गोपाल झा
महोत्तरी अषाढ १९ गते
वन संरक्षणमा सबैको सहभागिता आवश्यक”भन्ने मूल नाराका साथ डिभिजन वन कार्यालय, महोत्तरी जलेश्वरको आयोजनामा पत्रकार, सञ्चारकर्मी, नागरिक समाज र सरोकारवाला निकायहरूबीच समन्वय र छलफलका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महोत्तरीको जलेश्वरमा सम्पन्न कार्यक्रममा वातावरणमैत्री संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, युवा समूह, सामुदायिक तथा सहकारीवनका प्रतिनिधिहरू तथा विभिन्न सञ्चार माध्यमका पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको प्रमुख उद्देश्य वन संरक्षणमा समुदाय, सञ्चारकर्मी तथा उपभोक्ताबीचको सहकार्यलाई सुदृढ गर्दै पारदर्शिता र उत्तरदायित्वमा आधारित रणनीति अपनाउनु रहेको थियो । कार्यक्रममा सहभागी पत्रकार, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधिहरू तथा वन अधिकारीहरूबीच खुला छलफल भएको थियो । छलफलमा सहभागीहरूले वन संरक्षणलाई मात्र सरकारी निकायको जिम्मेवारी होइन, सम्पूर्ण समुदायको साझा दायित्वको रूपमा लिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा डिभिजन वन कार्यालयले पछिल्लो समय वन अपराध नियन्त्रण, सामुदायिक वन व्यवस्थापन, काठ तथा दाउरा वितरण तथा मुद्दा दायर एबं फरछौट र काठ तस्करी नियन्त्रणलगायतका क्षेत्रमा हासिल उपलब्धिहरूको प्रतिवेदन प्रस्तुत गरीएको थियो । जानकारी अनुसार, चालु आर्थिक वर्षमा मात्रै ८ वटा वनसम्बन्धी मुद्दा दायर गरिएका छन् भने ४७८.०६ घनफुट काठ बरामद गरिएको छ । साथै, अवैध वन दोहनमा प्रयोग गरिएका ट्रयाक्टर, मोटरसाइकल, गोरु र वन्चरोजस्ता औजार तथा सवारीसाधनहरू नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ ।
कार्यक्रममा विगत वर्षहरूमा देखिएको बेरुजु तथा फछ्र्यौट विवरण पनि सार्वजनिक गरियो । डिभिजन वन कार्यालयका अनुसार हालसम्म भएको अनियमितता सम्बन्धी छानबिन प्रक्रिया समेत अगाडि बढाइएको छ ।
कार्यक्रमका प्रमुख वक्ता तथा डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजय कुमार मिश्रले वन संरक्षणमा पारदर्शिता, उत्तरदायित्व र स्थानीय सरोकारवालासँगको सहकार्यलाई अझ सुदृढ गर्दै समुदायको प्रत्यक्ष सहभागिता अनिवार्य रहेको स्पष्ट पारे । उनले वातावरणीय सन्तुलन र जैविक विविधताको संरक्षणका लागि स्थानीय तहमै सचेत, जिम्मेवार र सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेका हुन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष महेश दास प्रमुख अतिथिका रूपमा सहभागी थिए । उनले सञ्चारकर्मीहरूले वन तथा वातावरण संरक्षणजस्ता संवेदनशील विषयमा जनचेतना फैलाउने जिम्मेवारी बहन गर्नुपर्ने बताउँदै यस प्रकारका कार्यक्रममा सक्रिय सहभागिता जनाउनु सकारात्मक अभ्यास भएको उल्लेख गरे ।
कार्यक्रममा सहभागीहरु वन संरक्षणका साझा उद्देश्यमा एकजुट भएर काम गर्ने प्रतिबद्धता जनाउदै सामूहिक उत्तरदायित्वका साथ सरकार र समुदायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै स्थानीय स्तरमै संरक्षण प्रयासहरूलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका थिए ।
यस समन्वय अन्तरक्रिया कार्यक्रमले वन संरक्षणप्रति समुदायको सरोकार, सञ्चारकर्मीहरूको सक्रियता र सरकारी निकायको उत्तरदायित्वलाई एकै मञ्चमा ल्याउने माध्यम बनेको सहभागीहरूको धारणा थियो ।