछन् । इन्डियन प्रिमियर लिग आइपीएलमा चेन्नाई सुपर किंग्सको प्रशिक्षक रहिसकेका राजीवकुमार पनि एनपीएलमा प्रशिक्षकको रुपमा आउँदैछन्
यसअघि नेपालमा फ्रेन्चाइज लिग खेलिसकेका आयरल्याण्डका पूर्वअलराउण्डर केभिन ओ’ब्रायन पनि यस पटक प्रशिक्षकको भूमिका एनपीएलमा आउँदैछन् ।
नेपालको पहिलो पुस्ताका क्रिकेट खेलाडी तथा नेपालका पूर्व सहायक प्रशिक्षक रहेका बसन्त शाही पनि एनपीएलमा प्रशिक्षक छन् ।
यसबाहेक नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल समेत फ्रेन्चाइज टिमको मुख्य प्रशिक्षक बनेका छन् । यति मात्र होइन सन् २००७ को टी-२० विश्वकप विजेता अष्ट्रेलियन ब्राड हज अनी दक्षिण अफ्रिकन लेजेण्ड तथा महान फिल्डर जोन्टी रोड्स पनि मेन्टरको रुपमा एनपीएलको टिममा छन् ।
समग्रमा एनपीएलका लागि ५ विदेशी प्रशिक्षक अनुबन्ध भएका छन् भने ३ नेपाली प्रशिक्षक छन् । यस्तै दुई विदेशी मेन्टरको भूमिका छन् । पाँच विदेशीमध्ये भारतका तीन प्रशिक्षक छन् भने क्यानडा र आयरल्याण्डका समान एक प्रशिक्षक छन् ।
क्यानको आयोजनामा आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपीएलमा विराटनगर कंग्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन् ।
पुबुदु दासानायके (क्यानडा), जनकपुर बोल्ट्स
नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अनुबन्ध हुने सबैभन्दा अनुभवी प्रशिक्षक पुबुदु दासानायके हुन् । जनकपुर बोल्ट्सले अनुभवी क्यानडेली प्रशिक्षक पुबुदु दासानायकेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
पुबुदुले यसअघि दुई कार्यकाल नेपालको राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको रुपमा काम गरिसकेका छन् । हाल नेपाली टिमसँगै अमेरिकामा रहेका पुबुदु अहिले नेपाली टिमको मेन्टर समेत हुन् ।

पुबुदुले सन् २०११ देखि २०१५ सम्म पहिलो पटक नेपालको प्रशिक्षकको भूमिकामा काम गरेका थिए । उनकै प्रशिक्षणमा नेपाल डिभिजन पाँच देखि टी-२० विश्वकपसम्म पुगेको थियो ।
पुबुदुकै प्रशिक्षणमा नेपालले सन् २०१४ मा पहिलो पटक टी-२० विश्वकप खेलेको थियो । पछिल्लो पटक उनले २०२१ देखि २०२२ सम्म दोस्रो पटक नेपाली टोली हेरेका थिए । दोस्रो कार्यकालमा उनी आउँदा नेपाली टोलीभित्र चरम विवाद थियो, उनले विवाद मिलाउने प्रयाससमेत गरेका थिए ।
उनले त्यसअघि क्यानडा र अमेरिकाको पनि प्रशिक्षण सम्हालिसकेका छन् । यस्तै ओमानको मेन्टरको रुपमा पनि काम गरिसकेका छन् । पुबुदुलाई जनकपुरमा नेपाली प्रशिक्षक मनोज कटुवालले सघाउनेछन् ।
दुई वर्षअघि भएको नेपाल टी-२० लिगमा च्याम्पियन बनेको लुम्बिनी अलस्टारकै टिमले जनकपुर बोल्ट्सलाई हेरिरहेको छ । लुम्बिनी अल स्टार्सको लेगेसीलाई काम राख्ने जनकपुरको लक्ष्य छ ।
पुबुदुले एनपीएलमा जनकपुरको प्रशिक्षक बनेर पेरि नेपाल फर्कन पाउँदा उत्साहित रहेको बताएका छन् ।
एमएडी ड्रिम्स प्रालिको स्वामित्वमा रहेको जनकपुरको क्रिकेट डिरेक्टरमा बरदान चालिसे छन् । राष्ट्रिय टिमका विकेटकिपर ब्याटर जनकपुरको मार्की प्लेअर छन् ।
उमेश पटवाल (भारत), चितवन राइनोज
नेपाली राष्ट्रिय टिम हेरिसकेका अर्का विदेशी प्रशिक्षक हुन् भारतीय उमेश पटवाल । चितवन राइनोजले उनै उमेश पटवाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
उनले यसअघि नेपालले विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन् ।

