अजय अनुरागी
जनकपुरधाम
प्रदेश नम्बर २ ले अन्ततः नाम र स्थाई राजधानीको टुंगो लगाउन सकेन । दुई तिहाईको मतले प्रदेशको नाम र स्थाई राजधानी टुंगो लगाउनका लागि बिभिन्न प्रस्ताव माथि फागुन ४ गते प्रदेश सभामा सभामुख सरोज कुमार यादवले निर्णयार्थ निर्बाचन प्रक्रियामा लगे पनि सबै प्रस्ताव अस्वीकृत भएर खारेजी भएको थियो । प्रदेशको नामकरणका लागि नेकपाले प्रस्ताव गरेको जानकी प्रदेशमा ३७ मत, नेपाली कांग्रेसको मिथिला भोजपुरा प्रदेशमा २८ मत, नेपाली कांग्रेसका राजेश्वर प्रसाद साहले प्रस्ताव गरेको मध्ये प्रदेशको बागी प्रस्तावमा ४२ मत र सत्ता साझेदार समाजबादी पार्टी तथा राजपाले संयुक्त रुपमा प्रस्ताव गरेको मधेश प्रदेशमा ६० मत मात्र प्राप्त भए पछि चार वटै प्रस्ताव असफल भएको छ ।
त्यसै गरी प्रदेशको स्थाई राजधानीका लागि नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली कांग्रेस संसदीय दलका नेता राम सरोज यादवले समर्थन गरेको सत्ता पक्षधर समाजबादी तथा राजपाको साझा प्रस्ताव जनकपुरधामको पक्षमा पनि ५२ मत मात्र प्राप्त भए पछि असफल भएको थियो । त्यसै गरी बिरगंजका लागि भएको दुई वटा अलग अलग प्रस्ताव पनि अस्वीकृत भएको थियो ।
अन्ततः प्रदेश २ ले आफ्नो नामकरण गर्न त सकेनन न त स्थाई राजधानी नै चयन हुन सक्यो । प्रदेश २ को नाम तत्काल प्रदेश २ नै रहने भयो भने अस्थाई राजधानी जनकपुरधामको पुरानो पहिचान नै रहने भयो ।
दलहरुको एक आपसमा दोषारोपण
प्रदेश २ मा समाजबादी पार्टीको नेतृत्वमा राजपा नेपाल समेत गठबन्धनको सरकार छ । समाजबादीको ३० र राजपाको २५ गरेर सत्ता पक्षधरको कुल मत ५५ मात्र हुन्छ । प्रदेश २ मा कुल १ सय ७ जना सांसदहरु छन् । सरकार संग सामने बहुमत भन्दा १ मत मात्र बढी छ । त्यसै गरी प्रमुख प्रतिपक्षी दल नेकपाको ३२ मत छ भने प्रतिपक्षी दल नेपाली कांग्रेसको १९ मत छ । नेपाल संघीय समाजबादी पार्टीको १ मत छ । प्रदेशको नाम र राजधानी प्रदेश सभा बाट पारित हुनका लागि दुई तिहाई मत आबश्यक पर्छ । त्यो संख्या ७२ हुन्छ । तर, प्रदेश सभाको गणितीय समिकरण यस्तो छ की कुनै पनि तीन दल नमिले दुई तिहाई पाउँदैन ।
नामका प्रस्तावमा सबै दलको आआफ्नै प्रस्ताव रहेको अबस्थामा सबैले आआफ्नो प्रस्तावको पक्षमा मात्र मतदान गरेका कारण नामको सबै प्रस्ताव अस्वीकार भएको थियो । पहिले देखि नै त्यो कुरा एक किसिमले अनुमान गरिएकै थियो । तर, नेकपा र नेपाली कांग्रेस भित्रबाट पनि मधेश प्रदेशको पक्षमा मतदान हुन सक्ने अनुमान सहित मधेश प्रदेशको प्रस्ताव पारीत हुन सक्ने प्रदेश सरकारमा आत्मविश्वास भए पनि ढुक्क भने हुन सकेको थिएन । तर, सभामुख सरोज कुमार यादवको अध्यक्षतामा गठित बिशेष संसदीय समितिमा भने चार वटै दलहरुले स्थाई राजधानीको लागि जनकपुरधाम पारित गरेको अवस्थामा समेत निर्णयार्थ प्रस्तुत हुँदा राजधानीको प्रस्ताव जनकपुरधाम पास हुन सकेन ।
