राणाशासनबिरुद्धको आन्दोलनमा राजलाल कलवारको योगदान


राकेशप्रसाद चौधरी

राणाशासनविरुद्ध १९९७ सालको पर्चा टाँस आन्दोलनमा काठमाडौंमा शहिद भएकाहरुको योगदान अविस्मरणीय छ । शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई अंश सर्वस्व भई ज्यान सजाय दिइएको थियो । माघ १० देखि १५ गतेसम्ममा चारैजनाको ज्यान लिइएको थियो ।

नासु पूर्णनाराण प्रधानलाई यी चारजनाजस्तै सजाय रहेकोमा पछि तत्कालिन प्रधानमन्त्री जुद्धशम्शेरबाट १८ बर्ष कैद हुने आदेश भयो । राणाबिरोधी आन्दोलनमा लागेका टंकप्रसाद आचार्य र रामहरि शर्र्मालाई अंश सर्वस्व भई चारपाटा मुडियो तथा चूडाप्रसाद शर्मा, गोबिन्दप्रसाद उपाध्याय, पुस्करनाथ उप्रेती, चन्द्रमान सैँजु, फत्तेबहादुर,चिनियाँलाल, मुकुन्दनाथ रिमाल, बलबहादुर पाण्डे, गणेशमान श्रेष्ठ, हरिकृष्ण श्रेष्ठलाई अंश सर्वस्व भई जन्मकैद तथा मुरलीधर भट्टराईलाई जन्मकैदको सजाय दिइएको थियो ।

आन्दोलनमा लागेका धेरैलाई सर्वस्वसहित पाँच बर्षदेखि १८ बर्षसम्मको कैद तोकिएको थियो । केहीलाई दुई महिनादेखि तीनबर्षसम्मको कैद तोकिएको थियो भने जागिरमा रहेकाहरुको जागिर खोसिएको थियो भने जरिवाना गरिएको थियो ।

काठमाडौंमा राणाबिरोधी आन्दोलनमा तन, मन र धनले लागेका एक मात्र मधेशी राजलाल कलवारले सर्वस्वसहित पाँचबर्ष कैदको सजाय पाएका थिए । कलवारको सम्बन्ध बीरगंजसँग थियो । पर्चा टाँस्ने आन्दोलनभन्दा अगाडि १९९४ सालमा ४४ बर्षको उमेरमा शुक्रराज शास्त्रीले भारतमा महात्मा गान्धी र नेताजी सुभाषचन्द्र बोससँग अलग अलग भेटघाट गरेका थिए । यो सूचना राणाहरु समक्ष पुगिसकेको थियो ।

भारतबाट काठमाडौं फर्किएलगत्तै उनीमाथि निगरानी बढाइएको थियो । असनदेखि महाबौद्ध जाने गल्लीमा रहेको राजलाल कलवारको घरमा सोही बर्ष नागरिक अधिकार समितिको कार्यालय सञ्चालन भयो । शुक्रराजको अध्यक्षतामा रहेको समितिमा कलवार पनि सदस्य थिए । यसको सचिव केदारमान व्यथित तथा प्रचार सचिव शंकरप्रसाद नेपाल थिए ( मल्ल के. सुन्दर, शुक्रराजलाई सम्झेर,माघ १०, २०७६ इकान्तिपुर) राणाशासकले एकबर्षपछि यो समितिमाथि प्रतिबन्ध लगाएर शास्त्रीसहितका केही नेतालाई कैद गरेका थिए ।

शुक्रराज शास्त्री नेतृत्वको समिति सार्वजनिक हुनुभन्दा अगाडि नै दशरथ चन्द र टंकप्रसाद आचार्यले भीमफेदीमा एउटा संगठन निर्माण गर्ने प्रस्ताव गरेका थिए । परिषद प्रति बुद्धिजीविहरुको समर्थन प्राप्त १९३३ सालमा राजनीतिक उद्देश्यका साथ नेपाल प्रजा परिषद गठन भयो । जसको कार्यालय ओमबहालमा रहेको धर्मभक्त माथेमाको घरमा सञ्चालन गरिएको थियो ।

काठमाडौंमा यी घटनाहरुको साक्षी बनेका पत्रकार रधुनाथप्रसाद गुप्ता दिल्लीको पत्रिकामा राणबिरोधी गतिविधि छाँप्ने र त्यहाँबाट पत्रिका मगाउने गरेका थिए । त्यस्तै पटनाबाट रामबृक्ष बेनीपुरी सम्पादनमा रहेको जनता साप्ताहिकले राणाहरुकोबिरुद्धमा लेख, रचना छाँप्ने गरेको थियो । यी पत्रिकामा छाँपिने सामग्रीले राणाशासकको होस उडेको थियो ।

