मुसहर बस्तीमा सामुदायिक शौचालय


सिरहा, चैत १८ । यहाँको लहान नगरपालिका–२१ कलाबन्जरमा सामुदायिक शौचालय निर्माण गरी समुदायलाई हस्तान्तरण गरिएको छ ।

लहान नगरपालिका, नेपाल खानेपानी संस्थान, वाटर एड नेपाल, एङ्गलियन वाटर र दलित कल्याण युवा क्लबको संयुक्त साझेदारीमा सञ्चालित ‘द विकन’ परियोजनाअन्तर्गत निर्माण गरिएको उक्त शौचालय १४ कोठे रहेको छ ।

लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले मुसहर समुदायमा सरसफाइको कमीका कारण धेरै रोग लाग्ने र घरघरमा शौचालय बनाउँदा सही रुपमा प्रयोग नहुने हुँदा सामुदायिक शौचालय निर्माण गरी हस्तान्तरण गरिएको बताउनुभयो ।

४१ घरधुरीले प्रयोग गर्ने शौचालय सञ्चालनका लागि मासिक प्रति घर परिवार रु एक सयका दरले रकम सङ्कलन गर्नेछन् । रु २८ लाख ६२ हजार आठ सय आठ लागतमा शौचालय निर्माण गरिएको परियोजनाका इञ्जिनियर सुन्दर साहले जानकारी दिनुभयो ।

दलित जन कल्याण युवा क्लबका कार्यकारी निर्देशक विनोदकुमार विशुन्केले लहान नगरपालिकाभित्र पाँच स्थानमा सामुदायिक शौचालय निर्माण गरी सञ्चालन गरिएको बताउनुभयो ।

सो समुदायका स्थानीयले सामुदायिक शौचालय निर्माण भएका खुशी व्यक्त गरेका छन् । “शौचालय निर्माण भएपछि हामीलाई सजिलो भयो अब हामी बाहिर जादैनौँ”, दिनाराम सामुदायिक शौचालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण सदायले भन्नुभयो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

Next Post