नेपाली कांग्रेस संसदीय दलका नेता राम सरोज यादव भने त्यसलाई समाजबादी पार्टी र राजपा नेपालले राजनीतिक बेईमानी गरेको बताउँछन् । ‘संसदीय समितिमा पारित भई सकेको बिषय, राजपा नेपालका प्रमुख सचेतकको साझा आधिकारिक प्रस्तावलाई सत्ता पक्षले नै सुनियोजित तरिकाले असफल पारे भने याे त राजनीतिक रुपमा बेईमानी मात्र होईन राजनीतिक संस्कार समेत नभएको अनैतिक काम उनीहरुले गरेका छन् । सत्ता पक्षधरले गरेको मधेश प्रदेशको प्रस्ताव असफल भए पछि दुश्मनी साँध्न प्रतिसोध स्वरूप राजधानीको प्रस्तावलाई अस्वीकार गराईदिएको उनले आरोप लगाए । हो मेरो पार्टी कांग्रेस तथा नेकपाका समेत पश्चिमतिरका केही सांसदले जनकपुरधामको बिपक्षमा मतदान गरेका होलान्,’ यादवले भने, ‘दुवै पार्टी मिलाएर त्यो संख्या ६ जना मात्र हुन्छ, अधिकांश मत सत्ता पक्षले नै दिएनन् ।’
तर, समाजबादी पार्टीका प्रमुख सचेतक शैलेन्द्र यादव भने नेपाली कांग्रेस र नेकपाको दम्भ तथा बेईमानीका कारण नाम र राजधानीको प्रस्ताव असफल भएको आरोप लगाउँछन् । हामीले त फागुन ३ गते राति १० बजे सम्म दुवै प्रतिपक्षी दलका नेता तथा सचेतकहरुलाई प्रदेशको नाम मधेश प्रदेश तथा राजधानी जनकपुरधामका लागि अनुरोध गर्दै आएका थियौं,’ यादवले भने, ‘तर, नेपाली कांग्रेसका संसदीय दलका नेता राम सरोज यादव र नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले नमानेका कारण त्यस्तो हुन गयो । अन्तिम समयमा पनि सहमतिको प्रयास गर्दा राजधानी जहाँ लग्नुछ लग्नुस मधेश प्रदेश कुनै पनि हालतमा मान्न सकिन्नँ भन्दै कांग्रेस संसदीय दलका नेता यादवले बखेडा झिक्दै सहमतिमा आउन नचाहेको उनले आरोप लगाए ।
मधेश प्रदेश हाम्रो राजनीतिक मुद्दा मात्र नभएर मधेश आन्दोलनको शहीदहरुको सम्मानका लागि समेत प्रमुख मुद्दा भएका कारण मधेश प्रदेश हामीले छोड्न नहुने भन्दै आए पनि उहाँहरुले काठमाडौंको इसारामा प्रस्तावलाई असफल पारी दिनु भयो । तै पनि जे भयो भयो यत्रो पूर्वाधार राजधानीका लागि बनि सकेको अबस्थामा अब राजधानी जनकपुरधामका लागि नै मतदान गरौँ भनेर निर्बाचनको ठिक अघि सपा र राजपाको सबै सांसद सहितको उपस्थितिमा संयुक्त बैठक बसेर मौखिक निर्णय नै गररेको उनले दाबी गरेका छन् । ‘कांग्रेसका सांसद राजेश्वर प्रसाद साहले बिरगंजका लागि छुट्टै प्रस्ताव दर्ता गराएका कारण कांग्रेस तथा नेकपाले राजधानी जनकपुरको बिपक्षमा मतदान गरे यादवले भने, ‘सत्ता पक्षका सबैजना सांसदले जनकपुरको पक्षमा नै मतदान गर्यौं ।
तर नेकपा संसदीय दलको नेता सत्यनारायण मण्डल भने ‘उल्टे चोर बाजे जोर स’ भन्दै सत्ता पक्षको आरोपलाई निराधार बताउँछन् । संसदीय समितिमा पारित गरि सकेको, चार वटा राजनीतिक दलको साझा प्रस्तावलाई सत्ता पक्षले असफल पारेको आरोप लगाए । ‘उनीहरुले प्रदेश २ का जनता संग धोखाधरी मात्र होईन ठुलो गद्दारी तथा विश्वाशघात गरेका छन् । मण्डलले भने, ‘ उनीहरुले जानीजानी जनकपुरधाम राजधानी हुन नदिएको दाबी मात्र होईन मा ठोकुवा नै गरेर भन्छु ।’ उनले आफ्नो दाबीलाई पुष्टी गर्न एउटा प्रसंग पनि सुनाए ।
