जनकपुरधाम, चैत ११ । कुटनीतिक मर्यादा विपरित उत्तरप्रदेशका मुख्यमन्त्री संग भेटन पुगेका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आफनो फेसबुक बाट सो भेटका तस्विरहरु हटाएका छन ।
मधेश टुडेले चैत ८ गते ‘मुख्यमन्त्रीले पटक पटक तोडदै मर्यादा, चोरी–चोरी विदेश भ्रमण’ शिर्षकमा समाचार प्रकाशित गरे पछि १० गते मधेश प्रदेश सभामा प्रतिपक्षीदल जनता समाजवादी पार्टी नेपाल र नेकपा माओवादी केन्द्रले कुटनीतिक मर्यादाको उल्लंघन गरेको भन्दै विरोध जनाएपछि मुख्यमन्त्री सिंहले आफनो आधिकारिक फेसबुकबाट सो भेटका तस्विरहरु डिलिट गरेका छन ।
उनले तस्विर डिलिट गर्नुका साथै आफ्नो फेसबुक प्रोपाइल ‘लक्ड’ समेत गरेका छन् ।
उनले आदित्यनाथसँग भेटघाट गरेका तस्वीर आफना फेसबुकमार्फत सार्वजनिक गरेका थिए । विहीवार योगी आदित्यनाथ संगे भेटेका मुख्यमन्त्री सिंहबारेका समाचारहरु शुक्रबार विभिन्न संचारमाध्यमहरुमा प्रकाशित भएको थियो ।
संविधानअनुसार मुख्यमन्त्रीले विदेश भ्रमण गर्न सङ्घीय सरकारको स्वीकृति लिनुपर्छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार मधेश प्रदेशका मुख्यमन्त्रीको भारत भ्रमणबारे सङ्घीय सरकारलाई जानकारी नै छैन ।
उनले सामाजिक सञ्जालमा योगीसँग भेटेको तस्वीर राख्दै लेखेका थिए, ‘भेटमा जननी जानकीको पवित्रभूमि जनकपुरधामसँगै मधेस प्रदेशको धार्मिक, सांस्कृतिक र पर्यटकीय विकासको व्यापक सम्भावनाका विषयमा विस्तृत कुराकानी भएको छ ।’
सङ्घीय सरकारको अनुमतिबिना नै भारत गएका मुख्यमन्त्री सिंहले योगीसँग ‘रामायण सर्किट र सीता सर्किटको विकासका लागि उत्तर प्रदेश सरकारको सहयोग’ विषयमा कुराकानी गरेको बताएका छन् ।
तर, नेपालको संविधानअनुसार वैदेशिक सहयोगसम्बन्धी अधिकार सङ्घीय सरकारलाई मात्र छ, जसले उनको यो कदमलाई थप विवादित बनाएको छ ।
मुख्यमन्त्री सिंहसँगै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी र नेपाली काङ्ग्रेसका पूर्वसांसद अभिषेकप्रताप साहले पनि योगीसँग भेट गरेका छन् । स्रोतका अनुसार यो भेटको सम्पूर्ण चाँजोपाँजो पूर्वसांसद साहले मिलाएका थिए ।
मुख्यमन्त्री सिंह, पूर्वमुख्यमन्त्री चौधरी र पूर्वसांसद साहको भारत यात्रा तथा योगीसँगको भेटघाटबारे भारतस्थित नेपाली दूतावास र नेपालस्थित भारतीय दूतावासले पनि अनभिज्ञता प्रकट गरेका छन् ।
यसअघि काठमाडौंमा भएको राजावादी आन्दोलनमा योगीको तस्वीर प्रयोग भएको थियो । यस्तो अवस्थामा सङ्घीय सरकारको जानकारीबिनै मुख्यमन्त्रीको भारत भ्रमण प्रश्नको घेरामा परेको छ ।







































































































