
काठमाडौँ । फागुन २१ गते हुने चुनावका लागि टिकट वितरण तथा सिट बाँडफाँटका लागि मधेस केन्द्रित दलहरूको सङ्घीय लोकतान्त्रिक मोर्चा दबाबमा परेको छ । मोर्चामा कुन दलले कति सिट पाउने र कहाँ कहाँ पाउने टुङ्गो नलागे पछि मोर्चा दबाबमा परेको हो ।
चुनावमा सिट बाँडफाँट गर्ने सहमति यसअघि नै भए पनि हालसम्म मोर्चामा सहमति बन्न सकेको छैन । मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, डा.सिके राउत नेतृत्वको जनमत पार्टी र रेसम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल रहेका छन् ।
यी दलका बिचमा चुनावमा तालमेल हुने सहमति भएको छ । राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनमत पार्टीका नेताका अनुसार जसपा नेपालका कारण सिट बाँडफाँटमा ढिलाइ भइरहेको छ । हालै जसपा नेपाल, लोसपा नेपाल, जनता प्रगतिशील पार्टी नेपाल र तमलोपाबिच एकता भएको छ ।
राष्ट्रिय मुक्ति पार्टीका महासचिव सन्तोष मेहताले मोर्चामा हालसम्म कुनै सहमति नबनेको बताए । उनले चुनाव केन्द्रित दुई वटा बैठक बसिसके पनि त्यसमा कुनै सहमति नभएको बताए । ‘खासगरी अरू दलहरूले आ–आफ्नो तयारी गरिसकेका छन् । जसपा नेपालबाट नै ढिलाइ भइरहेको छ । जसपा नेपालले भर्खर एकता सम्पन्न गरेको छ । सो पार्टीले सिट मिलाएर मात्र मोर्चासँग कुरा गर्ने भनेका कारण ढिलाइ भइरहेको जस्तो लागेको छ’ उनले भने ।
जसपा नेपालका नेता रामकुमार शर्माले भने मोर्चाका शीर्ष नेताहरू आन्तरिक छलफलमा रहेकाले चाँडै सहमति हुने बताए । उनले भने, ‘मोर्चामा रहेका दलका अध्यक्षहरू छलफलमा हुनुहुन्छ, भोलि पर्सिसम्म सिटको टुङ्गो लाग्छ ।
अर्को एक स्रोतले भने सिट बाँडफाँटबारे तीन वटा मोडालिटीमा कुराकानी भइरहेको बताएको छ । श्रोतले भन्यो, ‘तीन वटा मोडालिटीमा कुरा भइरहेको छ । पहिलो, मोर्चामा रहेका शीर्ष नेताहरूलाई जसरी पनि चुनाव जिताउने । दोस्रो, चुनाव जित्ने हरेक नेताहरूलाई जिताउन पहल गर्ने र तेस्रो, जहाँ कुरा मिल्दैन त्यहाँ मित्रवत् प्रतिस्पर्धा गर्ने ।’
हरेक क्षेत्रमा हरेक सिटमा तालमेल हुने सम्भावना पनि निकै कम भएको आकलन मोर्चाले गरेको छ । ‘जहाँ जहाँ तालमेल हुन्छ त्यहाँ तालमेल गर्ने, जित्नेलाई सहयोग गर्ने, तालमेल नहुने ठाउँमा मित्रवत् प्रतिस्पर्धा गर्ने विषयमा नै सहमति गरेर जाने सम्भावना बढी छ’ स्रोतको भनाइ छ ।
जनमत पार्टीका उपाध्यक्ष ई.नरेन्द्रप्रसाद चौधरीले मोर्चामा सहमतिका लागि प्रयास भइरहेको र चाँडै परिणाम आउने बताए । उनले भने, ‘समय नजिक आएको कारण दलहरूमा प्रेसर बढेको छ तर शीर्ष नेताहरू त्यसका लागि आन्तरिक रूपमा छलफलमा हुनुहुन्छ । विश्वास गरौँ चाँडै केही निष्कर्ष आउँछ ।’
प्रतिनिधिसभा चुनावका लागि माघ ६ गते उम्मेदवारी दिने निर्वाचन तालिका रहेको छ ।








































































































