वीरगञ्जमा सामाजिक सद्भाव कायम गर्न मुख्यमन्त्रीको आग्रह


हनुमान जयन्तीका अवसरमा वीरगञ्जमा निकालिएको शोभायात्राका क्रममा तनाव सृजना गरी हिंसा भड्काउन भएका दुष्प्रयास र त्यसपछि विकसित घटनाक्रमका विषयमा सारोकार भएकासँग छलफल गरी जनजीवनलाई सहज तुल्याउन सम्बद्ध प्रशासनिक तथा प्रहरी अधिकारीहरूको निरन्तर सम्पर्क भइरहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णले आज प्रेस विज्ञप्ति जारी गरी जानकारी दिनुभयो ।

“समाजका सबै धार्मिक, सांस्कृतिक तथा जातीय समुदायबीच एकअर्काप्रति सम्मान र भाइचाराबाट मात्र शान्ति एवं सहिष्णुता कायम हुनसक्ने भएकाले साम्प्रदायमा अशान्ति, हिंसा फैलाउने कार्यमा संलग्न जोसुकैलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई निर्देश गर्नुभएको छ”, प्रेस विज्ञप्तिमा भनिएको छ, “वीरगन्जमा सामाजिक सद्भाव र सहिष्णुता सुनिश्चित गर्न राजनीतिक दल, नागरिक समाज र प्रहरी प्रशासनलगायतबाट भएका गम्भीर र अर्थपूर्ण प्रयासको सराहना गर्दछु ।”

मुख्यमन्त्री सिंहलाई उद्धृत गरेर जारी प्रेस विज्ञप्तिमा देशको औद्योगिक नगरी वीरगन्ज धार्मिक तथा सांस्कृतिक विविधताको दृष्टिले अतुल्य सहर रहेको र यो मधेसको शक्ति भएकाले यसलाई कुनै पनि बहानामा भङ्ग गर्ने कार्य दुःखद्, चिन्ताजनक र दुर्भाग्यपूर्ण छ ।

यसैबीच, खानेपानीमन्त्री प्रदीप यादवले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत वीरगन्जमा शान्ति सद्भाव खलल पु¥याउने, उत्तेजना फैलाउने किसिमका अभिव्यक्ति दिने, सार्वजनिक वा निजी सम्पत्तिमाथि तोडफोड गर्ने, आगो लगाउने वा अभद्रता गर्ने जोकोहीलाई दण्डित गर्न स्थानीय प्रशासनले कानुनबमोजिम काम गर्न अनुरोध गर्नुभएको छ ।

“आफ्नो सहरमा तनाव टुसाएको समयदेखि व्यक्तिगत रूपमा पर्सा जिल्लाका प्रशासन र प्रहरीको सम्पर्कमा निरन्तर छु”, सामाजिक सञ्जालमा भनिएको छ, “विभिन्न समुदायका अगुवासँग समन्वय र सल्लाह गरी शान्ति स्थापित गर्ने प्रयासमा छु ।” मन्त्री यादवले वीरगन्ज क्षेत्रमा एकअर्का समुदायबीच पर्व तथा यात्रामा मिलीजुली मनाउने, सहयोग तथा सद्भाव राख्ने गौरवशाली परम्परा रहिआएको पनि स्मरण गर्नुभएको छ ।

“यहाँका बासिन्दाको सुझबुझ र समझदारीले गर्दा देखापर्ने पारस्परिक तनाव वा असमझदारीलाई आपसी संवादका माध्यमबाट समाधान गर्ने गरिएको विगत छ ।” यो महानगर सबैको साझा फूलबारी हो । यहाँ शान्ति, सद्भाव र मेलमिलाप कायम राख्नु सबैको साझा जिम्मेदारी हो”, मन्त्री यादवले भन्नुभयो ।

पर्सा प्रहरी प्रमुख गौतम मिश्रले गत शनिबारको हनुमान जयन्तीका अवसरमा तोडफोडमा संलग्न चार जनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरिएको जानकारी दिनुभयो । “तोडफोडमा संलग्न दुवै समुदायका चार जना पक्राउ परेका छन् । अन्यको पनि खोजी गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “निषेधाज्ञा तोडेर मङ्गलबार पर्सा प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्ने पनि दुई जना पक्राउ परेका छन् ।”

मङ्गलबार साँझमा प्रहरी कार्यालयमा निषेधाज्ञा तोड्ने क्रममा भएको प्रदर्शनीमा पर्साका तीन जना सञ्चारकर्मी घाइते भएका छन् । घाइते सञ्चारकर्मीमा अर्जुन गुप्ता, अनिल ओझा र धीरेन्द्र तिवारी घाइते रहेको नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले जनाएको छ । वीरगन्ज महानगर तथा आसपासको क्षेत्रमा प्रहरीको अनुपस्थिति भएका विभिन्न ठाउँमा आज पनि प्रदर्शनकारीले टायर बालेर विरोध गरिरहेका प्रहरीले जनाएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

Next Post