
नेपालमा सञ्चार क्षेत्रको विकासमा रेडियोहरूको भूमिका अति विशिष्ट र महत्वपूर्ण रहेको छ । २ करोड ९१ लाख ९२ हजार जनसंख्या रहेको नेपाल भौगोलिक र सांस्कृतिक विविधताले सम्पन्न देश हो । यहाँ १२६ जात/जाति, १२३ भाषिक र १० वटा धार्मिक समूह, आदिवासी/जनजाति, खस–आर्य, मधेशी, दलित र मुस्लिम लगायत सामाजिक समूहहरू मिलेर बसेका छन् । यसै सन्दर्भमा विशेषतः नेपालमा एफएम रेडियोहरू स्थानीय समुदायको आवाजलाई सरोकारवाला पक्ष समक्ष पुर्याउने सशक्त माध्यम बन्दै आएका छन् ।
नेपालमा रेडियोको सुरुवात
२० चैत २००७ मा नेपालमा रेडियो नेपालको स्थापना भयो । यही दिनलाई नेपालमा रेडियोको औपचारिक सुरुवात भएको मानिन्छ । राज्यबाट सञ्चालित रेडियो नेपालले सबै समुदायको आवाज बन्न नसक्दा सरकारको हातबाट नागरिकले आफ्नो हातमा रेडियोको तरङ्ग ल्याइपुर्याउन ४७ वर्ष पर्खनु पर्यो । अर्थात्, २०५४ सालमा मात्र नेपालमा नागरिक तहबाट रेडियो सञ्चालन सुरु भएको हो ।
नेपाल वातावरण पत्रकार समूहद्वारा सञ्चालित रेडियो सगरमाथा १०२ थोप्लो ४ मेगाहर्जले आफ्नो इजाजत पत्र प्राप्त गरेर प्रसारण शुरु गरेको पनि २७ वर्ष पुगिसकेको छ । पछिल्लो तीन दशकमा नेपालका सबै जिल्लामा रेडियो प्रसारणको पहुँच विस्तार भइसकेको छ ।
स्थानीय स्तरमा सञ्चालित रेडियोहरूले समाचार, सांस्कृतिक कार्यक्रम, संगीत, नाटक र बहस मार्फत जनचेतना अभिवृद्धि, शिक्षा तथा सामाजिक परिवर्तनका महत्वपूर्ण विषयहरूलाई उजागर गरिरहेका छन् । यी रेडियोहरूले समुदायको आवाजलाई सरोकारवालासमक्ष पुर्याउँदै सूचनाको पहुँच वृद्धि गर्ने र समाजमा सकारात्मक परिवर्तन ल्याउने काममा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।
लोकतन्त्रमा फले–फुलेको रेडियो
त्यसैगरी २०६२/६३ सालको जनआन्दोलनपछि नेपालमा रेडियो सञ्चालनको लहर नै चल्यो । यसै क्रममा आर्थिक वर्ष २०७८/७९ सम्म सूचना तथा प्रसरण विभागबाट करिब ९३१ वटा रेडियो सञ्चालनको लागि अनुमति प्राप्त भएको छ । यीमध्ये कतिपय रेडियोहरू बन्द पनि भएका छन् ।
प्रदेशगत रूपमा हेर्दा बागमतीमा सबैभन्दा बढी १९५ र कर्णालीमा सबैभन्दा कम ७५ संस्थाले रेडियो सञ्चालनको अनुमति लिएको देखिन्छ ।
सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको तथ्यांक अनुसार, प्रदेशगत रूपमा एफएम रेडियो सञ्चालनको अनुमति प्राप्त रेडियोहरूको संक्षिप्त विवरण :
प्रदेश | सञ्चालन अनुमति प्राप्त रेडियो |
कोशी प्रदेश | १४५ |
मधेश प्रदेश | १५२ |
बागमती प्रदेश | १९५ |
गण्डकी प्रदेश | ९३ |
लुम्बिनी प्रदेश | १५९ |
कर्णाली प्रदेश | ७५ |
सुदूरपश्चिम प्रदेश | ११२ |
मधेशमा एफएम रेडियो
मधेशमा एफएम रेडियो त्यहाँका समुदायहरूको आवाजलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने सञ्चारमाध्यमको अभावको पृष्ठभूमिमा खुलेका थिए । प्रिन्ट मिडिया र काठमाडौंकेन्द्रित मिडियाले मधेशी समुदायको मुद्दालाई पर्याप्त स्थान दिन नसकेको अवस्थामा एफएम रेडियोले सरल र सहज माध्यमको रूपमा आफूलाई स्थापित गरेको थियो ।
एफएम रेडियोको प्राविधिक सरलताका कारण न्यून लागतमा स्थापना र सञ्चालन गर्न सकिने भएकाले मधेशमा यसतर्फ सञ्चारकर्मी र सञ्चार उद्यमीहरूको ध्यान आकर्षित भएको थियो । सामाजिक, जातीय र लैंगिक विविधतायुक्त मधेशी समाजका दलित, जनजाति, महिला र उत्पीडित समुदायको आवाजलाई मुखरित गर्न एफएम रेडियो एउटा प्रभावकारी माध्यम बन्यो ।
२०६२/६३ सालको जनआन्दोलनपछि मधेशका मुद्दाहरूलाई प्राथमिकताका साथ उजागर गर्ने रेडियो स्टेशनहरूले समुदायमा चेतना र जागरण फैलाउन महत्वपूर्ण भूमिका खेलका थिए । ती रेडियोहरूका कार्यक्रमहरू मार्फत मधेशको पहिचान, अधिकार, सामाजिक–राजनीतिक विषयहरू तथा समसामयिक मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाइएको थियो, जसले स्थानीय बासिन्दामा जागरूकता र आवाज उठाउने आत्मविश्वास बढाएको थियो ।
किन खुले मधेशमा धेरै रेडियो ?
मधेश बहुभाषिक, बहुसांस्कृतिक क्षेत्र हो । यहाँ विभिन्न समुदायका आवाजलाई प्रतिनिधित्व गर्न रेडियोको आवश्यकता महसुस गरियो । मधेशका ग्रामीण क्षेत्रमा सञ्चारका अन्य माध्यमहरू सीमित भएकाले रेडियो स्थानीय समुदायका लागि सूचनाको प्रमुख साधन बन्यो । मधेश आन्दोलनहरूका कारण यहाँका मुद्दाहरू उठान गर्न स्वतन्त्र माध्यमको रूपमा रेडियो महत्वपूर्ण रह्यो ।
काठमाडौं लगायत अन्य क्षेत्रबाट सञ्चालित रेडियोहरूले मधेशका आवाजलाई समेट्न असफल भएपछि तराई मधेशका २२ जिल्लामा पहिलो मधेश आन्दोलनपछि धेरै एफएम रेडियोहरू स्थापना भए । तीमध्ये धेरैजसो रेडियोहरू आन्दोलनलगत्तै स्थापना र सञ्चालनमा आएका कारण सामग्री निर्माण र प्रसारणमा चेक एण्ड ब्यालेन्सको अभाव देखियो ।
नयाँ सञ्चालित रेडियोहरूमा पर्याप्त जनशक्ति र व्यवस्थापनको ज्ञानको कमी थियो । रेडियोको प्रभाव र जिम्मेवारीको उचित ज्ञान नहुँदा केही हदसम्म रेडियोहरूबाट द्वन्द्वलाई बढावा दिने सामग्री प्रसारण भए । तर, यसले मधेशमा रेडियोको जिम्मेवारीपूर्ण पत्रकारिताको महत्वबारे चेतना पनि फैलायो ।
एफएम रेडियोको प्रारम्भिक दिनमा, यसले ग्रामीण भेगका मानिसहरूको जीवनशैली र आवश्यकता सम्बोधन गर्न विशेष ध्यान दिएको थियो । स्थानीय भाषामा सञ्चालित कार्यक्रमले समुदायसँग नजिकको सम्बन्ध कायम गर्यो ।
एफएम रेडियोहरूले मधेश आन्दोलनको समयमा महत्वपूर्ण भूमिका खेल्यो । काठमाडौंकेन्द्रित मिडियाले हिंसात्मक आन्दोलनको रूपमा चित्रण गर्ने प्रयास गरे पनि स्थानीय एफएम रेडियोहरूले मधेश आन्दोलनको यथार्थलाई प्रस्तुत गरेर आन्दोलनलाई गलत व्याख्या हुनबाट जोगाएका थिए ।
एफएम रेडियोको प्रभावकारी भूमिकाले समुदायमा वैचारिक जागरण ल्याएको छ । रेडियोहरूले सूचना, शिक्षा लगायत मनोरञ्जनका कार्यक्रम मार्फत समाजमा सकारात्मक प्रभाव पारिरहेका छन् । विभिन्न समुदायबीचको समन्वय, स्वास्थ्य सचेतना र महिला सशक्तीकरण जस्ता मुद्दामा रेडियोका कार्यक्रमहरूले महत्वपूर्ण प्रभाव पारेका छन् ।
मधेश आन्दोलनको क्रममा रेडियोहरूको भूमिका अत्यन्त महत्वपूर्ण रह्यो । यो आन्दोलनले मधेशको सामाजिक र राजनीतिक असन्तोषलाई प्रकट गर्यो । यस क्रममा रेडियोहरू जनताको आवाजको रूपमा देखा परे । आन्दोलनका बेला मुख्यधारका सञ्चारमाध्यमले पर्याप्त स्थान नदिंदा स्थानीय रेडियोहरूले सत्य–तथ्य र मधेशी जनताको पीडा प्रसारण गरे । रेडियो आन्दोलनका सन्दर्भमा मधेशी जनताको आशा, डर र अनुभवलाई व्यक्त गर्न बलियो माध्यम बनेको थियो ।
संघर्षपूर्ण दिनहरू
मधेशमा रेडियो सञ्चारको सुरुआती दिनहरू सजिला थिएनन् । आर्थिक अभाव, उपकरणको कमी, जनशक्तिको अभाव र सरकारले दिएको न्यून प्राथमिकताका कारण रेडियोहरूलाई अगाडि बढ्न कठिन भयो । यसका अतिरिक्त, मधेशी समुदायमा साक्षरताको कमी र सञ्चारमाध्यमप्रतिको प्रारम्भिक शंका पनि चुनौती बन्यो । यी समस्याहरूको बाबजुद, सामुदायिक रेडियोहरूले स्थानीय विषयवस्तुमा आधारित कार्यक्रमहरू उत्पादन गरेर जनताको मन जित्न सफल भएका थिए ।
पछिल्लो केही वर्षयता मधेशमा सञ्चालित रेडियोहरूको अवस्था दयनीय बन्दै गएको छ । रेडियोले मधेशमा रहेका विभिन्न समस्याहरूलाई केन्द्रित गरेर कार्यक्रमहरू उत्पादन गरेको पाइँदैन । राष्ट्रिय जनगणना २०७८ अनुसार मधेश प्रदेशको कुल जनसंख्या ६१ लाख १४ हजार ६०० रहेको छ ।
मधेश प्रदेश नेपालको ६.५ प्रतिशत क्षेत्रफल ओगट्ने सबैभन्दा सानो प्रदेश हो । मधेश प्रदेशमा मुख्य रूपमा मैथिली ४६ प्रतिशत, भोजपुरी २१ प्रतिशत, बज्जिका १७ प्रतिशत, नेपाली ५ प्रतिशत र थारू, उर्दू तथा अन्य ७ प्रतिशत बोल्ने गर्दछन् ।
मधेश प्रदेशमा रहेका रेडियोहरूले स्थानीय भाषामा कार्यक्रमहरू उत्पादन गर्नुको साटो धेरैजसो समाचारमूलक कार्यक्रम काठमाडौं उपत्यकाबाट सञ्चालित विभिन्न नेटवर्कबाट प्रसारित कार्यक्रमहरू रिले स्टेशनको रूपमा दिने गरेको पाइन्छ । मधेश प्रदेशमा ७० प्रतिशत जनसंख्या कृषिकर्ममा निर्भर रहेको छ । मधेश नेपालको कृषि उत्पादनको मेरुदण्डको रूपमा रहे पनि स्थानीय रेडियोहरूले कृषिलाई प्राथमिकीकरण गरेर नियमित रूपमा कृषि र कृषक लक्षित कार्यक्रमहरू सञ्चालन गरेको पाइँदैन ।
नेपालका अन्य प्रदेशहरूसँग तुलना गर्दा मधेश प्रदेशको मानव विकास सूचकांक ०.५१ मात्र रहेको छ, जुन सबैभन्दा कम दर हो । गरिबीको दर २३ प्रतिशत रहेको यस प्रदेशमा अल्पसंख्यक तथा सीमान्तकृत समुदायका लागि प्रदेशमा सञ्चालित रेडियोहरूले विशेष कार्यक्रमहरू निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ ।
किन बन्द हुँदैछन् रेडियोहरू ?
सञ्चालन अनुमति लिएका कतिपय रेडियोहरू सञ्चालनमा नै आएका छैनन् भने विगत केही वर्षयताका वर्षहरूमा विभिन्न कारणले गर्दा मधेश प्रदेशमा मात्रै १९ वटा रेडियोको प्रसारण बन्द भएका छन् । विज्ञापनको कमी, सरकारी सहयोगको अभाव र आर्थिक स्रोतको न्यूनताले रेडियो सञ्चालन कठिन बन्दै गएको छ ।
डिजिटल युगमा छिर्दै गर्दा एफएम रेडियोहरूले अनलाइन माध्यमहरूसँग प्रतिस्पर्धा गर्न कठिनाइ भोगिरहेका छन् । स्थानीय सरकारसँग अपेक्षित सहकार्य हुन नसक्दा पनि स्रोत खुम्चिइरहेको छ । सरकारले तोकेको उच्च कर, लाइसेन्स नवीकरण शुल्क जस्ता आर्थिक बोझका कारण पनि रेडियोहरू बन्द भइरहेका छन् ।
नेपालको कुल जनसंख्याको २०.४५ प्रतिशत जनसंख्या ओगटेको मधेश प्रदेशमा करीब १३ लाखभन्दा बढी जनता बहुआयामिक गरिबीको रेखामुनि जीवन जिउन बाध्य छन् । मधेश प्रदेशमा मधेशी र त्यसमा पनि मुस्लिम, दलित तथा जनजाति लगायत समुदायहरूको मुख्य बसोबास रहेको छ । नेपालमा विभिन्न प्रकारका असमानता, शोषण र विभेदका स्वरूपहरू रहेको पृष्ठभूमिमा एफएम रेडियोले उनीहरूको आवाजलाई मूलधारमा ल्याउन थोरबहुत प्रयास गरेको भए पनि अपेक्षा अनुसार सारथि बन्न सकेको छैन ।
तथ्यांक अनुसार मधेश प्रदेशका ३७.२ प्रतिशत परिवारले रेडियो प्रसारणबाट सूचना तथा मनोरञ्जन प्राप्त गर्ने गरेको भए पनि पछिल्ला दिनमा मधेश प्रदेशमा स्मार्टफोन प्रयोग गर्नेको संख्या ७४.२ प्रतिशत पुगेको छ । जसले गर्दा धेरै जसो व्यक्तिले अनलाइनको माध्यमबाट रेडियो सुन्ने प्रचलन बढेकोले रेडियोहरूले आफ्ना उत्पादनलाई डिजिटल पहुँचमा विस्तार गर्नुपर्ने आवश्यकता देखिन्छ ।
राजनीतिक र अन्य स्वार्थ समूहको दबदबा
देशका विभिन्न स्थानमा सञ्चालित एफएम रेडियोहरू कुनै न कुनै रूपमा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूबाट प्रभावित भएका छन् । कतिपय रेडियोले कुनै विशेष राजनीतिक विचारधारालाई प्रवद्र्धन गर्ने सामग्री प्रसारण गरेको पाइन्छ । मधेशका रेडियोहरूमा राजनीतिक प्रभाव अस्वाभाविक छैन ।
रेडियोहरू राजनीतिक दलहरूको प्रचारप्रसारको उपकरणको रूपमा पनि प्रयोग भए । कतिपय रेडियो स्टेशनहरू पार्टीविशेषको मुखपत्र झैं देखिन पुगे, जसले निष्पक्षतामा प्रश्न खडा गरेको छ । यस प्रकारको राजनीतिक प्रभावले रेडियोको निष्पक्षता र विश्वसनीयतामा असर पुर्याएको छ ।
यस्तो अवस्थामा, एफएम रेडियोहरूले आफ्नो सम्प्रेषण निष्पक्ष र स्वतन्त्र बनाउन आवश्यक छ । राजनीतिक दबाबबाट स्वतन्त्र रहेर, समुदायको वास्तविक आवाजलाई प्रस्तुत गर्नेतर्फ ध्यान दिनुपर्छ । व्यावसायिकता र व्यावसायिक मापदण्डको पालनामा थप जोड दिनुपर्छ । किनकि केही रेडियोहरूले राजनीतिक पूर्वाग्रह राखेर सामग्री पस्किइरहेको आरोप पनि लाग्ने गरेको छ ।
