
रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिका ६ सबगढा गाउँमा दुई समुदायबिच झडप भएको छ । झडपको कारण त्यहाँको अवस्था तनावग्रस्त बनेको छ।
सबगढा गाउँमा बिहीबार राति एक हिन्दू समुदायको विवाहमा बाजा बजाउँदै जन्ती गएको थियो। सबगढा गाउँमा रहेको मुस्लिम समुदायको मस्जिदमा रातिको समय नवाज पढिरहेको बेला बाजा बजाएको विषयलाई लिएर भनाभन भएको थियो।
स्रोतका अनुसार भनाभन पछि मुस्लिम समुदायका केही मानिसले बाजा बजाउने डिजे ग्रुपका केही मानिसलाई कुटपिट गरेका थिए। त्यही विषय लिएर आज बिहानै देखी पुनः दुई समुदायबिच झडप भएको हो।
आज बिहानैदेखि दुवै पक्षबाट ढुङ्गा हानाहान भइरहेको छ। घटनापछि उक्त क्षेत्रमा बाक्लो सुरक्षाकर्मीको परिचालन गरिएको छ। रौतहटका सिडिओ दिनेश सागर भुसालले घटनाको पुष्टि गर्दै नेपाल प्रहरीका एसपी सिताराम रिजाल, सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारी घटनास्थल पुगेको बताएका छन्। अवस्था नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी गरी अढाई सय बढी सुरक्षाकर्मी परिचालन गरिएको सिडिओ भुसालले जानकारी दिएका छन्।






































































































