जनकपुरधाम, चैत ९ । मधेश प्रदेश सरकारलाई भू–माफिया संग साटघाट रहेको खुलासा भएको छ । प्रदेश सरकारले गुठीको जग्गा लिजमा लिएर निजी जग्गामा बाटो खोल्ने काम गरेको पाइएको छ ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानकालागि जनकपुरधाम–१३ मुजेलिया स्थित मणिमण्डपको पश्चिम पट्टि कलेज खोल्नकालागि लिजमा लिएको जग्गाको दक्षिण, पश्चिम र उत्तर पट्टि १० देखि १२ फिट बाटो छोडेको पाइएको छ । गुठी संस्थानबाट २०७९ जेठ २३ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानले सम्झौता गरेको १८ विघा १२ कठ्ठा १५ धुर २ कनमा जग्गाको तीन तिर स्थानीय जग्गाधनीहरु संगको मिलोमतोमा छाडिएको जग्गा करिव दुई विघा जति हुन सक्ने स्थानीयहरु बताउँछन् ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपति, रजिष्ट्रार र निर्देशकले जग्गाधनी संग सम्झौता गरेर सो बाटो छोडेका छन् । प्रतिष्ठानकालागि कलेजको भवन निर्माणकालागि लिजमा लिएको सो जग्गाको अहिले घेराबेरा हुदैँछ । तर, तीनै साइडबाट सडक छाडेपछि स्थानीयबासी जागरुक भएका छन् ।
स्थानीयबासीहरु भन्छन्–‘गुठीको जग्गा संरक्षण गर्ने हाम्रो पनि दायित्व हो, हमी कुनै हालतमा गुठीको जग्गा बर्बाद हुन दिन चाहन्नौं ।’
गुठी संस्थान जनकपुरधामले आफ्नो सम्पूर्ण जग्गामा बोन्ड्रिवाल गर्नुपर्ने भन्दै पटक–पटक स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मौखिक जानकारी गराइए पनि कुनै सुनुवाई हुन सकेको छैन् । यस बिषयमा स्थानीयबासीहरुले प्रदेश सरकार देखि गुठी संस्थान सवैलाई जानकारी गराई सकेका छन् ।
सो बाटोमा वडा नम्वर १३ का वडाध्यक्ष जीतवहादुर राउत संगै एक दर्जन राउत परिवारको जग्गा छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपति डा. अंकुर साह र शिक्षाध्यक्ष डा. रामनरेश पण्डितले २०८१ फागुन १८ गते वुँदे सहमति गरी त्यहाँ बाटो खोलाएका छन् । फागुन १८ गते बसेको बैठकमा वडाध्यक्ष राउत संगै पूर्व वडाध्यक्ष शुभनारायण मण्डल संगै राम प्रवोध राय, नरायण राउत, तपेश्वर राउत, अरुण राउत, कैलाश राउत, विमल राउत, प्रमोद राउत र सरोज राउत बसेको बैठकमा सडक निर्माणको एक बुँदे सहमति गरेका छन् । स्थानीयबासीका अनुसार बैठकमा उपस्थित सवैको जग्गा खोलिएको सो बाटोमा पर्ने गरेको छ ।
फागुन १८ गतेको निर्णय विरुद्ध २१ गते स्थानीयबासीहरु गुठी संस्थानमै लिखित उजुरी दिए पनि गुठी संस्थानले सो बाटो बराबरको जग्गा संरक्षण गर्न सकेको छैन् । गुठीका कर्मचारीहरुले स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण जग्गामा बन्ड्रिवाल गर्न मौखिक भन्दा पनि त्यहाँ भने बाटो छोडेरनै बन्ड्रिवाल भईरहेको छ ।
स्रोतका अनुसार खोलिएको त्यो सडकमा प्रतिष्ठानका उप–कुलपति साह, रजिष्ट्रार विनोद यादव र शिक्षाध्यक्ष रामनरेश पण्डितको पनि जग्गा रहेको छ । उनीहरुले आफ्नो स्वार्थकालागि सो जग्गामा सडक खोलेका छन् ।










































































































