१४ वैशाख, काठमाडौं । परालको कुन्युमा सानो झिल्कोबाट सुरु भएको आगोले बुधबार महोत्तरीको मटिहानी नगरपालिका–६ को जरलहवा गाउँ नै सखाप पार्यो । वडाध्यक्ष कलिम अन्सारीका अनुसार आगलागीबाट १ सय २० घर जलेर नष्ट भएका छन् ।
मानवीय क्षति त्यस्तो केही भएन । तर, गाउँका घर पूरै जल्यो । गाईभैंसी, सुँगुरहरु पनि गोठसँगै जले’, वडाध्यक्ष अन्सारीले भने, ‘क्षतिको विवरण संकलन गर्दैछौं । तर, करोडौं रुपैयाँ बराबरको क्षति भएको अनुमान छ ।
वडाध्यक्ष अन्सारीका अनुसार बिहान साढे १२ बजेबाट सुरु भएको आगो गाउँभरि फैलिएको थियो । आगो नियन्त्रणमा ल्याउनै ७ घन्टाभन्दा बढी समय लाग्यो ।
एउटा सिंगो गाउँ नै प्रभावित हुने गरी आगलागी भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली मटिहानी गएको छ । प्राधिकरण सहसचिव गोगनबहादुर हमाल नेतृत्वको टोलीलाई आगलागीबाट नष्ट भएका संरचनाको वास्तविक अवस्था पहिचान गर्ने र राहत तथा पुनर्स्थापनाका लागि सम्बन्धित निकायहरूसँग समन्वय गर्ने कार्यादेश छ ।
बुधबार नै दाङको आमखोला वन क्षेत्रमा लागेको ढढेलो बस्ती छिर्दा लमही नगरपालिका–९, तेलियामा २ घर जले । स्थानीय रामबहादुर कुमाल र उनका छोरा गणेश कुमालको घर जलाएपछि छिमेकीहरु बाल्टीमा पानी बोकेर आ–आफ्नो घरको धुरी उक्लिएको तस्वीरले धेरैको ध्यान खिचेको थियो ।
पछिल्लो समय देशैभरि आगलागी र डढेलोका घटना बढेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८० फागुन १ गतेदेखि २०८१ वैशाख १४ गतेको अवधिमा आगलागी र डढेलोका १ हजार ९८४ घटना भएका छन् । यी घटनामा परी ४३ जनाको ज्यान गएको छ ।
पछिल्लो एकहप्तामा मात्रै देशभर १८८ ठाउँमा आगलागी र १४४ ठाउँमा डढेलो लागेको छ । वैशाखयतामात्रै आगलागीबाट ७ जना र डढेलोबाट एकजना गरी ८ जनाको मृत्यु भएको छ । पछिल्लो दुई महिनाको अवधिमा मात्रै ८७ करोड बराबरको धनमाल क्षति भएको छ ।
यद्यपि प्राधिकरणले पछिल्ला केही घटना अझै अद्यावधिक गर्न बाँकी रहेकाले क्षतिको संख्या अझै बढ्न सक्ने अनुमान छ ।
नेपाल प्रहरीले गृहमन्त्रालय मातहतको विपद् व्यवस्थापन प्राधिकरणलाई दिएको तथ्यांकको आधारमा पछिल्लो ४ वर्षयता आगलागी र डढेलोको घटना अत्यासलाग्दो छ । ०७८ सालमा वर्षभरि २ हजार ३७४ वटा आगलागीका घटना भएका थिए । जसमा ९२ जनाको मृत्यु भएको थियो भने २ हजार ८५७ परिवार प्रत्यक्ष प्रभावित भएका थिए ।
पछिल्लो ४ वर्षमा सबैभन्दा बढी आगलागीका घटना अघिल्लो वर्ष भएको प्राधिकरणको तथ्यांक छ । वर्षभरि ४ हजार बढी आगलागीका घटना हुँदा १०८ जनाले ज्यान गुमाएका थिए भने ५ हजार बढी परिवार प्रभावित भएका थिए ।
आगलागीमात्रै होइन, पछिल्लो समय वन डढेलोबाट पनि नेपालीले ठूलो क्षति व्यहोर्दै आएका छन् । ०७८ सालमा वर्षभरि ९२ वटामात्रै डढेलोका घटना भएका थिए । जसबाट केवल ३८ परिवारमात्रै प्रभावित थिए ।
