मधेस प्रदेशमा कुन दलको नेतृत्वमा सरकार बन्ने अझै अनिश्चित देखिएको छ । केही समयअघि प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बन्ने चर्चा चलेको थियो । जनमत पार्टीबाट महेश यादव मुख्यमन्त्री बन्ने सहमति भएको कुरा पनि बाहिर आएको थियो ।
एमाले, माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एकीकृत (समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको बिचमा यस विषयमा सहमति भइसकेको कुरा माओवादी केन्द्र र जनमत पार्टीका नेताहरूले प्रतिक्रिया दिएका थिए । तर अहिले उक्त सम्झौता कार्यान्वयनको कुनै अत्तोपत्तो छैन ।
एमालेको मधेस प्रदेश संसदीय दलका नेता सरोज यादव भने सरकारका लागि हालसम्म कुनै पनि सहमति नभएको बताउँछन् । उनले भने, ‘यो माओवादी र जनमत पार्टीबाट चलाइएको हल्ला मात्र हो ।
यता लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका मधेस प्रदेश संसदीय दलका उपनेता उपेन्द्र महतोले पनि बाहिर आएको जस्तो दलहरूबिच कुनै पनि सहमति नभएको बताए । ‘माओवादी, एमालेलगायतका दलहरूको बिचमा कुनै सहमति भएको होला,’ उनले भने ‘तर त्यस विषयमा हामीसँग कुनै छलफल भएको छैन ।
माओवादी केन्द्र मधेस प्रदेशका प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहा भने एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमत पार्टीबिच सरकार बनाउने सहमति भइसकेको बताउँछन् । उनले भने, ‘चार दलको बिचमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति भइसकेको छ । जसपाले विश्वासको मत लिने कि नलिने टुङ्गो लागेपछि थप प्रक्रिया अगाडि बढाउँछौँ ।’
उनले यो सत्ता गठबन्धनमा लोसपा नरहेको र नेकपा एकीकृत समाजवादी भने आउने पक्का भइसकेको उनको जिकिर छ । यद्यपि, एकीकृत समाजवादी हालसम्म पनि जसपा नेपाल नेतृत्वको सरकारलाई सघाइरहेको छ । प्रदेश सभा सदस्य कुशवाहा जसपा नेपालको सरकारलाई हालसम्म समर्थन गर्दै आएको एकीकृत समाजवादीले जसपा नेपाललाई विश्वासको मत नदिने दाबी गर्छन् ।
उता, सता गठबन्धनबाट मधेस सरकारको मुख्यमन्त्री जनमत पार्टीका संसदीय दलका नेता महेश यादव बन्ने कुरा बाहिर आएपछि सो पार्टीमा पनि विवाद देखिएको छ । पार्टीमा कुनै निर्णय नै नभई महेश यादवको नाम चर्चामा ल्याइएको भन्दै एकजना सचिवालय सदस्यले असन्तुष्टि पोखे ।
‘महेश यादवज्यू मुख्यमन्त्री बन्नुहुँदैन भने होइन, तर त्यसका लागि पार्टीमा औपचारिक निर्णय हुनुपर्यो नि । पार्टीमा निर्णय नहुँदै बजारमा हल्ला हुनु राम्रो होइन,’ तीन नेताले भने, ‘यो सबै माओवादी केन्द्रले चलाएको हल्ला हो । जनमत पार्टीमा मुख्यमन्त्रीका उम्मेदवार महेश यादव मात्र होइन अरू पनि नेता हुनुहुन्छ । यसबारे पार्टीको बैठकबाट टुङ्गो लगाउँछौँ ।
यता, सरकारको नेतृत्व गरेको जसपा नेपालले विश्वासको मत कहिले लिने भन्ने अझै टुङ्गो लागेको छैन । जसपा नेतृत्वको सरकारबाट एमाले र माओवादीले समर्थन फिर्ता लिएपछि त्यो सरकार अल्पमतमा परेको छ । मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । जसअनुसार २८ गतेभित्र जसपा नेपालले विश्वासको मत लिइसक्नुपर्छ ।
त्यसैले जसपा नेपाल यतिबेला सांसदको सङ्ख्या जोड–घटाउमा लागेको छ । हालसम्म जसपा नेपालसँग बहुमत पुगेको छैन । विपक्षी गठबन्धनमा रहेको नेपाली कांग्रेस र लोसपाले पनि साथ दिने कि नदिने स्पष्ट भएको छैन । तर जसपा नेपालका सांसदहरूले आफूहरूसँग नै बहुमत रहेको दाबी गरेका छन् । जसपा नेपाल मधेस प्रदेशका प्रदेशसभा सदस्य राजु गुप्ताले जसपा नेपाललाई कांग्रेस, एकीकृत समाजवादी र लोसपाले समर्थन गर्ने दाबी गरे ।
एकीकृत समाजवादी मधेस प्रदेशका प्रदेश सभाका सदस्य रत्नेश्वर गोइत यादवले मधेस प्रदेशमा हालसम्म आफूहरू जसपा नेपालको पक्षमा रहेको बताए । उनले भने, ‘हामी मधेस प्रदेशमा सत्ता पक्षमा छौँ । के गर्ने भन्ने केन्द्रबाट कुनै निर्देशन नआएको कारण हामी चुपचाप छौँ ।
‘केन्द्रमा हाम्रो दल सत्ता गठबन्धनमा रहेको छ तर मधेस प्रदेशमा विपक्षी गठबन्धनको साथमा छ,’ उनले भने, ‘यस्तै रहने हो कि के गर्ने हो, कुनै निर्देशन आएको छैन ।’










































































































