
१३ माघ, बिरगंज । २२ पुसमा सर्लाहीको मलङ्गवा नगरपालिका–३ का एक बालकमा दादुराको लक्षण देखियो । सुरुमा देखिएको लक्षण दादुरासँग मिल्दोजुल्दो भए पनि तत्कालै दादुरा हो भन्ने पुष्टि हुन सकेन । शंकाका आधारमा लिइएको नमुना परीक्षण गर्दा भने दादुरा पुष्टि भयो ।
पहिलो संक्रमित बालकको पहिचानसँगै स्वास्थ्यकर्मीहरू थप सतर्क बने । केही दिन नबित्दै बालकको सम्पर्कमा आएका अन्य बालबालिकामा पनि उस्तै लक्षण देखिन थाल्यो । त्यसपछि पहिलो संक्रमितसँग नजिकको सम्पर्कमा रहेका ६ जना शंकास्पद बालबालिकाको नमुना संकलन गरियो । परीक्षणको नतिजाले सबैलाई चकित बनायो । सबै जनामा दादुरा पुष्टि भयो ।
अहिलेसम्म दादुराको लक्षण देखिनेको संख्या २३ पुगेको छ । तीमध्ये २२ जना मुस्लिम समुदायका बालबालिका छन् ।
स्वास्थ्य प्रणालीले यसलाई सामान्य घटना नभई महामारीको रूपमा लियो । त्यसपछि तयारी तीव्र बनाइयो । राष्ट्रिय खोप समिति तथा महामारी प्रतिकार्य संयन्त्रसँग समन्वय गर्दै मलङ्गवामा आपतकालीन बैठक बस्यो । निगरानी कडा पारियो र संक्रमण फैलिन नदिन खोप अभियान सुरु गर्ने निर्णय गरियो ।
कसरी फैलियो दादुरा ?
स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार पहिलो संक्रमित निजी विद्यालयमा मदरसामा पढ्न जाने एक विद्यार्थी थिए ।
मदरसा जाने बालबालिकामा एउटै लक्षण देखिएपछि स्थानीय तहले निगरानीमा राखेर परीक्षण गर्दा दादुरा पुष्टि भयो । त्यही स्कुलबाट संक्रमण समुदायमा फैलिएको प्रारम्भिक निष्कर्ष छ ।
अहिले संक्रमण मलङ्गवा नगरपालिका–२, ३, ४, ८, ९ र १० नम्बर वडासम्म फैलिएको छ ।
स्वास्थ्य टोलीको प्रारम्भिक अध्ययनले केही महिनाअघि सीमावर्ती क्षेत्र भारतमा दादुराको आउटब्रेकसँग जोडिएको हुनसक्ने देखाएको छ । गत मंसिरमा भारतीय क्षेत्रमा दादुराको प्रकोप देखिएको र त्यहीँबाट आएका व्यक्तिमार्फत संक्रमण फैलिएको आशंका छ ।
स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाले दादुरा फैलिएको विषयमा स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको टिमले अनुसन्धान गरिरहेको बताए ।
अधिकांश संक्रमित बालबालिका वडा नम्बर ३ का मुस्लिम समुदायका रहेको उल्लेख गर्दै डा. झा भन्छन्, ‘संक्रमित बालबालिकाले दादुराको खोप लिएका छैनन् । मुस्लिम समुदायमा खोपको पहुँच र कभरेज अन्य समुदायको तुलनामा कम देखिन्छ ।’
सीमापारि भारततर्फ दादुरा फैलिएको र त्यहाँका बालबालिका पनि मदरसामा पढ्ने गरेकाले संक्रमण सरेको हुनसक्ने सम्भावना रहेको डा. झाले बताए । तर यसबारे ठोस पुष्टि भइनसकेको स्पष्ट पारे ।
उनका अनुसार खोप नलगाउने प्रवृत्ति मुस्लिम समुदायमा अझै कायम छ ।
‘घरमै बच्चा राख्ने, खोप लगाउन नदिने वा लगाएको भनेर गलत जानकारी दिने अवस्था पनि छ । यस्तो समस्या दादुरामा मात्र होइन, अन्य खोपहरूमा पनि देखिन्छ,’ डा. झा भन्छन् ।
संक्रमित भएका बालबालिका ६ महिना देखि ११ वर्षसम्मका छन् ।
डा. झाका अनुसार संक्रमण फैलिएको क्षेत्र विशेषगरी मुस्लिम समुदाय बाहुल्य छ । खोपप्रति आशंका र धार्मिक–सांस्कृतिक हिचकिचाहटका कारण विगतमा धेरै बालबालिका नियमित खोपबाट छुटेका थिए ।