तर, यो वर्ष वैशाखयतामात्रै डढेलोका १७४ घटना भएका छन् । डढेलोमा परेर एकजनाले ज्यान गुमाउँदा १७८ परिवार पूर्ण प्रभावित बनेको प्राधिकरणको तथ्यांक छ । अघिल्लो वर्ष डढेलोले सबैभन्दा बढी क्षति पु¥याएको थियो । ४ सय बढी स्थानमा डढेलो लाग्दा ११ जनाले ज्यान गुमाएका थिए ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार फागुनयतामात्रै आगलागीजन्य घटनाबाट ४३ जनाको मृत्यु भएको छ । १ हजार ९८४ वटा घटना हुँदा ८७ करोड रुपैयाँ भन्दा बढीको क्षति भएको केन्द्रको तथ्यांक छ ।
आगलागीबाट बिहीबार साँझसम्म ७ सय १९ घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् भने ४ सय २२ वटा घर आंशिक क्षति पुगेको छ । आगलागीजन्य घटनाबाट २ हजार ४१९ परिवार प्रत्यक्ष प्रभावित बनेका छन् ।
फागुनयता भएका आगलागी घटनाबाट सबैभन्दा बढी क्षति नेपालको पूर्वी भागले भोगेको छ । तथ्यांकअनुसार आगलागीबाट मोरङ सबैभन्दा धेरै प्रभावित भएको छ । बिहीबारसम्म मोरङमा मात्रै ९३ वटा घटना भएका छन् । आगलागीबाट मोरङमा मात्रै १ सय २२ परिवार प्रभावित भएका छन् ।
पूर्वकै सुनसरीमा फागुन यता आगलागीजन्य ७२ घटना भएका छन् । घटनाबाट एकजनाको मृत्यु भएको छ भने १०९ परिवार प्रभावित बनेका छन् । जसबाट २ करोड ९७ लाख रुपैयाँभन्दा बढीको क्षति भएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार काठमाडौंमा मात्रै आगलागीका ५७ वटा घटना भएका छन् । घटनाबाट एक जनाको मृत्यु हुँदा ३७ परिवार प्रभावित भएका छन् ।
‘अवस्था अझै विकराल हुनसक्छ’
डढेलोविज्ञ सुन्दरप्रसाद शर्मा आगलागी र डढेलोका घटना अत्यासलाग्दो भएको बताउँछन् । दैनिक रुपमा बढिरहेका यस्ता घटना संख्या अझै बढ्नसक्ने उनको अनुमान छ । लामो समयसम्म यही अवस्थामा खडेरी भइरहे ७७ वटै जिल्ला आगलागी र डढेलोबाट प्रभावित हुने सम्भावना रहेको उनी बताउँछन् ।
‘पछिल्लो डाटाअनुसार देशका ६० जिल्ला डढेलो र आगलागीबाट प्रभावित भएको देखिन्छ । तर, यो नै पिक लेभल होइन । बल्ल वैशाख दोस्रो साता हुँदैछ यसरी हेर्दा यो वर्ष ७७ वटै जिल्ला प्रभावित हुनसक्ने देखिन्छ ।’
अघिल्ला वर्षहरुमा वैशाख मध्य समयमा आगलागीका घटना चरम अवस्थामा पुगेको थियो । तर, यो वर्ष केही फरक छ । ‘अहिले त दिनदिनै घटना बढिरहेको अवस्था छ । १५ वर्षको ट्रेन्ड हेर्दा प्रत्येक २/३ वर्षमा ठूलो रुप लिएको देखिन्छ । यो वर्ष अप्रिलमै यति धेरै आगलागीका घटना भए भनेपछि अझै विकराल रुप लिने देखिन्छ’, उनी भन्छन्, ‘जेठ त आउनै बाँकी छ ।
विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीका अनुसार पछिल्लो समय नेपालमा भएको आगलागी र डढेलोको प्रमुख कारण पश्चिमी वायु कमजोर हुनु हो । पश्चिमी वायु कमजोर हुँदा वर्षा कम भएको र त्यसले आगलागी वृद्धिलाई सघाएको उनी बताउँछन् ।
‘यसपालि नेपालमा पश्चिमी वायु नै कमजोर रह्यो । पश्चिमी वायु १६ पटक नेपाल आउँदा जम्मा २ पटक वर्षा भयो’, उप्रेती भन्छन्, ‘वर्षा कम भयो भने जमिन आफैं सुख्खा हुन जान्छ, पातपतिंगर बढी हुन थाल्छ र त्यसले आगलागी छिटो हुन्छ ।’ बेला–बेला पानी पर्दा आगलागीका घटना नियन्त्रणमा सघाउ पुग्थ्यो तर लामो समयको खडेरीले आगो फैलिन मद्दत मिलिरहेको उनको भनाइ थियो ।
