गोपाल झा
महोत्तरी, असार ४ गते
महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ४४ करोड ५० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख हरिप्रसाद मण्डलले १५औं नगरसभाको खुला सत्रमा नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै कृषि, शिक्षा र स्वास्थ्यलाई यस वर्षको प्रमुख प्राथमिकता बनाइएको जानकारी दिएका छन् ।
बजेटमा राजस्व बाँडफाँडबाट १० करोड ५ लाख, संघीय सरकारबाट २८ करोड १० लाख, प्रदेश सरकारबाट १ करोड २६ लाख, र आन्तरिक स्रोतबाट ५ करोड ९० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। सार्वजनिक बजेट र नीतिको विषयमा नगरसभामा विस्तृत छलफल गरी अनुमोदन प्रक्रिया अघि बढाइने बताइएको छ ।
मेयर मण्डलको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा उहाँले नीति, कार्यक्रम तथा बजेटमा कृषि, शिक्षा र स्वास्थ्यलाई प्रमुखता दिँदै यस आर्थिक वर्षमा यी तीनै महत्वपूर्ण विषयका साथै मटिहानीको धार्मिक, ऐतिहासिक र पर्यटकीय विकासको क्षेत्रमा समेत उल्लेख्य सकारात्मक कदम उठाउने बताएका छन् ।
उनले मटिहानीको मुख्य पहिचान नै मटिहानीको विकासको मूल आधार भएकाले विगतका वर्षहरूमा मटिहानीको धार्मिक, ऐतिहासिक र पर्यटकीयका साथै पहिचानका लागि विकासका मूल फुटाउनेमा जोड दिएका छन् ।
मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो नगरसभाबाट मेयर मण्डलले केही महत्वाकांक्षी योजनासमेत सार्वजनिक गरेका छन्। उनले कृषि तथा पशुपालनको क्षेत्रमा थप योजनाहरूसहित यस क्षेत्रको विकासमा निरन्तरता, व्यावसायिक खेती र पशुपालनमा युवाको सहभागिता लगायतमा काम गर्ने बताएका हुन् ।
त्यस्तै, उद्योग वाणिज्यतर्फ विभिन्न तालिम तथा व्यवसाय सञ्चालनमा नगरपालिकाले सहयोगी भूमिका निर्वाह गर्ने उनल थपे । यता पर्यटन विकासका लागि मटिहानी मठलाई विश्व सम्पदा सूचीमा राख्न सरकारलाई अनुरोध गर्ने तथा मटिहानीभित्रका विभिन्न पोखरी, जलसागर, गोसाइँकुण्ड आदिको सौन्दर्यीकरणमा जोड दिने बताएका हुन् । त्यस्तै आन्तरिक तथा बाह्य पर्यटकीय स्थलहरुको प्रबद्र्धनका लागि नगरपालिकाका कर्मचारीहरुलाई आर्थिक सुविधा सहित १० दिनको पर्यटन काम दिने व्यवस्था मिलाइने बताइएकोछ ।
मटिहानी नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटकलाई बढावा दिन नगरभित्रका मठ मन्दिर तथा मस्जिदहरूलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न प्रचारप्रसार, वृत्तचित्र निर्माणलगायत थप संस्कृति झल्काउने भौतिक पूर्वाधारहरू विकास गरिने उनले बताएका हुन् ।
त्यस्तै, शिक्षाको क्षेत्रमा मैथिली भाषाको विकास, संरक्षण तथा संवद्र्धन गर्न नगरभित्रका सामुदायिक विद्यालयको कक्षा एकदेखि आठसम्मको पाठ्यक्रममा सय अंकको मैथिली भाषा समावेश गरी अध्ययन गराइने व्यवस्था मिलाइने छ । त्यस्तै, विद्यार्थीको सूचना प्रविधिमा पहुँच पुर्याउन जोडकोषमा आधारित ल्यापटप वितरण, कक्षा ११ मा अध्ययनरत छात्राहरूलाई निःशुल्क साइकल वितरण , दलित, विपन्न, गरिब, अपांग, असहाय तथा सहिद परिवारका जेहेनदार विद्यार्थीलाई नगरप्रमुख छात्रवृत्ति पुरस्कार सहयोगको व्यवस्था गरिने नगरप्रमुख मण्डलले नीति, कार्यक्रम तथा बजेटमा उल्लेख गरिएको बताएका हुन् ।
यता स्वास्थ्यतर्फ मटिहानी नगरपालिकाले बर्थिङ सेन्टरले रेफर गरेको खण्डमा जनकपुरसम्मका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिनेछ । गर्भवतीका लागि अल्ट्रासाउन्ड निःशुल्क गरिनुका साथै आयुर्वेद तथा पारम्परिक चिकित्सा प्रणालीको विकास गरिने उल्लेख छ ।
यसका अलावा समावेशीकरण/गरिबी निवारण तथा कला, संस्कृति, खेलकुद, पूर्वाधार विकास, सिँचाइ, भवन तथा सहरी विकास, सञ्चार, वातावरण तथा विपत् व्यवस्थापनसम्बन्धी नीति तथा कार्यक्रम, संस्थागत विकास तथा सुशासनसम्बन्धी नीति तथा कार्यक्रम लगायतमा आवश्यक बजेट तथा योजनाहरू सञ्चालन गरिने मेयर मण्डलले उल्लेख गरेका हुन् ।
मटिहानी नगरपालिकाले प्रस्तुत गरेको ४४ करोड ५० लाखको बजेटले स्थानीय स्तरमा जनताको आधारभूत आवश्यकता पूरा गर्दै, भविष्यका लागि दिगो विकासको आधार खडा गर्ने अपेक्षा गरिएको छ । नीति तथा कार्यक्रम अब नगरसभा मार्फत अनुमोदन गरीने छ ।