गोपाल झा
महोत्तरी, भदौ १० गते , मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलले महोत्तरीका मिटरब्याजबाट पिडितहरुसंग छलफल गरि मिटरब्याजीहरुलाई कानुनी दायरामा ल्याउने आश्वासन दिएको छ ।
कार्यदलका संयोजक तथा गृहमन्त्रालयका सहसचिव डा.भीष्मकुमार भूसालले हामीले मिटरब्याजीहरुबाट पिडित भएकाहरुको उजुरी संकलन गरि सोही आधारमा सरकारलाई प्रतिवेदन पेश गरि मिटरब्याजीहरुलाई कानुनी दायरामा ल्याउने आश्वासन दिनुभएको हो ।
मिटरब्याजी समस्याका कारक तथा समाधानका उपाय पहिचान गर्न, मिटरब्याजी अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन, अन्तरनिकाय समन्वय र सहकार्य गर्न तथा आगामी दिनमा यस्तो अपराध न्यूनीकरण गर्न अवलम्बन गर्नुपर्ने उपाय सम्बन्धमा सिफारिससहितको प्रतिवेदन पेस गर्न आफुहरुलाई म्याण्डेड दिएको जानकारी गराउनुहुदै उहाँले सोही अनुसार कार्यदल गरिरहेको स्पष्ट गर्नुभयो ।
जिल्लाको सदरमुकाम जलेश्वरको जिल्ला समन्वय समितिको सभाहलमा मिटरब्याजबाट पिडितहरुको कारुणिक कुरा सुनेपछि उहाँले मिटरब्याजीबाट पिडितहरु अब काठमाण्डौं नै गएर धर्ना र जुलुस गर्नु नपर्ने बरु जिल्ला प्रशासन कार्यालयमा सम्पूणर् प्रमाणसहित उजुरी गर्न आग्रह गर्नुहुदै भदौ ५ गतेसम्म उजुरी दिन समयसिमा तोकिएकोमा अहिले पनि धेरैले उजुरी गर्न नपाएकोले यसलाई निरन्तरता दिइएको बताउनुभयो ।
उहाँले हामीले मिटरब्याजीबाट धेरै पिडितहरुसंग जिल्लामै गएर छलफल गरि प्रतिवेदन बनाएर सरकारलाई सिफारिस गर्ने र सरकारले सोही अनुसार उनीहरुलाई कारवाहीको दायरामा ल्याउने आश्वासन दिनुहुदै गल्ती गर्नेलाई कारवाहीको दायरामा ल्याउन कार्यदल कटिवद्ध रहेको प्रष्ट गर्नुभयो ।
महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले मिटरब्याजीबाट पिडितहरुलाई भदौ ५ गतेसम्म उजुरी गर्न दिएको समयसिमा भित्र महोत्तरीमा १९१ वटा उजुरी परेको जानकारी गराउनुहुदै हालसम्म थप १९ गरि २१० वटा उजुरी प्राप्त भएको जानकारी दिनुभयो ।
उहाँले भंगहा नगरपालिका वडानं. ५ सिद्धपुर बस्ने यसक्षेत्रकै नामुद मिटरब्याजी अनिरुद्ध साहविरुद्ध विभिन्न मितिमा लाखौं रुपैया ठगि गरेको व्योहोरा सहितको उजुरी जिल्ला प्रशासनमा दिएपछि प्रहरीले अनिरुद्ध साहलाई पक्राउ गरेको बताउनुभयो ।
उहाँले चर्को ब्याजदरमा ऋण लगानी तथा ठगी जालसाजी गरी गरिबको उठिवास गराउने, १२ गुणासम्मको तमसुक बनाउने, साँवाको ब्याजको स्याजसमेत असुल गर्ने र कागज नदिने तथा जग्गाहरु हडपने लगायतका उजुरीहरु परेको देखिएको बताउनुभयो ।
विगतमा पनि १४ जना पिडित ऋणीको डेलिगेशन र जाहेरी तथा सञ्चारमाध्यममा अनिरुद्धको धन्धाको समाचारहरु आउन थालेपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीले फागुन २०७७ मा अनिरुद्धविरुद्ध ठगी सम्बन्धी जाहेरी दर्ता गरेको थियो तर उनी जिल्ला अदालत महोत्तरीमा एक लाख ५० हजार धरौटी राखी तारेखमा रिहा हुन सफल भएका थिए ।









































































