उप्रेतीले पछिल्लो समय भएका अधिकांश आगलागीका घटना मानवीय त्रुटिकै कारण भएको बताउँछन् ।
‘आगलागी र डढेलोलाई राज्यले पनि आफ्नो प्राथमिकतामा राख्दैन । न लगानी छ, न प्राथमिकता । जनचेतनाको अभाव हुँदा मान्छेहरुले आफ्नो घर वरपर आउने विषालु जीव मार्ने, नयाँ घाँस उमार्ने लोभमा पनि आगो लगाइरहेको देखिन्छ’, उनी भन्छन् ।
वनजंगलमा लागेको आगोले जनताको जीविकोपार्जनमै प्रत्यक्ष असर गर्ने भएकाले राष्ट्रिय अर्थतन्त्रमै फरक पार्ने विपद् व्यवस्थापनविद् उप्रेती बताउँछन् । ‘वनजंगलमा भएका लापोन्मुख सम्पदाको नाश भएर हाम्रो इकोसिस्टममै असर पार्ने एकातिर छ’, भन्छन्, ‘हाम्रो सानो गल्तीले गर्दा समग्र राष्ट्रिय अर्थतन्त्रमै असर गर्न जान्छ । त्यही भएर पनि राज्यले यसलाई गम्भीर रुपमा लिनुपर्छ ।
विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीका अनुसार पछिल्लो समय नेपालमा आगलागीजन्य घटना बढ्नुमा राज्यकै दोष छ । विपद, प्रकोप न्यूनीकरण तथा रोकथाम गर्न ऐन कानुन बने पनि त्यसलाई कार्यान्वयन गर्न गम्भीर नबन्दा घटना झनै बढेर गएको उनको जिकिर छ ।
‘सरकारदेखि स्थानीयहरुसमेत आफ्नो भूमिकामा जिम्मेवार छैनन्, गम्भीर नै भएनन् । आगलागी नियन्त्रण गर्न अग्निरेखाहरु बनाइएको छ । तर, त्यसलाई बेलाबेला सफा गर्ने, अनुगमन गर्ने गर्नुपर्छ’, उनी भन्छन्, ‘त्यसमा न स्थानीय गम्भीर बने, न राज्यले नै गर्यो ।
स्थानीय तहसहित ७ वटै प्रदेशमा विपद न्यूनीकरण गर्न ऐन बने पनि त्यसलाई कार्यान्वयन गर्न कुनै पक्ष गम्भीर नभएको उप्रेतीको आरोप छ ।
डढेलोविद् सुन्दर शर्मा आगलागीका घटनालाई बसाइँसराइसँग पनि जोडेर हेर्नुपर्ने मत राख्छन् । पछिल्लो समय सहर, बजार केन्द्रित बसाइँसराइ बढ्दा जंगल र बस्तीबीचको दूरी घटेको छ । त्यसले पनि जंगलमा लागेको आगो सजिलै बस्तीमा प्रवेश पाएको देखिन्छ ।
‘अहिले धेरै बसाइँसराइँ भयो । घर नजिक झाडी बढे । बस्ती र जंगल एकापसमा जोडिन पुगे । गाउँमा युवाहरु छैनन्, वृद्ध र महिलामात्रै छन्’, शर्मा भन्छन्, ‘सक्रिय पुस्ता गाउँमा नहुँदा पनि सजिलै नियन्त्रण गर्न सकिने आगो पनि नियन्त्रण गर्न सकिएको देखिँदैन । झन् मानवीय दुर्घटना बढेको छ ।’
शर्मा आगलागी र डढेलो नियन्त्रणका लागि अल्पकालीन प्रयासले मात्रै न्यूनीकरण नहुने बताउँछन् । त्यसका लागि राज्यले नै जनस्तरसम्म पुगेर जनचचेतना जगाउने कार्यक्रम गर्ने र प्रशस्त लगानी गर्नुपर्ने बताउँछन् ।
अन्य काममा विभिन्न राजनीतिक दलका कार्यकर्ता परिचालन भएजस्तै विपद् व्यवस्थापन तथा जनचेतना फैलाउन दलहरुले आफ्ना कार्यकर्ता परिचालन गरे पनि धेरै घटना न्यूनीकरण हुने उप्रेतीको सुझाव छ ।
‘खासमा प्राकृतिक विपत्ति, प्रकोपमा राजनीतिक दलहरु नै गम्भीर भएनन्, उनीहरुले आफ्ना कार्यकर्तालाई परिचालनमात्रै गर्ने हो भने धेरै फरक पर्छ’, उनले भने ।