महालेखाको प्रतिवेदन अनुसार कागजात अपुग भएको, पेस्की फर्छर्यौट नभएका तथा बिल भन्दा बढी भुक्तानी गरिएको पाइएको छ । भंगहा नगरपालिकाले फुटकर बजेट बनाएर आफ्ना कार्यकर्ता तथा आसेपासेलाई योजना वितरण गरेको छ । एउटै फर्मवाट पटक–पटक लाखौं लाखका समान खरिद गरेको समेत पाइएको छ ।
बेरुजु रकम कम गर्नकालागि महालेखाले गत आर्थिक बर्षमा दिएको सल्लाह सुझाव समेत भंगहा नगरपालिकाले वेवास्ता गर्दै पुरानै रितिरिवाजमा पालिकाले योजनाहरु संचालन गरेको पाइएको छ ।
खरिद ऐन विपरीत खरिद गरिएका सामानहरुमा लाखौं रुपैयाँ अनियमितता भएको देखिएको छ । भंगहा नगरपालिकाले गत आर्थिक बर्षमा विद्यालयहरुकालागि खरिद गरेको डेक्स बेन्चमा समेत व्यापक अनियमितता भएको देखिन्छ । खरिद ऐन विपरीत गएर कोटेशनमा एउटै फर्मवाट पटक–पटक सामान खरिद गरिएको छ ।
भंगहा नगरपालिकाले श्रेया जेनरल सप्लायर्स संग तीन पटक डेक्स बेन्च (फाइवर मेटल) खरिद गरेको छ । जसमा दुई पटक ९ लाख ८२ हजार ६४८ र एक पटक ९ लाख ९९ हजार ८०० गरी कुल २९ लाख ६५ हजार ९६ रुपैयाँ भुक्तान गरेको पाइएको छ ।
त्यस्तै जगदम्वा फाइवर उद्योगवाट चार पटक डेक्स बेन्च (फाइवर मेटल) खरिद गरिएको छ । जगदम्वा फाइवर उद्योगलाई ९ लाख ८२ हजार ४६७ दुई पटक ९ लाख ४८ हजार तीन सय र ९ लाख ९९ हजार २०० गरी चार पटकमा ३९ लाख १२ हजार चार सय ३४ रुपैयाँ भुक्तानी गरिएको छ ।
त्यस्तै यसराज जेनरल सप्लायर्सवाट पनि डेक्स बेन्च (फाइवर मेटल) खरिद गरिएको छ । यसराजवाट ९ लाख ७६ हजार ७६७ र ९ लाख ९९ हजार गरि दुई पटकमा १९ लाख ७५ हजार ७६७ रुपैयाँ भुक्तानी गरिएको छ । न्यू विजय ट्रेडर्सवाट पनि डेस्क बेन्च (फाइवर मेटल) तीन पटक खरिद गरिएको छ । न्यू विजय ट्रेडर्सलाई दुई पटक ९ लाख ९९ हजार ६ सय र ९ लाख ९९ हजार ८०० गरि कुल २९ लाख ९९ हजार रुपैयाँ भुक्तानी दिइएको छ ।
भंगहा नगरपालिकाले डेक्स बेच्न खरिदमा गत आर्थिक बर्षमा कुल १ करोड १८ लाख ५२ हजार २ सय ९७ रुपैयाँ खर्च गरेको छ ।
भंगहा नगरपालिकाले सोझै खरिद गरेको यि सामग्रीहरु नियत संगत नदेखेको आरोप लगाएको छ । महालेखाले भनेको छ–‘सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ बमोजिम प्रतिस्पर्धा सिमित नहुने गरी खरिद गर्नुपर्ने व्यवस्था छ । त्यस्तै सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ बमोजिम १० लाख सम्मको खरिद कार्य सोझै गर्न सकिने, २० लाख सम्म सिलवन्दी दरभाउपत्रवाट र सो भन्दा माथि बोलपत्रको माध्यमवाट खरिद गर्नुपर्ने व्यवस्था छ ।
त्यस्तै सोझै खरिद कार्य गर्दा एक आर्थिक बर्षमा सीमा भन्दा बढीको खरिद गर्न नहुने एवम् एउटा आपूर्तिकर्ता संग एक पटक भन्दा बढी सोझै खरिद गर्न नहुने उल्लेख छ । तर, पालिकाले पूँजिगतवाट विभिन्न सामग्री खरिद गर्दा प्रतिस्पर्धात्मक विधि नअपनाई एकै प्रकृतिका बस्तु तथा सेवालाई विभिन्न समयमा टुक्रा तथा लगत अनुमान समेत तयार नगरी म्यानुअली दाखिला गरी प्रतिस्पर्धावाट बञ्चित हुने गरी विभिन्न आपूर्तिवाट कोटेशन मार्फत १ कारोड १८ लाख ५२ हजार २ सय ९७ रुपैयाँ को विभिन्न सामग्री खरिद गरेको नियतसंगत देखिएन् ।’
पटक पटक एउटै सामग्री दुई चार हजार रुपैयाँ घटाएर खरिदले पालिकाले व्यापक भ्रष्टाचार गरेको स्थानीयबासीहरुको आरोप छ । भंगहाको बेरुजु ४१ करोड पुग्दा समेत जनप्रतिनिधि सम्वेदनशिल नदेखिएको उनीहरुको आरोप छ ।