रामगाेपालपुर, मंसिर ४ गते ।
महाेतरी लगायत मधेशका हरेक स्थानमा छठपर्वको दोश्रो दिन खरना मनाइँदै छ । दिनभर केहिपनि नखाएर उपवास बसेका ब्रतालुहरु आज साँझ खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाउने गर्दछन् ।
नियम निष्ठाका साथ खीर बनाएर आफु ग्रहण गर्नुको साथै घरपरिवार र अाफन्तहरुका सदस्यहरुलाई समेत प्रसादको रुपमा खान दिने चलन छ । पारिवारिक एवं सन्तानको सुखसमृद्धिको कामना गरी निकै नियम निष्ठा पूर्वक मनाइने छठपर्व बुधबारबाट विधिवत सुरु भएको हो । चारदिनसम्म मनाइने छठ पर्वको पहिलोदिन बुधबार ब्रतालुहरुले नुहाएर अरबा–अरबाईन खाएका थिए । यो दिनलाई ‘नहाय खाय’ भनिन्छ । त्यस अघि बुधबार ब्रतालुहरुले माछा र कोदो बारेका थिए ।
छठपर्वको मूख्य दिन शुक्रबार रहेको छ । भोलि छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्य र शनिबार उदाउँदो सूर्यको अर्घ दिएपछि विधिवत छठ पर्व समापन हुनेछ ।
छठ पर्वमा बाँसको ढाकी, माटोको कोसिया कुरबार, हाती लागयतको विभिन्न सामग्रीहरु चढाईन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।
अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।









































































