मधेश प्रस्ताव फेल भए पछि सभामुख ज्युको च्याम्बरमा मुख्यमन्त्री लालबाबु राउत, राजपा संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल समेत भएको ठाउँमा आफुलाई ११ बजे राती बोलाईयो । ‘अब मधेश प्रदेश फेल भई नै हाल्यो, राजधानी जनकपुरधाम पनि फेल गराउनु पर्छ भन्दै मलाई मुख्यमन्त्री ज्युले भन्नुभयो भने कम्तिमा धनुषा र महोत्तरी बाहेक अन्य जिल्लाका सांसदहरुलाई जनकपुरधामको बिपक्षमा मतदान गर्न भनिदिनुपर्यो ।’ मेरो पनि राजनीतिक जिबन छ, कुनै हालतमा मैले त्यसो गर्न सक्दिन भनेर फिर्ता भएको उनले बताए । आफुहरु फिर्ता भए पछि सत्ता पक्षको संयुक्त बैठक बसेर मौखिक रुपमा निर्णय नै गरेर जनकपुरधामको प्रस्तावलाई फेल पारिएको उनले बताए ।
‘जानकी मधेश वा मिथिला मधेश सम्म हामीहरुले लचकता अपनायौं,’ मण्डलले भने, ‘तर, उहाँहरु मधेश प्रदेश बाट टस मस समेत हुनु भएन ।’ उहाँहरुकै दम्भका कारण प्रदेश २ मा मंगलवार असाधारण राजनीतिक घटना हुन गएको तथा त्यसको मुल्यांकन राष्ट्रीय देखि अन्तर्राष्ट्रीय समुदायमा समेत हुने उनले बताए ।
एता मंगलावर भएको निर्बाचन परिणामलाई राजपा नेपालका महासचिव समेत रहेका सांसद मनिष कुमार सुमन पनि अत्यन्तै दुखद तथा दुर्भाग्यपूर्ण ठान्छन् । प्रदेश सरकारले ल्याउनु पर्ने प्रस्ताव सरकारको अकर्मन्यताका कारण २ बर्ष सम्म ल्याउन नसके पछि दलगत आधारमा बाध्य भई प्रदेश सभामा ल्याउनु पर्यो । तर, त्यसमा पनि मधेश प्रदेशको लागि अन्य पर्तिपक्षी दललाई सहमतिमा ल्याउन जुन हिसाबले गृहकार्य तथा गम्भीरताका साथ सम्बेदनशिलता देखाउनु परयो त्यसमा प्रदेश सरकार चुकेको उनले टिप्पणी गरे ।
नेकपा अध्यक्ष प्रचण्ड संग, प्रधानमन्त्री केपी शर्मा ओली संग माथि कुरा गर्दै छु भनेर सधैं मुख्यमन्त्री ज्युले बताउनु हुन्थ्यो, तर, यहाँ तल घनिभूत छलफल वा सम्बाद भने नगरेकै कारण दुवै प्रस्ताव असफल हुन जानुमा प्रदेश सरकार पुरा पुरी जिम्मेवार रहेको सुमनले आरोप लगाए ।
जे हुनु थियो त्यो भई हाल्यो, अब नयाँ शिराले सहमति तथा सहकार्य गरेर प्रदेशको नाम र राजधानी टुंगो लाग्ने समाजबादी पार्टीका संसदीय दलका उपनेता राम अशिष यादव बताउँछन् । ‘अब फेरी पनि प्रदेश सरकारले सहमति कायम गर्न नयाँ तरिकाले आफ्नो गृहकार्य तथा सम्बादलाई अगाडी बढाउछ भने, ‘समस्याको जडो काठमाडौंमा रहेको कारण अब केन्द्रीय स्तरमा नै शिर्ष नेताले नेकपा तथा नेपाली कांग्रेसका शिर्ष नेताहरु संग छलफल गरेर टुंगो लगाउनेछन् ।’ पश्चिम तिरको बरा, पर्सा, रौतहट लगायतको जिल्लाका हरेक पार्टीका सांसदहरुले जनकपुरको पक्षमा मतदान नगरेका कारण राजधानी जनकपुरको प्रस्ताव फेल भएको उनले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !