
भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले आइतबार भारतीय भूमिबाट अहिलेसम्मकै सबैभन्दा भारी उपग्रह प्रक्षेपण गरेको छ ।
इसरोका अनुसार आइतबार साँझ श्रीकोटाको सतीश धवन स्पेश सेन्टरबाट भारतको सबैभन्दा भारी रकेट एलभीएमथ्री–एम५ लञ्च गर्यो ।
यो रकेटले सञ्चार उपग्रह सीएमएस–शून्य ३ लाई लिएर अन्तरिक्षतिर रवाना भएको छ । यो मिशन भारतको अन्तरिक्ष सञ्चार क्षमतालाई नयाँ उचाइमा पुर्याउने खालको साबित हुने अनुमान गरिएको छ ।
४ हजार ४०० किलोग्राम तौल भएको यो उपग्रह भारतीय भूमिबाट अहिलेसम्मकै सबैभन्दा भारी उपग्रह हो । यो उपग्रह भारतीय नौसेनाको लागि विशेष गरी लाभदायक हुनेछ र दुर्गम क्षेत्रहरूसँग सञ्चारलाई पनि सहज बनाउने बताइएको छ ।







































































