गत वर्षको राष्ट्रिय खोप अभियानमा पनि केही अभिभावकले खोप लगाउन अस्वीकार गरेका थिए । खोप लगाउन छुटेको कारणले नै अहिले दादुरा प्रकोपको मुख्य कारण बनेको डा. गौतम बताउँछन् ।
‘बालबालिका लामो समयसम्म खोपबाट बाहिर रह्यो भने, कुनै एक संक्रमित व्यक्ति पुगेपछि आगोसरी फैलिन्छ,’ डा. गौतम भन्छन्, ‘सर्लाहीको मलङ्गवामा यही भएको देखियो ।’
सर्लाहीमा फैलिएको दादुरालाई महमारीको रूपमा लिई नियन्त्रणको काम भइरहेको डा. गौतमले बताए ।
८ हजार बालबालिकामा खोप
सोमबारदेखि मलङ्गवामा ६ महिनादेखि १५ वर्षमुनिका करिब ८ हजार बालबालिकालाई लक्षित गरेर खोप अभियान सञ्चालन भइरहेको छ ।
जोखिमयुक्त क्षेत्र र समुदायलाई प्राथमिकतामा राखिएको छ । २०७९ पुसमा पनि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–७ को एउटा मुस्लिम परिवारमा ५ जना बालबालिकामा दादुरा पुष्टि भएको थियो । दादुराले महामारीकै रूप लिएको थियो । सरकारलाई नियन्त्रण गर्न कठिन भएको थियो ।
तर, सर्लाहीमा भने समयमै संक्रमण पत्ता लागेकाले नियन्त्रण सम्भव देखिएको डा. गौतम बताउँछन् । ‘केही वर्ष अगाडि बाँकेमा फैलिएको दादुरा संक्रमण १८ जिल्लासम्म पुगेको थियो,’ डा. गौतमले भने, ‘अहिले समयमै संक्रमण पत्ता लगाएका छौं । नियन्त्रण गर्ने प्रयासमा छौं ।
दादुरा नियन्त्रणका लागि मदरसा, विद्यालय र सार्वजनिक स्थानमा खोप केन्द्र स्थापना गरी विद्यालय जाने बालबालिका र घरमै बस्ने बालबालिकालाई खोप दिइँदै आएको डा. झाले जानकारी दिए ।
प्रत्येक वर्ष जस्तो दादुराको आउट ब्रेक भइरहेको छ । खोप अभियान सञ्चालन गरिरहँदा पनि दादुराको आउट ब्रेक भइरहेको छ भन्ने प्रश्नमा डा. गौतम भन्छन्, ‘कुनै क्षेत्रमा खोप लगाउने दर हुन्छ कम हुन्छ । जहाँ पकेट एरिया बन्छ र बालबालिकामा प्रतिरोधात्मक क्षमता विकास हुँदैन । यस्तो अवस्थामा कुनै संक्रमित व्यक्ति पुग्दा दादुराको संक्रमण पेट्रोलमा आगो सल्केजस्तै तीव्र गतिमा संक्रमण फैलिन्छ ।’
धर्मगुरुसँग संवाद, विश्वास जित्ने प्रयास
समुदायमा खोपप्रतिको डर हटाउन स्वास्थ्य टोलीले धर्मगुरुहरूसँग प्रत्यक्ष संवाद सुरु गरेको छ । मौलाना र धार्मिक अगुवाहरूले खोप अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अन्तरधार्मिक सञ्जालमार्फत सचेतना सन्देश फैलाएको डा. गौतमले बताए ।
‘धर्मगुरुले भनेको कुरा समुदायले चाँडो मान्छ,’ डा. गौतम भन्छन्, ‘तर अन्तिम निर्णय त व्यक्तिगत रोजाइ नै हो ।’
‘एक जनाबाट १८ जनासम्मलाई सर्न सक्छ’
दादुरा अत्यन्त संक्रामक भाइरसले गर्दा हुने रोग हो । यो साना बालबालिकामा हुने मृत्यु र विकलांगताको समेत प्रमुख कारक हो । चिकित्सकका अनुसार, कडा रूपमा देखिने दादुरा कुपोषित बालबालिका र शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई बढी हुने गर्छ ।
दादुरा अति छिटो सर्ने संक्रामक रोग हो जुन मिजल्स भाइरसको कारणबाट हुन्छ ।
दादुरा सामन्यतयाः ५ वर्षमुनिका बालबालिकामा धेरै हुने र छिट्टै फैलिएर महामारीको जोखिम हुने विज्ञहरु बताउँछन् । दादुरा संक्रमण भएमा गम्भीर प्रकारका जटिलताहरू हुनुका साथै मृत्युसमेत हुनसक्छ ।
दादुरा भाइरस व्यक्तिको नाक तथा घाँटीमा रहेर वृद्धि हुने र श्वास नली एवं अरू भित्री अंगहरूमा संक्रमण गर्छ । रोग लागेको व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा निस्कने छिटाबाट हावाको माध्यमबाट दादुराको संक्रमण सर्छ ।
सामान्य अवस्थामा एक संक्रमितबाट १८ जनासम्म व्यक्तिहरूमा दादुरा–रुबेला सर्न सक्छ । त्यसैगरी यी रोगबाट सामान्यतया १० प्रतिशत बालबालिकाको मृत्यु हुनसक्छ भने आपतकालीन अवस्थामा मृत्युदर ३० प्रतिशतसम्म हुनसक्छ ।

वरिष्ठ बालरोग विशेषज्ञ डा. रामहरि चापागाईंका अनुसार दादुरा मिजेल्स भाइरसले गराउने अत्यन्त छिटो सर्ने संक्रामक रोग हो, जसले बालबालिकामा गम्भीर जटिलता र मृत्युसम्म गराउन सक्छ ।
‘दादुरा एक जनालाई लागेमा उसले कम्तीमा १८ जनासम्मलाई सर्न सक्छ । कोरोना भाइरसको तुलनामा पनि यसको संक्रमण दर धेरै उच्च हुन्छ,’ डा. चापागाईं भन्छन्, ‘आज एउटा वडामा देखिएको संक्रमण भोलिपल्टै अर्को वडामा पुगिसक्छ ।’
हावाबाट सर्ने भएकाले भिडभाड, विद्यालय र सामूहिक गतिविधिबाट संक्रमण तीव्र रूपमा फैलिने उनको भनाइ छ ।
दादुराले निमोनिया जस्ता श्वासप्रश्वाससम्बन्धी समस्या गराउँछ, जुन बालबालिकाका लागि घातक हुनसक्छ । चिकित्सकका अनुसार दादुरा संक्रमणबाट पखाला लाग्ने, कानको संक्रमण हुने, निमोनिया हुने, अन्धोपन हुने, कम्पन आउने, मस्तिष्कमा कडा खालको संक्रमण हुने र यस प्रकारका जटिलताबाट बिरामीको मृत्यु समेत हुनसक्छ ।
दादुराको सामान्य लक्षण हो– तीव्र ज्वरो आउनु । दादुरा भएकाहरूको सम्पर्कमा आएको १०–१२ दिनपछि ज्वरो सुरु हुन्छ र ४ दिनदेखि एक सातासम्म रहिरहन्छ ।
दादुरा लाग्दा बालबालिकालाई थकान महसुस हुने तथा रुघा–खोकी लाग्ने गर्छ । आँखा राता हुने, मुख भित्र सेतो दाग देखिने पनि हुनसक्छ । केही दिनपछि सामान्यतया अनुहार र घाँटीको माथिल्लो भागमा बिमिरा देखिन्छ । बिमिरा तीन दिनपछि फैलिन्छ र हात–खुट्टामा समेत देखिन थाल्छ र ५–६ दिनपछि आफैँ फोस्रिँदै जान्छ ।
‘लक्षण देखिए आइसोलेसनमा राख्नुपर्छ’
संक्रमण फैलिएका क्षेत्रका बालबालिकालाई तत्काल आइसोलेसनमा राख्नुपर्नेमा डा. चापागाईं बताउँछन् । उनका अननुसार सकेसम्म संक्रमित बालबालिकालाई अलग राख्ने, विद्यालय बन्द गर्ने, कन्ट्याक्ट कम गर्ने उपाय अपनाउनुपर्छ ।
रोग लागिसकेपछि उपचार सपोर्टिभ मात्र हुने भएकाले ज्वरो घटाउने औषधि, निमोनियाको उपचार र भिटामिन ‘ए’ अनिवार्य रूपमा खुवाउनुपर्ने उनको सुझाव छ ।
दादुराबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय भनेको खोप नै हो । चिकित्सकहरूका अनुसार, दादुरा लागेपछि यसको उपचार छैन । तर अरूलाई सर्नबाट बचाउन बिरामीलाई अलग्गै राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षणअनुसार उपचार गर्नुपर्छ ।
तत्काल नियन्त्रणका लागि विद्यालय बन्द गर्ने, बालबालिकालाई आइसोलेसनमा राख्ने, जटिल अवस्था भएका बालबालिकालाई अस्पतालमा उपचार गर्ने र सबै लक्षित उमेर समूहलाई दादुराको खोप सुनिश्चित गनुपर्ने डा. चापागाईंको भनाइ छ ।







































































































