कोभिड-१९ महामारीका कारण २०७६ साल चैत ११ गतेदेखि महोत्तरीको मुख्य भन्सार नाकाबाटै बन्द रहेको सर्वसाधारणको आवतजावत पुनः सञ्चालन भएको छ।
गत शुक्रबार, शनिबार र आइतबार जलेश्वर नगरपालिका–३ मलिवाराका वडाध्यक्ष सञ्जय पाण्डेको नेतृत्वमा करिब सय जनाले सीमा नाकामा धर्ना बसेपछि सो नाका भएर सोमबारदेखि सर्वसाधारणको आवतजावत खुला गरिएको वडाध्यक्ष पाण्डेले बताए।
सो नाकाबाट मालबाहक ट्रक, टिपरलगायत साधन बन्दाबन्दीको बेला पनि निर्वाध रूपमा आवातजावत गरेका थिए।
तर पैदल यात्रुलाई भने रोकिएको थियो।
भन्सार भएरै पैदल यात्रुलाई आवतजावत गर्न नदिएपछि उनीहरू पाँच सय मिटर टाढा वन र खोल्सीको बाटो हुँदै नेपाल-भारत आउजाउ गरिरहेका थिए।
मुख्य भन्सारबाटै आवागमन भएपछि सर्वसाधारण खुसी भएका छन्।
सो नाकाबाट पैदल आवागमन सुरू भए पनि सवारी साधन अझै सञ्चालन भएको छैन। मालबाहक गाडीहरू पहिलेझैं आउजाउ गरिरहेका छन्। रासस










































































