यस्तै उनले एभरेस्ट प्रियिमर लिगमा पोखरा राइनोजको प्रशिक्षको भूमिकामा पनि काम गरिसकेका छन् । सन् २०१८ मा पोखरा प्रिमियर लिगमा पटवाल टेक्निकल डिरेक्टर थिए ।
नेपाल आउनुअघि उनी अफगानिस्तान राष्ट्रिय क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षक थिए ।
चितवनको टोलीमा युवा अलराउण्डर कुशल मल्ल मार्की प्लेअरको रुपमा छन् । यस्तै चितवनले अनुभवी खेलाडी शरद भेषावकरलाई पनि अनुबन्ध गरेको छ । पटवालले आइपीएलमा कोची टस्कर्स केरलको सहायक प्रशिक्षकको रुपमा पनि काम गरिसकेका छन् ।
चितवन राइनोजको स्वामित्व चितवन मेडिकल कलेजसँग रहेको छ ।
राजीव कुमार (भारत), पोखरा एभेन्जर्स
भारतीय प्रशिक्षक राजिव कुमारलाई पोखरा एभेन्जर्सले मुख्य प्रशिक्षक नियुक्त गरेको छ । राजीवको मुख्य विशेषता भनेको उनले भारतको डोमेस्टिक क्रिकेट खेलेका छन् भने पछिल्लो समय इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सको प्रशिक्षकको रुपमा थिए ।

उनले चेन्नईमा ब्याटिङ र फिल्डिङ प्रशिक्षकको रुपमा काम गरिसकेका छन् । उनले झारखण्ड र विहारका लागि पनि खेलेका छन् ।
राजीव कुमारले हाल झारखण्ड क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रूपमा काम गरिरहेका छन् । उनीसँग झारखण्ड यु-१९ टोलीको प्रशिक्षण सम्हालेको अनुभव पनि छ ।
पोखराले मेन्टरमा दक्षिण अफ्रिकी लेजेण्ड जोन्टी रोड्सलाई अनुबन्ध गरिसकेको छ । राजीव कुमार र जोन्टी रोड्सको आगमनले पोखराले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास राखेको छ ।
नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल पोखराको मार्की प्लेअरमा छन् । पोखराको स्वामित्व नेपाल टी-२० प्रालिसँग छ ।
नन्दन फडनिस (भारत), लुम्बिनी लायन्स
लुम्बिनी लायन्सले भारतका नन्दन फडनिसलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । फडनिसले हाल नेपाली राष्ट्रिय क्रिकेट टोलीको सल्लाहकार प्रशिक्षकका रूपमा काम गरिरहेका छन् । पछिल्लो समय मोन्टी देसाईको सहयोगीको रुपमा काम गरिरहेका उनलाई नेपाली क्रिकेटबारे नजिकबाट जानकारी छ ।

उनी पहिलो पटक नेपालमा फ्रेन्चाइज क्रिकेट टोलीको मुख्य प्रशिक्षक बनेका हुन् ।
फडनिससँग नेसनल क्रिकेट एकेडेमी, गोवा क्रिकेट संघ र मुम्बई क्रिकेट संघमा प्रशिक्षकका रूपमा काम गरिसकेको अनुभव छ । यस्तै उनले विभिन्न कर्पोरेट तथा विश्वविद्यालयका टोलीसँग काम गरेका छन् ।
फर्चुना हेल्थ केयर प्रालिको स्वामित्व रहेको लुम्बिनीले राष्ट्रिय टिमका पूर्व स्टार शक्ति गौचनलाई कन्सलट्यान्ट प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । यस्तै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल मार्की लुम्बिनीको मार्की प्लेअर छन् ।
केभिन ओ’ब्रायन (आयरल्यान्ड), विराटनगर किंग्स
केभिन ओ’ब्रायन नेपाली क्रिकेटको बारेमा निकै जानकार राख्छन् । उनी खेलाडी छाँदा नेपालमा आएर खेल्न इच्छुक थिए । यस्तै यसअघि नेपालमा आएर पनि खेले र उनी नेपाली समर्थक देखेर पागल जस्तै छन् ।

यस पटक उनै ओ’ब्रायनलाई विराटनगर किंग्सले मुख्य प्रशिक्षक नियुक्त गरेको छ । यसअघि उनले काठमाडौं किंग्स ११ बाट एभरेष्ट प्रिमियर लिग खेलेका थिए । उनी पहिलो पटक फ्रेन्चाइज टोली सम्हाल्ने गरी नेपाल आउँदैछन् ।
विराटनगरको मार्की प्लेअरमा नेपालका पूर्वकप्तान सन्दीप लामिछाने छन् । अब केभनि ओ’ब्रायन र सन्दीप लामिछानेको जोडीले विराटनगरलाई अगाडि बढाउनेछन् ।
विराटनर ड्रिम्स प्रालिको स्वामित्व रहेको टोली हो ।
जगत टमाटा (नेपाल), सुदूरपश्चिम
नेपालका सबैभन्दा सफल प्रशिक्षक हुन जगत टमाटा । उनीसँग नेपालको सियर टोली जुनियर टोली र महिला टोलीको प्रशिक्षकको रुपमा काम गरेको अनुभव छ ।
एनपीएलका लागि सुदूरपश्चिम रोयल्सले उनै टमाटालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । एनपीएलमा प्रशिक्षक बन्ने नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षकमध्ये टमाटा पनि एक हुन् ।

