गोपाल झा
महोत्तरी ,कात्तिक, २० गते
मिथिलाञ्चल सहीतका सम्पूणर् क्षेत्रमा आज मंगलबारदेखि छठपर्व सुरु भए संगै पर्बकालागी बिभिन्न सामग्री जुटाउन ब्रतालुहरु ब्यस्त देखीएका छन् । छठ पर्बमा चढाईने प्रसादकोलागी तयार गर्ने चामल र आँटाका लागी कुटान पिसान गनै गराउन ब्रतीपरिवारहरु ब्यस्त भएका छन् ।
छठपर्वमा गहुँ र चामलका विभिन्न पकवान बनाएर चढाउने चलन रहेकाले सोही पकवान बनाउनकालागी ब्रती परिवारका सदस्यहरु आजदेखि पारम्परीक ढेकी , जाँता र बिद्युतीय मिलहरु सुद्ध पानीले घोएर चोखो बनाई त्यहाँ कुटान पिसान सुरु गरेका छन् । तराई मधेसमा गोधन पर्व सम्पन्न हुन साथ छठ पूजाको प्रसादकालागी कुटान पिसानको कार्य सुरु गर्ने परम्परा रहेको छ ।
छठपर्वका लागि मिथिलाका घरघरमा बिहानै अरबा चामल र चुनिएको गहुँ धोइपखाली सुकाएर आजैदेखि चामल र गहुँ कुटान पिसान गरी आँटा तयार गरिने गरीन्छ ।
निकै चोखो र शुद्धताको पर्व मानिएको छठ व्रतका लागि कुटान पिसान गरिने चामल र गहुँ मिथिलानीहरूको घर, आँगन वा टोल छिमेकमा रहेको ढिकी र जाँतोमा गर्ने परम्परा छ । तर अहिले ढिकी र जाँतोको अभाव हुन थालेपछि बिद्युतीय मिलमा समेत कुटान पिसान गरिन थालीएको छ ।
यसरी कुटान पिसानबाट तयार भएको पिठोले नै छठपर्वमा भगवान् सूर्य र माता छठदेवीको अघ्र्यका लागि ठेकुवा, भुस्वा, खजुरिया, पेरुकियालगायत पकवान तयार गरिने छ ।
छठपर्वमा चामल र गहुँकै पिठोबाटै तयार भएको ठेकुवा र भुस्वा प्रमुख प्रसाद रहने गरेका कारण यसलाई निकै शुद्धता र पवित्रताका साथ कुटान पिसान गरी पकवान तयारीसम्मको काम गरिन्छ ।
आजदेखि सुरु भएको कुटान पिसानका कारण छठबर्ती निकै उत्साहित र व्यस्त देखिएका छन् भने मिथिलाको घरआँगनमा छठपर्वको चहलपहल समेत बढेको छ ।
कार्तिक शुक्ल पञ्चमी बुधबारका दिन बर्तालुले सखर, घिउलगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खान्छन् । यसलाई पनि छठको एउटा विधिका रुपमा लिइन्छ । बर्तालुले छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् र भोलिपल्ट अर्थात् कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुने छ ।
कृषि प्रधान देशमा यो पर्व कृषि सामग्रीसँग पनि जोडिएको छ । अन्न बाली उत्पादन भएर किसानको घरमा भित्रिने यो समय देवतालाई ती अन्न चढाउने अवसरका रुपमा समेत उपयोग गरिँदै आएको छ । पछिल्लो समय मधेशलगायत पहाडी जिल्लामासमेत धुमधामका साथ छठ पर्व मनाउन थालिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !