मन्त्री लेखीले धनुषाका पत्रकारहरूलाई भने–‘अल्छि


जनकपुरधाम, ११ चैत । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले धनुषाका पत्रकारहरू ‘अल्छि’ भएको आरोप लगाएका छन् ।

उनले सोमवार आयोजित पत्रकार आचारसंहिता पालना सम्बन्धी गोष्ठीमा पत्रकारहरूको कार्यशैली र पेशागत क्षमतामा सुधारको आवश्यकता रहेको भन्दै गम्भीर टिप्पणी गरेका छन् ।

मन्त्री लेखीका अनुसार धनुषामा लगभग २ सय पत्रकार रहेका छन् । तर, कार्यक्रमको सहभागीमा ४५ जना मात्र उपस्थित भएका थिए । उनले थपे, ‘तिनमा पनि १३–१४ जना मात्रै लेख्न र बोल्न सक्षम छन् जस्तो मलाई लाग्छ ।’

मन्त्री लेखीले २५–३० वर्षअघि पत्रकारिता एक ‘मिशन’को रूपमा थियो । तर, अहिले पत्रकारिता बद्लिएको बताउँदै अहिलेका पत्रकारहरूलाई ‘अल्छि’ भएको आरोप लगाए । उनका शब्दमा, ‘आजका पत्रकारहरूसँग लेख्न र बोल्नका लागि आवश्यक ल्याकत छैन । उनीहरूलाई सुधारको आवश्यकता छ ।’

मन्त्री लेखीले प्रेसको जिम्मेवारी सरकारभन्दा पत्रकारकै हातमा रहेको कुरा पनि उठाए । उनले भने, ‘पत्रकारिता पेशालाई सम्मानित बनाउने जिम्मेवारी सरकारको भन्दा पत्रकारकै हातमा छ । पत्रकारहरूले आफूलाई पेशागत मर्यादामा बाँधेर काम गर्नुपर्ने आवश्यकता छ ।’ उनका अनुसार पत्रकारिता सुधारको प्रयास सरकारले गर्न सक्छ । तर, प्रमुख भूमिका सञ्चारकर्मीकै हो ।

मन्त्री लेखीको यस बयानले यहाँका पत्रकारहरूको बीचमा असन्तुष्टि र आक्रोश पैदा गरेको छ ।

नेपाल पत्रकार महासंघ धनुषाका पूर्वअध्यक्ष अनिल मिश्रले मन्त्री लेखीको भनाइको विरोध गर्दै भने, ‘पत्रकारहरूको कार्यशैलीमा सुधारको आवश्यकता छ भने त्यो आरोप र आलोचनाबाट होइन, संवाद र सहकार्यबाट हुन सक्छ ।’ मिश्रका अनुसार मन्त्रीले पत्रकारिता पेशाको सम्मान र यसको भूमिकाबारे गहिरो बुझाइ राख्न आवश्यक छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

Next Post