टमाटा नेपाली क्रिकेटको विकास र महत्वपूर्ण सफलतामा सधैँ सँगै थिए । टमाटाकै प्रशिक्षण नेपालले सन् २०१८ मा पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाएको थियो । उनले सन् २०१६ देखि २०१९ सम्म नेपालको मुख्य प्रशिक्षक बनेर काम गरेका थिए ।
पछिल्लो पटक सन् २०२० मा नेपालले थाइल्यान्डमा एसीसी इस्टर्न रिजन प्रतियोगिता खेल्दा उनी नेपालको मुख्य प्रशिक्षक थिए ।
टमाटाकै प्रशिक्षणमा नेपालले तीन पटक यू-१९ विश्वकप ( २०१२, २०१६ र २०२४) मा खेलेको थियो । उनी हाल नेपाली राष्ट्रिय टोलीको कन्सलट्यान्ट प्रशिक्षकको रुपमा छन् । टमाटा पनि नेपाली टोलीसँगै अमेरिका छन् ।
हाल उनी नेपालको सहायक प्रशिक्षकको रुपमा क्यानडामा छन् ।
यस पटक सुदूरपश्चिमले मार्की प्लेअर र प्रशिक्षक दुवै आफ्नै क्षेत्रको पाएको छ । इम्पायर स्पोर्ट्सको स्वामित्वमा रहेको सुदूरपश्चिले लक्की ड्र मार्फत आफ्नै क्षेत्रका दीपेन्द्रसिंह ऐरीलाई मार्की प्लेअरको रुपमा पाएको हो ।
बसन्त शाही (नेपाल), काठमाडौं गुर्खाज
एनपीएलमा अनुबन्ध हुने अर्का घरेलु प्रशिक्षक हुन् बसन्त शाही । जगत टमासँगै नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका बसन्त शाही नेपालको पहिलो पुस्ताका खेलाडी हुन् ।

उनलाई काठमाडौं गुर्खाजले एनपीएलका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । यसअघि शाही नेपालकी राष्ट्रिय टिममा सहायक प्रशिक्षकको भूमिका थिए । तर लिग टु का लागि क्यानडा टुर गर्दा भने उनको स्थानमा जगत टमाटा कन्सल्यान्ट प्रशिक्षकको रुपमा टिममा समावेश भए ।
बसन्त शाहीले यसअघि नेपाल यू-१९ पुरुष टोलीको प्रशिक्षकको रुपमा पनि काम गरेका थिए । काठमाडौंको मार्की प्लेअरमा राष्ट्रिय टिमका पेस बलर करण केसी छन् ।
ज्ञानेन्द्र मल्ल (नेपाल), कर्णाली याक्स
ज्ञानेन्द्र मल्ल एनपीएलमा जोडिने अर्का नेपाली प्रशिक्षक हुन् । छोटो समयमै प्रशिक्षण करियरमा फड्को मारेका ज्ञानेन्द्र अब फ्रेन्चाइज टिमको प्रशिक्षक बनिसकेका छन् ।
उनलाई कर्णाली याक्सले एनपीएलका लागि मुख्य प्रशिक्षक र क्रिकेट डिरेक्टरको रुपमा अनुबन्ध गरेको छ ।

दुई वर्षअघि नेपाल टी-२० लिग हुँदा ज्ञानेन्द्र आफैँ खेलाडीको भूमिकामा थिए । गत वर्षसम्म उनी नेपाली राष्ट्रिय टिममै थिए । तर पछिल्लो एक वर्षमा भने ज्ञानेन्द्रको दोस्रो इनिङ्स अघि बढिरहेको छ । उनले गत वर्ष खेलाडी जीवनबाट सन्यास लिएका थिए । त्यसपछि उनी प्रशिक्षणतर्फ लागे ।
उनले सुरुमै नेपालको ए टिम सम्हाल्ने मौका पाए । गत फागुनमा उनी नपाल ए को प्रशिक्षक बनेका थिए । उनले एकेडेमीमा पनि लामो समयदेखि क्रिकेट सिकाएका छन् ।
खेलाडी हुँदा उत्कृष्ट ब्याटरको छवी बनाएका ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय टिमको कप्तान हुँदै ए टिमको प्रशिक्षकसम्म बने । अब उनको लागि नयाँ चुनौतीको रुपमा फ्रेन्चाइज लिग एनपीएल टिम हेर्ने अवसर आएको छ ।
ज्ञानेन्द्र एनपीएलमा अनुबन्ध हुनेमध्ये सबैभन्दा कान्छो प्रशिक्षक हुन् । यस्तै ज्ञानेन्द्रले अब आफैंलाई क्रिकेट सिकाएका प्रशिक्षकहरुसँग एनपीएलमा प्रतिस्पर्धा गर्नेछन् ।
ज्ञानेन्द्रले खेलाडी हुँदा पुबुद, उमेश पटवाल, जगत टमाटाको प्रशिक्षणमा खेलिसकेका छन् । अब तिनै प्रशिक्षकहरुसँग ज्ञानेन्द्रले रणनीतिमा प्रतिस्पर्धा गर्नेछन् ।







































































































