
शुभ नारायण यादव-
सप्तरी, जेठ १८ गते ।
सप्तरीमा आइतबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।
पछिल्लो पटक आज थपिएका १२ जना सबै भारतबाट फर्केका पुरुष हुन् । सप्तरीको राजगढ गाउँपालिकाको विभिन्न वडा घर भएका उनीहरु ९ दिन अघिमात्र भारतबाट घर फर्केका हुन् ।
उनीहरुलाई सोही गाउँपालिकास्थित एक विद्यालयको क्वारेन्टाइन केन्द्रमा राखी स्वाब संकलन गरि परिक्षणका लागि तीन दिन अघि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।
आइतबार दिइसो प्राप्त रिपोर्टले उनीहरुमा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयाे ।
आइसोलेसन बेडको अभावका कारण संक्रमित सबैलाई अहिले सोही गाउँपालिकाको क्वारेन्टाइन केन्द्रमा छुट्टै कोठामा राखिएको बताउनुभयाे ।
सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अन्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेशन बेडको अभाव भएकाले लामो समयदेखी बन्द रहेको यहाँस्थित साई कृष्ण मेडिकल कलेजमा ५७ बेडको थप आइसोलेशन कक्ष निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउँदै उहाले संक्रमण पुष्टि भई क्वारेन्टाइनमै बसिरहेका संक्रमितहरुलाई आइतबारै रातीसम्म ल्याई आइसोलेशन कक्षमा राख्ने तयारी भइरहेको जानकारी दिनुभयाे








































































































