सर्लाहीमा खोला र नहरमा आएको बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ ।
लालबन्दी नगरपालिका-४ बस्ने १९ वर्षीय विशाल गोलेको ईश्वरपुर नगरपालिका-४ स्थित अम्बेमा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त खोलामा पौडी खेल्ने क्रममा उनलाई मंगलबार बाढीले बगाएको थियो । उनको शव बगेको ठाउँदेखि करिब ३ किलोमिटर दक्षिण खोलाको बगरमा बुधबार फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।
यसैगरी रामनगर गाउँपालिका-६ मलघाटास्थित कुण्डि नहरको लच्का तर्ने क्रममा नहरमा आएको बाढीले बगाउँदा एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५ वर्षीय बजेन्द्र झा रहेका छन् । बुधबार उनलाई नहरमा आएको बाढीको वेगले बगाएको थियो । उनको शव बगेको ठाउँदेखि करिब ५ सय मिटर दक्षिणमा फेला परेको कुँवरले बताए ।