स्थानीय समुदायसँग बलियो सहकार्यको खोजी
एफएम रेडियोहरूले स्थानीय अल्पसंख्यक समुदायका मुद्दालाई पर्याप्त स्थान दिनुपर्छ । बहस र पैरवीका कार्यक्रमहरूलाई प्राथमिकता दिनसक्दा मात्र यी समुदायका समस्या ओझेल पर्ने छैनन् । यसका लागि दक्ष रेडियोकर्मीको क्षमता अभिवृद्धिका विविध उपायहरू खोजिनुपर्छ । कुनै पनि राजनीतिक वा आर्थिक दबाबबाट स्वतन्त्र रहेर रेडियोले निष्पक्ष समाचार र विचार सम्प्रेषण गर्नुपर्छ । आधुनिक प्रविधिको प्रयोग गरेर कार्यक्रम उत्पादन र प्रसारणको गुणस्तर बढाउन सकिन्छ ।
समाज परिवर्तनको संवाहकका रूपमा पनि रेडियोको भूमिका महत्वपूर्ण छ । जातीय विभेद, लैंगिक असमानता, दाइजो प्रथा, बालविवाह जस्ता समस्याहरू हटाउने दिशामा रेडियोहरूले सकारात्मक बहस तथा सचेतना अभियान सञ्चालन गर्दै आएका छन् । यसले समाजमा सकारात्मक सोचको विकास गरी सामाजिक न्यायलाई प्रवद्र्धन गर्न मद्दत पुर्याइरहेको छ ।
तर, रेडियोहरू अझ प्रभावकारी हुनका लागि केही सुधार आवश्यक छन् । वित्तीय रूपमा दिगोपन, प्रविधिको स्तरोन्नति, दक्ष जनशक्तिको विकास, गुणस्तरीय सामग्री उत्पादन, सरकार तथा गैरसरकारी निकायहरूसँग सहकार्य आदि विषयमा थप ध्यान दिनुपर्ने देखिन्छ ।
सरकार र शासन व्यवस्थामा जनताको साझेदारी तथा सहभागिता संस्थागत गर्न नेपालको संविधान २०७२ अन्तर्गत निर्माण भएको संघीय ढाँचाले स्थानीय तह अन्तर्गत ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका रहेकोमा मधेश प्रदेशमा नै १३६ वटा स्थानीय तह रहेका छन् । यी स्थानीय तहहरूसँग एफएम रेडियोहरूले सोचे अनुरूप साझेदारी र सहकार्य गर्न सकेका छैनन् ।
एफएम रेडियोहरूले स्थानीय तहसँग प्रभावकारी रूपमा सहकार्य गर्न नसक्नुमा धेरै प्रकारका चुनौती रहेका छन् । स्थानीय तहमा सञ्चार नीति स्पष्ट नभएकाले रेडियोहरूसँग कसरी सहकार्य गर्ने भन्ने अन्योल छ । स्थानीय सरकारले एफएम रेडियोलार्ई प्राथमिकतामा नराख्दा रेडियोहरूलाई अपेक्षित सहयोग प्राप्त भएको छैन । कतिपय स्थानीय तहहरूले रेडियोहरूलाई स्वतन्त्र रूपमा काम गर्न नदिई आफ्नो पक्षमा प्रयोग गर्न खोजेका कारण सहकार्य कमजोर देखिएको छ । सामाजिक सञ्जाल, केबल टेलिभिजन जस्ता माध्यमहरूको विकासले स्थानीय सरकार रेडियोमा कम निर्भर हुन थालेका छन् ।
खोजी जीवन्त रेडियोको
रेडियोहरूले समुदाय र श्रोताको रुचि र चाहनालाई सम्बोधन गर्न सक्नुपर्छ । यसको लािग पहिलो शर्त गुणस्तरीय सामग्रीको उत्पादन र प्रसारण हो । श्रोतासँगको अन्तरक्रियालाई प्रभावकारी बनाउन डिजिटल प्रविधिको सहायता लिन सकिन्छ ।