नागरिक अधिकार समितिको गठनभन्दा दुईबर्ष अगाडि जनकपुरमा पं.रामाकान्त झाको नेतृत्वमा २२ युवाको संघर्ष समिति गठन भएको थियो । यस्तै माधवराज जोशी दुई दशक अगाडिदेखि नै विभेदकारी सामाजिक संरचनाबिरुद्ध जनचेतना जगाउने थालेका थिए । परिणामस्वरुप दुईबर्ष कैदपछि देश निकाला गरिए ।

नागरिक अधिकार समितिको गठनभन्दा दुईबर्ष अगाडि जनकपुरमा पं.रामाकान्त झाको नेतृत्वमा २२ युवाको संघर्ष समिति गठन भएको थियो । यस्तै माधवराज जोशी दुई दशक अगाडिदेखि नै विभेदकारी सामाजिक संरचनाबिरुद्ध जनचेतना जगाउने थालेका थिए । परिणामस्वरुप दुईबर्ष कैदपछि देश निकाला गरिए । उनी १९७० सालमा पुनः काठमाडौ फर्केका थिए । सैनिक सेवाबाट निवृत्त खड्कमान सिंह बस्नेतसहितको समूहले १९८८ सालमा प्रचण्ड गोर्खा गठन गरेका थिए (बद्रीप्रसाद दाहाल, प्रजातन्त्र हुँदै लोकतन्त्र,अब जोकतन्त्र ५ फाल्गुन २०७५, नागरिकन्यूज)।

माधवराज जोशीलाई नेपाल आर्य समाजको संस्थापक मानिन्छ । शुक्रराजा शास्त्री(जोशी) माधवराज जोशीका छोरा थिए । नागरिक अधिकार समितिमा लागेका शास्त्रीसँगै राजलाल कलवारलगायतका ब्यक्तिहरु आर्य समाजसँग आवद्ध रहेको समेत देखिन्छ । यी ब्यक्तिहरु विशुद्ध सामाजिक र शैक्षिक जागरण चलाएर ब्राह्मणबाहेक अन्य जातले समेत कर्मकाण्ड पढ्न पाउने आवाज बुलन्द गरिरहेका कारण राणाशासकलाई मन परेको थिएन ।

यो समाजिक चेतनामूलक आन्दोलन बढाउन शुक्रराज शास्त्रीको अध्यक्षतामा गठन भएको यस समितिमा चौबिस जना युवा प्रत्यक्ष सहभागि थिए । केही लेखकले केदारमान व्यथितलाई संगठनमन्त्री तथा शंकरप्रसाद नेपाललाई प्रचारमन्त्री भनेर लेखेका छन् । यस समितिमा राजलाल कलवारबाहेक आनन्दराम श्रेष्ठ, गङ्गालाल श्रेष्ठ, मुरलीधर भट्टराई आदि थिए । काठमाडौंमा धार्मिक प्रवचन सुन्ने परम्परा भएकोले चेतना बढाउने माध्ययम पनि यसैलाई बनाइएको थियो । समितिमा रहेका ब्राह्मणबाहेकका युवाहरुबाट व्याख्यान दिने कार्यको थालनी गर्ने योजना पनि बनाएको थियो ( शीतल गिरी, नेपाल आमाका सपुत, माघ १५, २०७८, गोरखापत्र अनलाइन)। शास्त्रीले नेपालको पहिलो आसभमामा उभिएर १९९५ मंसिर १३ गते भाषण गरेपछि त्यसको भोलीपल्ट भद्रगोल जेल पठाइएको थियो । कलवारलगायतका अन्य गैर ब्राह्मण युवाहरुले धार्मिक प्रवचन दिए÷नदिएकोबारे प्रष्ट रुपमा चर्चा नभएको देखिन्छ । सवैभन्दा पहिले १९९७ माघ १० मा शास्त्रीलाई फाँसी दिइयो ।

पर्चा छपाई टाँस्ने र खसाल्नेबिरुद्ध श्री ३ महाराजको समक्ष जाहेरी गर्नेलाई पाँचहजार रुपैयाँको इनाम रहेकोबारे १९९७ साउन ११ गतेको गोरखापत्रमा नयाँ इस्तिहार छाँपिएको थियो । इस्तिहारमा प्रजापरिषदको नामबाट राजकाजको बदनामी र बकबादी कुराहरु लेखि लिथोमा छाँपी पर्चा टाँस्ने र खसाल्नेलाई दबाउने र दबाउने कोशिश गर्नेलाई समेत सजाय हुने लेखिएको थियो ।

जाउलाखेलमा रातोमच्छिन्द्रनाथको भोटो देखाइने जात्राको राती १९९७ साल असार ९ गते राती पाँच किसिमको पर्चा टाँस्ने र छर्ने निर्णय भए अनुसार परिषदका सदस्यहरुलाई जिम्मेवारी दिइएको थियो । टंकप्रसाद त्यो दिन काशीमा थिए । पर्चा छर्न पुस्करनाथ उप्रेती, केशवराज काकी, मुकुन्दनाथ रिमाल, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, गणेशमान सिंह र हरिकृष्ण श्रेष्ठ, रामहरि शर्मा, बलबहादुर पाण्डे र गोबिन्दप्रसादसँगै क्रान्तिकारी विद्यार्थीहरुले सहयोग गरेका थिए ।

राणाबिरोधी आन्दोलनमा जनकपुर, जलेश्वरमा भएका गतिविधिहरुको एकदम दस्तावेजीकरण भएको पाइन्छ । रक्सौलबाट रेल चढेर अमलेखगञ्जसम्म पुगेर पैदल वा भरियाको मद्दतले काठमाडौं पुग्न सकिन्थ्यो । जनकपुरबाट रक्सौल पुग्न जलेश्वर हुँदै भारत प्रवेश गर्नुपर्दथ्यो । पर्चा छर्ने घटनामा टंकप्रसादको पनि संलग्नता साबित गरियो । काशी (बनारस) मा रहँदा बुबा बिरामी भएको खबर पठाएर बोलाइयो । भारतबाट जलेश्वर प्रवेश गर्दा पक्राउ गरि नेल, हतकडीसहित पैदल हिँडाएर काठमाडौं लगिएको थियो । सो समयमा रातो नदी हुँदै सिन्धुली पुगि अर्को बाटो भएर काठमाण्डौ पुग्न सकिन्थ्यो ।

पर्चा छाँप्न मिल्ने मेसिन कलकत्तामा किनिएको थियो । जसलाई टंकप्रसाद आचार्यले जनकपुरस्थित कोठामा राखेका थिए । गोबिन्दप्रसाद उपाध्यायको सहयोगमा पाटैपुर्जा खोलेर बनाइएको पोका दुबैजनाले १९९६ सालमा आफ्नो बाक्सामा हाँलेर सुरक्षा संयन्त्र छली मीनपचासको बिदा सकिने बेलामा काठमाडौं लगेका थिए । पर्चा छाँप्ने, टाँस्ने र खसाल्ने काम प्रजा परिषदको नेतृत्वमा भएपनि यस अगाडि समातेर छाडिएका आर्य समाजी, मलामी गुठी, नेपाल नागरिक अधिकार समिति एवम् अन्य धार्मिक तथा सामाजिक क्रियाकलापमा संलग्न भनिएका ब्यक्तिहरुलाई असोज महिनाबाट पक्राउ गर्न शुरु गरेको थियो (राजकुमार दिक्पाल,राणाकालका क्रान्तिकारी पण्डित,२०८० पौष १४, शनिबार, उकालो डटकम)। प्रजा परिषदले चार पटकसम्म पर्चा छर्ने काम गरेको थियो । १९९७ सालको पुष २५ गते सम्ममा करिब दुईसयजना माथि आरोप लागेको थियो । जसमध्ये केही तारेख तथा केही थुनामा थिए । सबै उभियुक्तलाई माघ ६ गतेसम्ममा फैसला सुनाइएको थियो । अंश सर्वस्वसहित अथवा बिना अंश सर्वस्वसहित कैदमा रहेको ८० जना राजबन्दीलाई २००७ साल माघ १० गते रिहा गरिएको थियो ।

श्री ३ जुद्धशम्शेरले २००२ साल मंसिर १४ गते फुटबल चौरमा कर्मचारी र साहुमहाजनको उपस्थितीमा पद्मशम्शेरलाई श्रीपेच लगाइदिएका थिए । सो अगाबै थुनामा रहेका १८ जना राजबन्दी छाडिएको थियो । राजलाल कलवारलाई अंश सर्वस्वसहित पाँचबर्ष कैद तोकिएकोले पनि यसै समूहसँग छोडिएको हुनेसक्ने सम्भावना देखिन्छ ।

राणशासनबिरुद्ध जनकपुर र काठमाडौंमा आन्दोलन गरेकाहरुको पहिचान र सम्मान गर्ने दायित्व संघीय सरकारसँगै प्रदेश र स्थानीय सरकारको पनि हो । काठमाडौमा घरधनी रहेपनि सर्वस्व गुमाएका बीरगंजका राजलाल कलवारको इतिहास लेखिनु आवश्यक छ । साथै मधेश सरकारले आफै वा संघीय अथवा स्थानीय सरकारलाई आग्रह गरि मधेश विश्वविद्यालयको नाम मधेश राजलाल विश्वविद्यालय अथवा अन्य कुनै शैक्षिक संस्थानको नामाकरण गरिनु आवश्यक छ । जनकपुरमा आन्दोलन गरेका पं.रामाकान्त झालगायतका २२ जनाको तस्विर संकलन गरि पहिचान तथा सम्मान दिइनु पनि उत्तिकै महत्वपूर्ण काम हो । प्रजातन्त्र स्थापनाका लागि २००७ साल अगाडि भएका राणाशासकबिरोधी आन्दोलन नै अहिलेको पहिचान र अधिकारवादी आन्दोलनको जग भन्ने विषय बुझ्न आवश्यक छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

Next Post