नयाँ पत्रिका
महोत्तरीको दुई परीक्षा केन्द्रबाट एक केन्द्राध्यक्ष र चार निरीक्षकलाई स्पष्टीकरण सोधिने भएको छ । चल्दै गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को छैटाैँ दिनको अतिरिक्त विषयको परीक्षामा परीक्षा केन्द्र अमर्यादित भएको भन्दै उनीहरूलाई अनुगमन टोलीको सिफारिसमा स्पष्टीकरण सोध्न लागेको हो ।
महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने र राष्ट्रिय अनुसन्धान विभाग महोत्तरी कार्यालयका उप अनुसन्धान निर्देशक एसपी सुदीप अधिकारीसहितको परीक्षा अनुगमन टोलीले श्रीप्रसाद सिंह मावि औरहीका केन्द्राध्यक्ष शिवशरण यादवलाई परीक्षा अव्यवस्थित र अर्मादित भएकोमा केन्द्राध्यक्ष भएरसमेत सो नियन्त्रण किन गर्न नसकेको र अनुगमन टोलीमा पुगेका उपअनुसन्धान निर्देशक एसपी अधिकारीसँग अभद्रता प्रस्तुत गरेको भन्दै स्पष्टीकरण पेस गर्न भनेको छ ।
त्यस्तै, त्रिभुवन मावि गौशालाका चारजना निरीक्षकलाई अनुगमन टोलीको केही परीक्षा सञ्चालनसम्बन्धी असन्तुष्टिबारे स्पष्ट जवाफ दिन नसकेपछि स्पष्टीकरण सोधिएको हो । उनीहरूको स्पष्टीकरण जिल्लास्तरीय परीक्षा समितिमा पेस गर्न भनिएको हो । केन्द्राध्यक्ष र निरीक्षकले आजै सो स्पष्टीकरण पेस गर्नुपर्नेछ ।