स्थानीय तहले पनि रेडियोहरूसँग सहकार्यका लागि स्पष्ट नीति निर्माण गर्नुपर्छ । सामुदायिक विकासका लागि रेडियोलाई स्थानीय बजेटमा समावेश गरी विज्ञापन तथा अनुदानको व्यवस्था गर्न आवश्यक छ । स्वास्थ्य, शिक्षा, कृषि जस्ता स्थानीय कार्यक्रमहरूको प्रचारप्रसारमा रेडियोको व्यापक उपयोग हुनुपर्छ ।
संघीयताको मूल आधार नै सहभागितामूलक र समावेशी स्थानीय शासन प्रणाली हो, जसप्रति स्थानीय रेडियोहरू सचेत रहनुका साथै जनचेतना अभिवृद्धि गर्न सक्रिय योगदान दिन आवश्यक रहेको छ । संघ सरकारले अन्यायपूर्ण र असंवैधानिक ढंगले चर्को नवीकरण शुल्क र विभिन्न नामका कर असुल्न छाड्नुपर्छ ।
समाजको समुचित विकासका लागि स्थानीय रेडियो, स्थानीय जनता र स्थानीय सरकारबीचको सहकार्य र साझेदारी अपरिहार्य छ । विशेषगरी विकासको प्रक्रिया र प्रतिफलबाट पछाडि परेका विपन्न तथा वञ्चित समुदायहरूलाई केन्द्रमा राख्दै स्थानीय तह र रेडियोहरूले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नु सक्नुपर्छ ।
अझै रेडियोलाई डिजिटल माध्यमसँग एकीकृत गर्न अनलाइन स्ट्रिमिङ, मोबाइल एप, पडकास्टिङ आदि उपायहरू अपनाउनुपर्छ जसले आधुनिक प्रविधिसँग प्रतिस्पर्धा गर्ने वातावरण सिर्जना गर्दछ । नयाँ आम्दानीका स्रोतहरूको पहिचान, विज्ञापन र प्रायोजन कार्यक्रमहरूको विस्तार र निजी तथा सरकारी साझेदारी सुनिश्चित गर्ने रणनीतिहरू तयार गर्नुपर्छ । यसले एफएम रेडियोलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनेछ र प्रसारण सामग्री उत्पादन तथा वितरण प्रक्रियालाई थप प्रभावकारी बनाउनेछ ।
बजारमा प्रतिस्पर्धा र स्रोतका विकल्प बढिरहेको सन्दर्भमा, एफएम रेडियोहरूले आफ्ना कार्यक्रमहरूको गुणस्तरमा सुधार र विविधता ल्याउन जोड दिनुपर्छ । डिजिटल युगमा प्रवेश पश्चात्, एफएम रेडियोहरूले आफ्नो प्रसारण मोडेललाई प्रविधिमैत्री बनाउँदै आवश्यक प्रविधि सुधार र डिजिटल प्लेटफर्महरूको विकासका लागि उपयुक्त रणनीतिहरू तय गर्नुपर्छ ।
निष्कर्ष
रेडियोहरूले विगतमा जस्तै भविष्यमा पनि समाज परिवर्तनको संवाहकको भूमिका खेल्न सक्छन्, यसका लागि सरकारी नीति, सामुदायिक सहभागिता र प्रविधिको सही प्रयोग महत्वपूर्ण छ । देशभरका रेडियोहरूलाई सशक्त बनाउँदै मधेशका रेडियोहरूले आफ्नो विशिष्टता कायम राख्दै श्रोताहरूको विश्वास जित्नुपर्ने चुनौती रहेको छ । यो चुनौतीलाई अवसरमा परिवर्तन गर्न सकेमा, रेडियोले समाजलाई अझ धेरै परिवर्तन र प्रगतितर्फ डोर्याउनेछ ।
मधेशमा एफएम रेडियोहरूले सामाजिक परिवर्तन र समुदायको आवाज बुलन्द गर्न महत्वपूर्ण योगदान दिएका थिए । यद्यपि, व्यावसायिकता, निष्पक्षता र जिम्मेवारीपूर्ण प्रसारण सामग्रीका दृष्टिकोणबाट अझै धेरै सुधार आवश्यक रहेको छ । रेडियोको प्रभावकारी प्रयोगले मधेशी समुदायको आवाजलाई राष्ट्रिय मञ्चमा पुर्याउन र सामाजिक एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ ।