मुख्यमन्त्रीमा नियुक्त सतिश सिंह सप्तरी २ को (१) बाट प्रदेशसभा निर्वाचित भएका हुन् । उनी २०७५ को स्थानीय तह निर्वाचनमा सप्तरीको तिलाठी कोइलाडीका गाउँपालिकाका अध्यक्ष निर्वाचित भएका थिए । त्यसपछि २०७९ मा भएको स्थानीय तह निर्वाचनमा सोही गाउँपालिका अध्यक्षमा पराजित भएपछि सोही वर्षको आम निर्वाचनमा जनमतको उम्मेदवार भई प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।
भारतीय राज्य झारखण्डस्थित राँचीको बिआइटी मिश्राबाट सूचना प्रविधिमा स्नातकोत्तर सिंह मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनी लोसपाका नेता एवम् राष्ट्रियसभा सांसद शेखर सिंहका माइला पुत्र हुन् ।
सिंहले आजै १२ बजे मुख्यमन्त्रीको रूपमा सपथ ग्रहण गर्ने छन् । उनको नेतृत्वमा बन्ने सरकारमा एमाले भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण, माओवादी केन्द्रलाई अर्थ र पर्यटन नेकपा एसलाई कृषि, उर्जा तथा सिंचाइ, १-१ सिटको नेपाल समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उनमुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको छ ।









































































































