हिन्दू महिलाद्वारा मुस्लिम एकल महिलाहरुलाई पर्व मनाउन सहयोग


राजविराज, चैत १७ । मुस्लिम धर्माबलम्बिहरुको महान पर्व इद–उल–फित्रको अवसर पारेर सोमवार यहाँ हिन्दू धर्माबलम्बिले नेतृत्व गरेको एक संस्थाले सामाजिक सद्भावको उदाहरण प्रस्तुत गर्दै विपन्न समुदायकी ६ दर्जन भन्दा बढी मुस्लिम एकल महिलालाई लक्षित गरी कुता सुरुवाल वितरण गरेको छ ।

एकल महिला आत्मनिर्भरता तथा पुनस्र्थापना केन्द्र सप्तरीले पर्व मनाउन जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका र तिरहुत गाउँपालिकाका गरी ७६ जना एकल महिलालाई कुर्ता सुरुवाल वितरण गरेको हो ।

एकल महिला क्षेत्रमा क्रियाशिल उक्त संस्थाकी अध्यक्ष जुही ठाकुरको नेतृत्वमा एक टोली गाउँमै पुगेर ७६ जना मुस्लिम एकल महिलालाई उक्त लुगा प्रदान गरेको छ ।

आर्थिक अभावमा पर्वको समयमा समेत नयाँ लुगा किन्न असमर्थ रहेका उनीहरु वारे संस्थाकै स्वयंसेविकाहरुले खबर गरे पछि सानो सहयोग लिएर इदको बधाई दिन आई पुगेको अध्यक्ष ठाकुरले सुनाइन ।

सो अवसरमा टोलीमा सहभागी महिलाहरुले सहयोग प्राप्त गर्ने मुस्लिम महिलाहरुलाई अंगालो हालेर शुभकामना साटासाट गरे ।

हिन्दू धर्माबलम्बिहरुले मनाउने पर्वहरुमा विशेष गरी विपन्न समुदायका एकल महिलालाई साडी वितरण गर्दै आएको सो संस्थाले धर्म फरक भए पनि मुस्लिम समुदायकी एकल महिलालाई समेत सहयोग गर्दा हिन्दु–मुस्लिम अझ बलियो बनाउने काम गरेको स्थानीयहरुको भनाई छ ।

स्थानीयबासी मो. मज्जोले भने– “धर्म फरक भए पनि भावनात्मक सम्बन्धले आफसी सद्भाव मजबुत बनाउने काम गरेको छ ।” उनले यस क्षेत्रमा परापूर्व कालदेखि हिन्दू र मुस्लिम मिलेर एक अर्काको चाडपर्वमा सहभागी हुने गरेको जानकारी समेत गराए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

Next Post