१७ वैशाख, । वैशाख दोस्रो सातायता महोत्तरीमा आगलागीका घटना दिनहुँजसो हुन थालेका छन् । पछिल्ला १० दिनमा जिल्लाका विभिन्न ठाउँमा भएका आगलागीले करोडौँको क्षति भएको छ ।
वैशाख दोस्रो साताको प्रारम्भमै मटिहानीको एउटा फर्निचर उद्योगमा भएको आगलागीले ३० लाख रुपैयाँ बढीको क्षति गरेको एक साता नपुग्दै मटिहानी–६ जरलहवागाछी टोलको १ सय १० घर खरानी पार्ने घटनाले अझै त्यहाँका बासिन्दा बौरिन सकेका छैनन् ।
गत बुधबारको भएको उक्त घटनाको भोलिपल्टै मटिहानी–९ सिमरदहीमा एउटा इलेक्ट्रोनिक पसलमा भएको आगलागीको घटनामा पसलका सरसामान जलेर नष्ट भएका छन् । त्यसअघि गत मंगलबार बलवाको बगडाको फर्निचर उद्योगमा आगलागी भएको थियो ।
पछिल्लो पटक हिजो आइतबार दिउँसो जिल्लाको गौशाला–२ कठुधारमा फेरि आगलागी भएको छ । सो बस्तीका सद्दाम नदाफ धोबी र निजकै भाइ मन्सुर नदाफको घर आगोले खरानी बनाएको छ । पछिल्लो यो घटनामा घरमा राखिएका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा र अन्य सरसामानसहित १० लाख रुपैयाँको क्षति भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोजकुमार यादवले बताए ।
महोत्तरीसहितका मधेसमा बर्सेनि गर्मी चढ्दै गएपछि आगलागीका घटना हुँदै आएका छन् । ती घटना पनि अधिकांश सजगताको कमीले नै हुने गरेको पाइएको सरोकारवाला निकायको अनुभव छ । कुनैकुनै घटना विद्युत् चुहिएर (विद्युत् सर्ट भएर) र कदाचित संघर्षबाट हुने भए पनि यता हुने धेरैजसो आगलागी घरको आगो र प्रज्वलनशील वस्तुको ठीक व्यवस्थापन नगरिँदा नै भएका रेडक्रस महोत्तरी शाखाका सभापति दिपक मिश्रको विगत अनुभव छ ।
‘हामी त यस्ता विपद्का बेला कारण खोज्दैनौँ, सकेको राहत उद्धारमा लाग्छौँ, तर पछि घटनाका कारण खोतल्दा घरको आगो (खाना पकाउन बालिएको) राम्ररी व्यवस्थापन नगरिँदा, बाटो हिँड्ने ननिभाइ मिल्काएका बिँडी/चुरोटका ठुटाबाट सल्कँदा र प्रज्वलनशील वस्तु (सलाइ, लाइटर) ससाना नानीले खेलाउँदा भएको पाइन्छ’, l
मौसमअनुसार यी कुरामा राम्रो ध्यान पुर्याउन सके घटना न्यूनीकरण हुने मिश्रको ठम्याइ छ । आगलागी नियन्त्रण गर्न मुख्यरुपले स्थानीय तहका वडा समितिले बस्तीभित्रका सामाजिक संघसंस्था, राजनीतिक दल र अन्य सरोकारवालालाई समावेश गरेर सचेतनामूलक घुम्ती प्रचार गर्नपर्ने कतिपयको सुझाव छ ।
प्रत्येक नयाँ वर्षअघि वडाका बस्तीमा पालैपालो ५/७ दिन घरघरै जस्तो आगो व्यवस्थापनबारे सचेतना दिँदै कतै लापरवाही भेटिए त्यसैअनुसारको नसियत (सजाय, जरिवाना) तिराइए पूर्वसजगता बढ्ने सूर्योदय सांस्कृतिक क्लव भंगाहा–४ रामनगरका पूर्वध्यक्ष गोपालप्रसाद श्रेष्ठको सुझाव छ ।