असोज कृष्णपक्षको प्रारम्भसँगै हिन्दू परम्पराको पितृपक्ष आजदेखि सुरु भएको छ । यसअघि वार्षिक श्राद्ध (बरखी) गरिएका दिवंगत परिवारजनलाई सम्झेर तर्पण र पिण्ड दिइने असोज कृष्णपक्षलाई सोह्रश्राद्ध पनि भन्ने गरिन्छ ।
मैथिल हिन्दू परम्परामा यो पक्षभरि तीर्थस्थलमा गएर दिवंगतजनको सम्झनामा श्राद्ध गरेर तर्पण, पिण्ड दिने गरिन्छ । यसपटक भने कोभिड– १९ महाव्याधिको संक्रमण छल्न मिथिला क्षेत्रमा जताततै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हुँदा घरघरै श्राद्ध गरेर तर्पण, पिण्ड दिने मैथिलहरूले तयारी गरेका छन् ।
यस पक्षभरि (पितृपक्ष) दिवंगत आत्माहरू मर्त्यलोक (पृथ्वी)मा विचरण गर्न आउने र आफ्ना सन्तानले दिएको तर्पण, पिण्ड तत्काल ग्रहण गर्ने विश्वासले हिन्दू मैथिल यस अवधिमा शुद्ध आचरणमा रही श्राद्ध गर्ने परम्परामा बाँधिएका कर्मकाण्डका ज्ञाताहरूको भनाइ छ ।
असोज कृष्णपक्षभरि पार्वण (महालय) र एकोपार्वण तथा तीर्थश्राद्धको परम्परा छ । यस पक्षबाहेक अन्यवेला तिथि परेका दिवंगतको सम्झनामा पार्वण र यसै पक्षमा तिथि परेका (दिवंगत भएका) पितृहरूको सम्झनामा एकोपार्वण श्राद्ध गर्ने हिन्दू मैथिल परम्परा रहेको कर्मकाण्डका ज्ञाता बताउँछन् ।
पितृपर्व मानिने यस पक्षमा भारतको बिहार राज्यमा पर्ने गया तीर्थस्थलमा श्राद्ध गर्न उत्तम मानिन्छ । यस्तो सम्भव नहुँदा नजिकको तीर्थस्थलमा श्राद्ध गरेर मैथिल आफ्ना दिवंगतको सम्झना गर्ने गर्छन् । असोज कृष्ण प्रतिपदादेखि औँसीसम्मका १५ तिथि भए पनि पूर्णिमा तिथि हुनेको श्राद्ध पनि औँसीमा गर्न सकिने हुँदा सोह्रवटै तिथिको प्रतिनिधित्व हुने गरी यस पक्षलाई ‘सोह्रश्राद्ध’ भनिएको कर्मकाण्डका ज्ञाताहरूको भनाइ छ ।
यस पक्षबाहेक दिवंगत हुनेहरूको तिथिमा एकोद्दिष्ट श्राद्ध गरिने र तिथि परेका पितृलाई एक पिण्ड दिने परम्परा छ, तर यस पक्षमा गरिने पार्वण श्राद्धमा भने मातृकुल (मावल), पितृकुल (पिताकुल), गुरुजन र अविवाहित दिवंगत दिदीबहिनीलाई पनि तर्पण र पिण्ड दिइने गरिन्छ । यस पक्षमै तिथि परेका (निधन भएका)हरूको सम्झनामा गरिने एकोपार्वण विधिको श्राद्धमा एकोद्दिष्ट र पार्वणका दुवै विधि मिश्रण रहेको झाको भनाइ छ । रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया !